|

सबै बेहोसी नशा पिएर

विना पिएरै बेहोस छु म

अरू निर्दोषी माया भुलेर

विना भुलेरै दोषी छु म।

यी हरफ नसुन्ने सायदै होलान्। विक्रमको चालीसको दशक छेउछाउ रेकर्ड गरिएको यो गीत आजसम्म पनि आमनेपाली, के युवा, के वयस्क, सबैका लागि प्रिय बनिरहेको छ। कोही प्रेममा परे पनि वा कसैको बिछोड भए पनि, अथवा कसैलाई विरह वेदना पोख्न मनलागे पनि यो गीत ओठमा आइहाल्छ।

आजका प्रसिद्ध गजलकार रवि प्राञ्जलले सिर्जना गरेको यस गीतलाई भजन शिरोमणि भक्तराज आचार्यले यस्तो आवाज दिए, जुन वर्षौंसम्म जीवन्त भइदियो। रविले यो गीत ०३८ सालतिर लेखेका हुन्, जतिबेला उनी भर्खर 'टिन एज' कटेका थिए उमेरले। गीत लेखेको एक वर्षभित्रै रेकर्ड गर्ने अवसर प्राप्त भयो, त्यो पनि उतिबेलाकै चर्चित गायक भक्तराज आचार्यको स्वरमा।

भएछ के भने पुरुषोत्तम सापकोटासँग रविको निरन्तरजसो भेट भइरहँदोरहेछ। आफूले लेखेका रचना पुरुषोत्तमलाई सुनाउँदारहेछन्। यो गीत पनि उनले पुरुषोत्तमलाई सुनाएछन्। गीत सुनिसकेपछि पुरुषोत्तमले भक्तराजलाई भेट्ने सल्लाह दिएछन्। 'त्यसपछि म मधुमास पत्रिका र गीत लिएर भक्तराज आचार्यकहाँ गएँ', रवि भन्छन्, 'गीत सुनिसकेपछि उहाँ अत्यन्तै प्रभावित हुनुभयो, मलाई भित्रभित्रै उत्साहको सञ्चार भयो।'

यो गीत रेकर्ड भयो, ०३९ सालमा। त्यसबेला रेडियो नेपाल एक मात्र माध्यम थियो, गीत बजाउन। रेकर्ड भएपछि यस गीतले यति लोकप्रियता पायो कि त्यो सम्झँदा पनि रवि भरङ्ग हुन्छन्, खुसीले। 'आफ्नो पहिलो रेकर्डेड गीत नै यति चर्चित भइदियो कि', रवि भन्छन्, 'म गीत-सङ्गीतमा नडुबी सुखै भएन।' उनलाई यही गीतले सबल र सफल गीतकारका रूपमा आमश्रोता माझ सुपरिचित गरायो।

यो गीत सुनेका धेरैजसोले अनुमान गर्छन्, रविको आफ्नै कहानी लेखेका हुन्, यस गीतमा। उनलाई धेरै श्रोताले सोधे पनि। रवि भन्छन्, 'म नै छक्क परेँ, धेरैले मेरै कथा भन्ने सोच्नुभएको रहेछ।' थाहा खबरले पनि यही प्रश्न सोध्यो रविलाई। उनी मुसुक्क मुस्कुराए, कारण हामीले पनि अरू श्रोताले जस्तै अनुमान गरेको लख उनले काटिसकेका थिए। 'वास्तवमा यो कसैको जीवनको कथा नै हो', रवि भन्छन्, 'तर मेरो नभएर मैले देखेको मान्छेको कथा हो।'

भएछ के भने रवि युवावयमा प्रवेश गर्ने बेलामा अथवा विक्रमको तीसको दशकको सुरुतिर उनको घर छिमेकमा एउटा परिवार बस्दोरहेछ, डेरा गरेर। सो परिवारको लोग्ने मानिस केटी पक्ष भन्दा आर्थिक रूपले कमजोर त थियो नै, अन्य कुरामा पनि जिम्मेवार र इमानदार थिएन। माइती परिवारले इन्कार गर्दागर्दै केटीले सो केटासँगै विवाह गरी। भनौँ, मागी नभएर भागी विवाह भयो उनीहरूको। सो महिलाले एक दिन लोग्ने बाहिर गएको बेलामा आफ्ना छिमेकी साथीसँग भनेको रविले सुने- 'केके न हुन्छ भनेर यसको पछि लागेँ, घरपरिवारको इच्छा, अनुरोध सबै त्यागेँ, आखिर न घर न घाट हुने भएँ।'

देशका धेरै ठाउँबाट धेरै श्रोताले गीत अनुरोध गर्दै थिए। यति लामो सूची बन्यो गीत फर्माइस गर्ने श्रोताको कि उनी चकित भए। उनले सोचे, 'कुन गीतका लागि होला यति धेरै अनुरोध?' उनी अक्क न बक्क त्यसबेला भए, जब कार्यक्रम सञ्चालकले आफ्नै गीत बज्न लागेको बताए।

हो, ती महिलाको यही वाक्यले जन्मियो, कालजयी गीत- 'सबै बेहोसी नशा पिएर...।' आखिर मान्छे काल्पनिक दुनियाँमा हराउँछ, ठूलाठूला महत्त्वाकाङ्क्षा हुर्काउँछ आफूमा र ती पूरा नहुँदा अन्त्यमा पछुताउँछ, विक्षिप्त बन्छ। विशेषगरी तरुण वयका युवायुवतीमा यस्तो भावना बढी आउनु स्वाभाविक पनि हो। 'यही सन्दर्भ हो, यस गीतको रचनागर्भ', रवि भन्छन्, 'सर्जकका आफ्ना अनुभूतिसँगै सर्जकले देखे, भोगे र सुनेका कुरा पनि सिर्जनाका विषय बन्छन् नि!'

रविसँग यस गीतका बारेमा रमाइला अनुभूति पनि छन्। एक त उनको यही गीत पहिलो रेकर्ड भएको गीत हो। यसकारण पनि यो गीत उनको सर्वप्रिय गीत हुने नै भयो। अर्को, एक दिन रवि कालीमाटी, परोपकारबाट न्यूरोडतर्फआउँदै रहेछन्, पैदल। रेडियो नेपालमा फर्माइस कार्यक्रम बज्दै रहेछ। देशका धेरै ठाउँबाट धेरै श्रोताले गीत अनुरोध गर्दै थिए। यति लामो सूची बन्यो गीत फर्माइस गर्ने श्रोताको कि उनी चकित भए। उनले सोचे, 'कुन गीतका लागि होला यति धेरै अनुरोध?' उनी अक्क न बक्क त्यसबेला भए, जब कार्यक्रम सञ्चालकले आफ्नै गीत बज्न लागेको बताए। 'त्यो बेला पनि त्यति धेरै श्रोतामाझ प्रिय बनेको रहेछ मेरो गीत', रवि भन्छन्, 'त्यसपछि त म गीत सङ्गीतको एक प्रकारको एडिक्ट नै भएछु।'

अर्को सन्दर्भ जोडे रविले यही गीतको बारेमा। ०४६ सालतिर उनी एनएसी (तत्कालीन आरएनएसी)को बोइङ चढेर विदेश जाँदै रहेछन्। अचानक त्यहाँ पनि यही गीत बजेछ। त्यसपछि उनलाई लागेछ, उत्कृष्ट सिर्जना कालजयी हुँदोरहेछ, लोकप्रिय र सर्वप्रिय बन्दोरहेछ। त्यसपछि उनी कालजयी सिर्जनाकै साधनामा छन्। निरन्तर लेखिरहेकै छन्, गीत, गजल कविता आदि।

उनले सयौँको संख्यामा गीत, गजल, कविता लेखेका छन्। तर उनी आफ्नो कालजयी, सर्वप्रिय र मानक रचना यसैलाई मान्छन्। भन्छन्, 'देवकोटाको मुनामदन जस्तै मेरो मुनामदन यही गीत हो।' अर्थात्, देवकोटाले भनेका थिए रे- 'मुनामदनबाहेक मेरा सबै रचना जलाइदिए हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • साह्रै राम्राे लागेकाे पुराना गीतहरुमध्ये एक याे गीत बारे अाज नयाँ जानकारी पाएँ । खुशी लाग्याे । रवि प्रान्जल जीलाई चिनिसकेपछि याे जानकारीले झनै खुशी तुल्यायाे ।