|

काभ्रे :  काभ्रेपलाञ्चोक जिल्लाको साविक गाविस अनैकोटमा सात जना कलाकारहरुको हत्या गरिएको सम्झनामा नेकपा (माओवादी) ले शनिबार सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै छ।

२०५५ साल चैत्र ५ गते स्थानीयको एक घरमा सेल्टर लिएर बसिरहेको अवस्थामा तात्कालीन राज्यपक्षका सेनाले घरमा घेरा हाली आगो लगाएर हत्या गरेको थियो।  उक्त हत्यालाई अनैकोट हत्याकाण्डको रुपमा चिनिन्छ। सो क्रममा माओवादी सांस्कृतिककर्मीहरु च्याङबा लामा, गुम्बा सिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या गरिएको थियो।

त्यस वेलामा राज्यसत्ताले माओवादीहरुलाई आतंककारी घोषणा गर्दै त्यही नाममा भिडन्त, मुठभेड र छापामार शैलीमा भएको आक्रमण भन्दै दोहोरो युद्ध हुने गरेको थियो।

माओवादी पार्टीले भने सो क्रममा निसशस्त्र जनकलाकारहरुको हत्या गरिएको भन्दै त्यसको प्रतिरोधस्वरुप सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउँदै आइरहेको छ। जसअनुसार शनिबार नेकपा (माओवादी केन्द्र) ले १७ औं सांस्कृतिक प्रतिरोध दिवस मनाउने तयारी गरिरहेको नेकपा (माओवादी केन्द्र) का जिल्ला संगठन विभाग संयोजक दिननाथ गौतम (प्रयास) ले बताए।

 ‘चैत्र ५ गते निशस्त्र रुपमा वाद्यवादन र गीत संगीतको माध्यमबाट जनतालाई ब्युँझाउँदै अभियानमा हिँडेका जनकलाकाहरुलाई निर्ममतापूर्वक मारिएको दिन हो, जसलाई माओवादी पार्टीले कहिल्यै बिर्सन सक्दैन।’ गौतमले भने,  ‘त्यही दिनलाई माओवादी पार्टीले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवसको रुपमा मनाउँदै आइरहेको छ, सोहीअुनसार यसपालि पनि आज विविध कार्यक्रमसहित मनाउने तयारी भइरहेको हो ।’

गौतमले उक्त कार्यक्रममा सांस्कृतिककर्मीहरु (जनकलाकार) हरुले महान् जनयुद्धमा पुरु पुर्याएको योगदान र खेलेको भूमिकाको उच्च सम्मान, सहिद परिवारलाई अभिनन्दन र क्रान्तिको बाँकी कार्यभारलाई पूरा गर्ने अभियानको निरन्तरताको रुपमा लिने भावको रुपमा मनाउने भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.