दुर्गमका सर्वसाधरणमा छायाे खुसियाली

|

उदयपुर : उदयपुर जिल्लाका आठवटै स्थानीय तहको कार्यालय सञ्चालनमा आएका छन् । पुरानो गाउँ विकास समितिको कार्यालय र नगरपालिकाकै पुरानो कार्यालयमा नयाँ बोर्ड स्थापना गरी कार्यालयलाई सञ्चालनमा ल्याइएको हो ।

जिल्ला समन्वय समिति उदयपुरका स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालका अनुसार उदयपुरगढी, रौतामाई, ताप्ली र सुनकोसी गाउँपालिकाको कार्यालय सञ्चालनमा आएको छ । उदयपुरढीको पञ्चावती गाविसको भवन, ताप्लीको रूपाटार गाविसको भवन र सुनकोसीको बराहा गाविसको भवनमा नयाँ गाउँपालिकाको बोर्ड स्थापना गरिएको छ ।

‘चारवटा नगरपालिकामध्ये कटारी, त्रियुगा नगरपालिकाको पुरानो कार्यालयको भवनमा नयाँ कार्यालय स्थापना भएको छ’, स्थानीय विकास अधिकारी दाहालले भने, ‘बेलका नगरपालिकाको कार्यालय रामपुर ठोक्सिला गाविसको रामपुर बजारमा रहेको गाविसको कार्यालय भवनमा र चौदण्डी नगरपालिकाको पुरानो बेल्टार बसाहा नगरपालिकाको कार्यलयमा नयाँ कार्यालयको बोर्ड स्थापना गरेका छौँ ।’

केही दिनभित्रै मन्त्रालयले जारी गरेको परिपत्रअनुसार कर्मचारीको व्यवस्थापन गरिसक्ने पनि दाहालले जानकारी दिए। दाहालले भने, ‘अन्य जिल्लाको भन्दा पहिला नै स्थानीय तहबाट सेवा दिने कोसिस गरिरहेका छौँ ।’

गाउँमै गाउँपालिकाको बोर्ड स्थापना भएपछि सर्वसाधरणमा खुसियाली छाएको छ । सिंहदरबार, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विकास समितिबाट पाउने सेवा गाउँमै आउने भएपछि स्थानीयमा उत्साह थपिएको हो । ‘गाउँमै सदरमुकाम आयो खुसी छौँ’, उदयपरगढी गाउँपालिकाका स्थानीय बोधकुमार घिमिरेले भने, ‘केही महिना असहज भए पनि नागरिता बनाउन गाईघाट धाउनु नपर्ने भयो, गाउँपालिकाबाट धेरै सेवा पाउने भएका छौँ ।’ यसरी खुसियाली व्यक्त गर्ने उदयपुरका दुर्गम पहाडी क्षेत्रका सर्वसाधारण रहेका छन्, जो घरबाट एक हप्ताको समय मिलाएर सदरमुकाम गाईघाट आउने गर्दथे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.