|

  • प्रकाश पार्की

डडेल्धुरा : सुदुरपश्चिमको डडेल्धुराबाट अत्याधुनिक सुविधासहितका सार्वजनिक यातायातका बस सञ्चालनमा आउने भएका छन्। उग्रतारा सार्वजनिक यातायात व्यवसायी समिति डडेल्धुराले सार्वजनिक यातायातको सेवालाई गुणस्तरीय बनाउन चैत महिनाको १० गतेबाट एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याउन लागेको हो।

समितिका अनुसार नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइन लागेको उक्त सार्वजनिक यातायात सेवा अन्तर्गतका बसहरुमा मिनी क्यान्टिन, ट्वाईलेट, वाईफाई, एलईडी टीभी, म्युजिक, रेडिङ्गलाईट, कम्फरटेबल सिट सेवाहरु उपलब्ध हुनेछन्।

यस अघि कास्की पोखरा–काठमाण्डौँ रुटमा पोखराबाटै त्यस्तो सुविधाका बसहरु चलेको भएपनि ती बसहरु पर्यटक लक्षित मात्रै थिए। जुन निजी क्षेत्रबाट सञ्चालित थिए।

पहिलो पटकका लागि ६ वटा बसहरु काठमाडौं-डडेल्धुरा तथा डडेल्धुरा–काठमाडौं रुटमा सञ्चालनमा आउने उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए। उक्त बसहरु डडेल्धुराबाट काठमाडौंका लागि १२ बजेर ५ मिनेटमा छुट्नेछन् भने काठमाडौंबाट डडेल्धुराका लागि २ बजेर ५ मिनेटमा छुट्ने उनले बताए।

यसअघि उग्रतारा सार्वजनिक यातायात व्यवसायी समितिले पहाडी जिल्लाबाट पहिलो पटक एसी बसको रुपमा घटाल सुपर डिलक्स सोही रुटमा सञ्चालन गरेको थियो।  ती बसहरुलाई अन्य रुटमा पठाएर त्यसको ठाउँमा घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याउन लागेको खड्काले बताए। अत्याधुनिक सुविधासहितको एउटा बसको लागत एक करोड रहेको यातायात समितिका अध्यक्ष खड्काले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.