|

सल्यान : यस पटकको स्थानीय तहको निर्वाचनमा सल्यानमा महिलाहरूले पनि नेतृत्वको दावी गर्ने भएका छन्।

वर्तमान संविधानअनुसार निर्वाचनमा महिलाको सहभागिता अनिवार्य गरेको र महिलामा राजनीतिक चासो बढेसँगै महिलाहरू नेतृत्वका लागि उत्साहित भएका छन्। सरकारले बैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै सहरबजार, गाउँबस्तीमा उत्सव छाएको छ । सो निर्वाचनको उत्सवमा महिलाहरूको सहभागिता बाक्लो हुने देखिएको छ।

अवसर पाउने हो भने महिलाहरू पनि देशको नेतृत्व गर्न सक्छन् भन्ने राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशबाट पुष्टि भइसकेकाले गाउँ, नगर, वडा तहमा पनि महिलाले अवसर पाए नेतृत्व गर्न सक्छन् भन्ने पुष्टि अबको चुनावले हुने नेकपा माओवादी केन्द्र सल्यानकी जिल्ला सदस्य राधा शर्माले बताइन्। उनले भनिन्, ‘हिजोसम्म महिलाहरू चुह्लोचौको र घाँसपातमै रहनुपर्छ भन्ने रुढीवादी परम्परा हराउँदै गएको छ र अवसर दिने हो भने पुरुषसरह महिलाले पनि देश हाँक्न सक्छन् भन्ने पुष्टि यस पटकको स्थानीय तहको निर्वाचनले गर्नेछ।

पहिलेको भन्दा अवस्था धेरै फेरिएको नेपाली कांग्रेस क्षेत्र नं. १ की सदस्य कमला अधिकारीले बताइन्। अब महिलाले पनि नेतृत्व लिन पाउनुपर्छ र दिइनुपर्छ भन्ने भावनाको विकास भएको छ, उनले भनिन्, ‘स्थानीय चुनाव पहिले नै भइदिएको भए धेरै महिलाले नेतृत्व गरिसकेका हुन्थे।

दया, माया र बाध्यताका कारण महिलालाई नेतृत्व दिने भन्दा पनि नेतृत्व गर्न सक्ने क्षमता छ भन्ने भावनाबाट टिकट दिइनुपर्ने नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पूर्व सांसद टीका बुढाथोकीको धारणा छ। महिलालाई सक्षम बनााउने उद्देश्यका साथ गाउँ र वडाका महिलालाई प्रशिक्षण थालिएको छ, बुढाथोकी भन्छिन्, ‘अरु क्षेत्रमा भन्दा राजनीतिमा महिलाको सहभागिता सीमित छ। पहिले महिलालाई अवसर दिने चलन थिएन तर अब विस्तारै अवसरसँगै नेतृत्व लिने महिलाको संख्या पनि बढ्दै आउनेछ।

यस जिल्लामा क्रियाशील राजनीतिक दलहरूमा पार्टीभित्रै महिलाहरूले नेतृत्व पाउन सकिरहेका छ्रैनन्। जिल्लामा क्रियाशील दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाका समितिहरूमा नै सीमित महिलाको सहभागिता रहेको पाइन्छ। यसपटक महिलालाई नेतृत्व दिनुपर्ने अनिवार्यताको प्रावधानले पनि राजनीतिक दलहरूले महिला नेतृत्वको विकास गर्न जरुरी देखिएको स्थानीय राजनीतिक नेताहरू बताउन थालेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.