|

विराटनगर : स्थानीय तहको निर्वाचन नजिकिएसँगै मोरङमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुमा नेतृत्व लिने होडबाजी सुरु भएको छ। मोरङमा यस पटकको स्थानीय तहको निर्वाचनबाट ८ सय २९ जना निर्वाचित हुनेछन्। जसमध्ये न्यूनतम १ सय ५९ जना दलितसहित ३ सय १८ जना महिला (३८.३५ प्रतिशत) ले नेतृत्व लिनेछन्।

स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार प्रत्येक नगरपालिकामा १ जना प्रमुख र १ जना उपप्रमुख हुनेछन् भने गाउँपालिकामा १ जना अध्यक्ष र १ जना उपाध्यक्ष रहनेछन्। मोरङमा १७ वटा इकाइ छन् जसमा १७ अध्यक्ष/प्रमुख र १७ उपाध्यक्ष/उपप्रमुख प्रतिनिधि चुनिनेछन्।

यस्तै प्रत्येक वडामा १ जना अध्यक्ष निर्वाचित हुनेछन् भने दलितमहिला सहित २ जना महिला सदस्य निर्वाचित हुनेछन्। यस्तै अन्य २ जना खुल्ला सदस्य निर्वाचित हुनेछन्। यसर्थ प्रत्येक वडामा ५ जना निर्वाचित हुनेछन्। मोरङ जिल्लामा १७ वटा स्थानीय तह तथा १ सय ५९ वटा वडा रहेको छ। जसबाट निर्वाचित हुनेको संख्या ८ सय २९ पुगेको हो।

निर्वाचन ऐन अनुसार सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको कुनै पनि वडाको मतदाता अध्यक्ष, उपाध्यक्ष वा प्रमुख, उपप्रमुख हुन पाउनेछन्। तर, वडा अध्यक्ष र सदस्य हुनका लागि सम्बन्धीत वडाकै मतदाता हुनुपर्नेछ। केन्द्रीय निर्वाचनमा भने देशभरको कुनैपनि स्थानको मतदाता देशभरीको कुनै पनि क्षेत्रको उम्मेदवार बन्न पाउने प्रावधान छ भने स्थानीय तहमा सम्बन्धित गाउँपालिका/नगरपालिका वा वडाका मतदाता मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ।

यस पटकको मोरङको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रतिनिधि विराटनगर उपमहानगरपालिकाबाट निर्वाचित हुनेछन्। विराटनगरमा १९ वटा वडाबाट १/१ जना अध्यक्ष र ४/४ जना वडा सदस्य गरी ९५ जना निर्वाचित हुनेछन्। यस्तै प्रमुख र उपप्रमुखसहित विराटनगरबाट ९७ जनाले प्रतिनिधित्व गर्नेछन्। यस्तै दोस्रो ठूलो तह मोरङको सुन्दरहरैंचा नगरपालिकामा १२ वटा वडा रहेको छ। सुन्दरहरैंचामा ६२ जना निर्वाचित बन्न पाउनेछन्।

११ वडा रहेको बेलबारीमा ५७, दश वडा रहेको पथरीशनिश्चरे र रतुवामाई नगरपालिकामा ५२/५२, नौ वडा रहेका नगरपालिकाहरू लेटाङ, रंगेली, उर्लाबारी र मिक्लाजुङमा ४७/४७ जना प्रतिनिधि निर्वाचित हुनेछन्। सबैभन्दा साना ७/७ वटा इकाइ रहेका गाउँपालिका बुढीगंगा, धनपालथान, ग्रामथान, जहदा र कटहरीमा ३७/३७ जना प्रतिनिधि छनौट हुनेछन्।

स्थानीय तह निर्वाचन ऐन अनुसार जिल्ला समन्वय समितिको लागि भने सम्बन्धित जिल्ला सभाका सदस्यले सम्बन्धित जिल्ला भित्रका गाउँ सभा वा नगर सभाका सदस्यहरू मध्येबाट एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई निर्वाचित गर्नेछन्।

संघीय संरचनामा गएपछि भएको यो निर्वाचनमा हुने प्रतिस्पर्धीको संख्या भने अघिल्लो संरचनाको भन्दा धेरै कम देखिएको छ। संघीय संरचनामा भन्दा अघिल्लो संरचनाको निर्वाचनमा मोरङबाट ३ हजार १ सय ६७ जना प्रतिनिधि निर्वाचित भएका थिए। मोरङमा यसअघिको संरचनामा ६५ गाविस र १ वटा उपमहानगरपालिका रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.