विचार

नेपाली यथार्थ र युवा पलायन
SHARES

चैत ३, २०७३

    नेपालको वर्तमान स्थितिलाई अवलोकन गर्दा दिनहुँ विदेश जानेहरूको लामो लर्को छ, यो लाइन अझ बढ्दो छ, घट्ने कुनै संकेत देखिँदैन। उच्च शिक्षा आर्जनका लागि भन्नेहरूको कारण र उपयुक्त रोजगार व्यवसायको अभावमा भौतारिइरहेका युवावर्ग धमाधम विदेश गइरहेको दशक लामो इतिहास छ।

    यस्तो अवस्थाको दैनिकीमाझ सन्तोष शाहले स्वदेश फर्केर केही गरौं भन्ने सोचको वीज बोकेको पनि लामो समय भयो, यसबारे उनको मत थियो,नेपालमा युवाको भविष्य अन्धकार छैन र हुँदैन पनि। तर, आफ्नै देशमा भविष्य नदेखेर युवाहरू विदेशिनु विडम्बनापूर्ण कुरा हो। त्यही युवा पलायनलाई रोक्न र क्षमता अभिवृद्धि गर्न नेतृत्व विकास, युथ क्लब स्थापना गर्ने, पब्लिक स्पिकिङ, सुन्ने संस्कारको विकास, कसरी प्रभावकारी सञ्चार गर्ने आदि कुराहरू हामी युवाहरूलाई सिकाउँछौं। ग्लोबल रेसलाई मियो मान्ने हो भने नेपालको शिक्षाको अवस्था तथा गुणस्तर बढ्न सकेको छैन।

    ग्लोबल रेसियोमा पुग्न नेपालको शिक्षाको गुणस्तर धेरै सुधार गर्नुपर्छ। ग्लोबल रेसियोमा पुग्दै नपुगेका पनि होइनन्। केही नेपाली युवा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पनि सक्षम छन्। यसमध्ये अधिकांश त हाम्रै संस्थाहरूबाट प्रशिक्षित भएका हुन्। हाम्रो प्रशिक्षण विश्वस्तरीय खालको छ। अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त विज्ञहरूले हाम्रा विद्यार्थीलाई तालिम दिनुहुन्छ। त्यसैले हाम्रोमा आएका विद्यार्थी प्रतिस्पर्धी हुन्छन्।

    सन्तोष शाह सञ्चारमा पनि उत्तिकै सक्रिय नाम हो। नेपालजस्तो सानो मुलुकबाट अन्तर्राष्ट्रियस्तरको म्यागेजिन प्रकाशित गर्नेदेखि अमेरीकास्थित स्कोला टेलिभिजनका लागि दक्षिण एसियाली प्रतिनिधिका रूपमा काम गरिसकेको अनुभव उनीसँग छ। इमेज टेलिभिजन, नेपाल टेलिभिजनमार्फत कूटनीतिक नियोगका प्रमुखहरूसँगको कुराकानी पावरटक्सले त वल्र्ड रेकर्ड नै बनाएको थियो।

    नेपालमा सञ्चालित प्रकाशित सञ्चारगृहहरू राजनीतिको काँचो दलदलमा फसेका छन्, यो क्रम प्रजातन्त्रको बहालीसँगै सुरु भएको देखिन्छ, यसका विषयमा सन्तोषको प्रतिक्रिया थियो, ‘मैले १३ वर्षको उमेरमै सरकारी पत्रिकाहरू गोरखापत्र र राइजिङ नेपालमा लेख्न सुरु गरें। पछि आफैंले म्यागजिन चलाएँ र टेलिभिजनका लागि कार्यक्रम तयार गर्न थालें। अहिले पनि टेलिभिजनमै छु। पछिल्लो समय अनलाइन मिडियाको विकास भइरहेको देखिन्छ। इन्टरनेटको पहुँचमा वृद्धि भएसँगै अनलाइन मिडियाको संख्या तीव्र रूपमा बढिरहेको छ। सञ्चारको यो विकासबारे अहिले नै केही भन्न सकिने अवस्था छैन। ४–५ वर्षमा क्लियर पिक्चर आउला।’

    नेपाल पहिले विश्वसँग जोडिएकै थिएन। अहिले खाडीको सडक निर्माणदेखि कतारको रंगशाला बनाउने अनि वासिङ्टन डिसीको वल्र्ड बैंकसम्म नेपाली पुगेका छन्। विश्व समुदायसँग नेपाली अहिले धेरै कुरामा जोडिइसके। विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सले नै मुलुकको अर्थतन्त्र धानिएको छ। विश्वमा हुने राजनीतिक तथा आर्थिक परिवर्तनले नेपाल प्रभावित नभए पनि नेपालीहरू प्रभावित हुन्छन्। उनीहरूको जागिर र आम्दानीमा त्यसले असर पार्छ। त्यसैले विश्व राजनीतिक, अर्थ र भूगोलको जानकारी नेपालीका लागि पनि जरुरी भइसक्यो।

    सन्तोषका आगामी योजनाहरूमा राष्ट्रिय अन्तर्राष्ट्रिय संलग्नतामा प्राविधिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने हुनेछ, कूटनीति र कृषि क्षेत्रमा। कृषि शिक्षाको फोकस ग्रामीण क्षेत्रका युवा हुनेछन्। कूटनीति शिक्षाको फोकसनेपालीलगायत एसिया तथा अमेरिकाका विद्यार्थी हुनेछन्।

    अहिले नेपालको राजनीतिक स्थिति निकै अप्ठ्यारो अवस्थामा छ। निकासको बाटो देखिएको छैन। युवा विद्यार्थी नेताको भूमिका पनि प्रभावकारी देखिएको छैन। हामी युवाहरूमा नेतृत्व क्षमताको विकास गर्न युथ फोरम सञ्चालन गरिरहेका छौं। यसमा जुनसुकै वर्ग, क्षेत्र तथा जुनसुकै राजनीतिक आस्था बोकेका युवा सहभागी हुन सक्छन्। दुई महिनासम्म हरेक शनिबार दिउँसो एकदेखि तीन बजेसम्म निःशुल्क रूपमा यो प्रशिक्षण कार्यक्रम भइरहेको छ। यो कार्यक्रमले युवावर्गमा नेतृत्व क्षमता विकास भई राजनीतिमा पनि उनीहरूको सिर्जनात्मक भूमिका देखिन सक्ने शाहको अपेक्षा छ।

    हाम्रो विकास हुन नसक्नुमा नेपालमा इमानदार नेतृत्वको अभाव नै हो भन्ने शाहको स्वीकारोत्ति छ,राजनीतिक नेतृत्वमा इमानदारीको अभाव छ। भ्रष्टाचारबाट कुनै पनि क्षेत्र अछुतो छैन। कमिसनका कारण विकास बजेट खर्च हुन सक्दैन। विकास बजेट खर्च नभएपछि अर्थतन्त्र चलायमान हुन सक्दैन र रोजगारीका अवसरहरू पनि सीमित हुन्छन्। विकास बजेट फ्रिज हुनु भनेको विकासको सम्भावना पनि फ्रिज हुनु हो।

    सामान्य किसान परिवारको सदस्यले त्यहाँदेखि यहाँसम्मको यात्रा तय गर्दाको अनुभूति सँगालेर पनि सरल पहिचान बनाएका उनी आफ्नो पहिचान लुकाउँदैनन् न त रंगरोगन गर्ने चेष्टा उनको छ। उनी भन्छन्, ‘म पनि सामान्य कृषक परिवारबाट आएको मान्छे हुँ। कुनै महत्वकांक्षा थिएन ममा। कक्षा दुईमा पढ्दा बुबाले राजाको छोरा पढ्ने स्कुलमा पढ्नुपर्छ भन्नुभयो। बुबाको इच्छा पूरा गर्न मैले बूढानीलकण्ठ स्कुलमा प्रवेश परीक्षा दिएँ। त्यसमा पनि विभिन्न बाधा अवरोध खडा गरियो। तेस्रो प्रयासमा कक्षा सातका लागि प्रवेश परीक्षा पास गरें।

    कक्षा सातमै पढ्दा हजुरबुबाले विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिका हो र त्यहाँको राष्ट्रपति वासिङ्टन डिसीमा बस्छन् भनेर सुनाउनुभयो। वास्तवमा उहाँले त्यतिबेला वाशिङ्टन डिसीलाई ‘बाशिगटन डिसी’ भन्नुभएको थियो।’ हजुरबुबाले मलाई अमेरिकाको राष्ट्रपतिलाई चिठी लेख्न प्रेरित गर्नुभयो। हजुरबुबालाई खुसी बनाउन मैले अमेरिकाको राष्ट्रपतिलाई चिठी लेखें र त्यो चिठी गाउँको हुलाकबाट पठाएँ। हजुरबुबा खुसी हुनुभयो। यो सन् १९९३ को कुरा भयो। संयोगवश त्यसको ठीक २० वर्षपछि सन् २०१३ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा प्रथम श्रेणीको कुर्सीमा बस्ने अवसर प्राप्त भयो। बाल्यकालमा हजुरबुबाको संकेत म कसरी बुझ्न सक्थें त्यो अन्जान बखत थियो तर, त्यही पत्र जसको प्रेरणाले मैले आममान्छेले कल्पना गर्ने घटनाको दर्शक साक्षी बनेर ताली बजाउने अवसर पाएको थिएँ।

    अमेरिकामा पर्याप्त अवसरहरू हुँदाहुँदै पनि म नेपाल फर्कें। नागरिकको देशप्रतिको जिम्मेवारी बोधले मलाई स्वदेश फर्कायो। नेपाल फर्केपछि युवाको क्षेत्रमा काम गर्न थालें र अहिले पनि निरन्तर यो क्षेत्रमा लागिरहेको छु। समयक्रमसँगै मेरो कार्यक्षेत्र देशको ग्रामीण क्षेत्रदेखि अन्तर्राष्ट्रिय स्तरसम्म फराकिलो भएको छ।

    सन्तोष शाहसँगको कुराकानी उनका बारेमा सहपाठीहरूले बताएका घटनाहरू र सधंै काम र अध्ययनलाई केन्द्रमा राखी हिँड्ने उनको स्वभावसँग सहपाठी मात्र नभई शिक्षक शिक्षिकाहरू पनि उत्तिकै प्रभावित भएका थिए। विश्व प्रसिद्ध अध्यात्मिक गुरु श्री चिन्मयको दर्शनमा आफूलाई शान्ति महसुस गर्ने सन्तोष, उनले देखाएको विश्व शान्तिका लागि म्युजिक र मेडिटेसनको समिश्रणलाई आफ्नो दैनिकीमा लगाइरहेको बताउँछन्।

    त्यो पनि बेला थियो सन्तोष बूढानीकलण्ठ स्कुलमा पढ्दै गर्दा नेपालको एक मात्र अंग्रेजी अखबारका सम्पादकले उनी सानो उमेरका भएकोले रचना प्रकाशन गर्नलाई कञ्जुस्याइँ गरेका थिए, उनैले छदमभेषी नाममा पत्रिकामा पठाएको रचनाले ओपेड पेजमा ससम्मान पाएको थियो। सन्तोषद्वारा लिखित प्रकाशित समाचारको अंश लिएर सम्पादकको कार्यकक्षमा पुगी रचनाको स्तरीयतासँग उमेरको सम्बन्ध नहुने धारणा व्यक्त गरेका थिए र त्यसपछि स्कुले दिनहरूमा नै सन्तोषले प्रतिष्ठित सञ्चार माध्यमहरूमा लेख्न थालिसकेका थिए।

    त्यो गति भएको शाहले पछिल्ला दिनमा सेब्स बूढानीलकण्ठका पूर्व–विद्यार्थीहरूको संस्थामा रहेर काम गरे भने सिर्जनशील युवा लक्षित कार्यक्रमहरूमा रेकर्ड राख्दै विश्वको ध्यानाकर्षण आफूतिर खिचिरहेका छन् र सन्तुलित रूपमा नेपाली युवा वर्गलाई विश्वको गतिमा दौडाउन व्यावहारिक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। युवा वर्गका क्षमतालाई उजागर गर्दै सम्भावनाहरू पहिल्याउन सहयोग गर्ने उत्प्रेरक युवा नेतृत्व सन्तोष शाहबाट अझै सिक्नुपर्ने कुराहरू धेरै छन्।

     

निर्मलकुमार थापा

प्रभातफेरी सन्ध्या, बिजौला, युवक, एकादेशमा, क्रिष्टल भर्सेस निर्मल, दि बुक अफ फिलोसफी, योगसूत्रलगायत एक दर्जन नेपाली तथा अंग्रेजी भाषाका पुस्तकहरूका स्रष्टा निर्मलकुमार थापा हाल अंग्रेजी साहित्यमा विद्यावारीधि गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]