प्रोफेसर ड्रेचलरसँग 'बुद्धिस्ट इकोनोमिक्स'बारे चर्चा

|

‘बौद्ध दर्शनमा आधारित अर्थव्यवस्था’बारे नेपाली धुरन्धरहरूबीच कार्यपत्र प्रस्तुत गरिसकेपछि प्रोफेसर वुल्फग्याङ ड्रेचलर कमलादीस्थित रोयल सिंगे होटलको छतमा उक्लिए, जहाँ उनी थाहा सञ्चार नेटवर्कसँग बुद्धिस्ट इकोनोमिक्स र भ्रष्टाचारका आयामबारे छलफल गर्नेवाला थिए।

‘म यहाँ आँउदा सकेसम्म अग्लो स्थानबाट सहर हेर्न रुचाउँछु’, होटलको सातौँ तलाबाट काठमाडौँ नियाल्दै उनले भने, ‘यो आफैँमा निकै समृद्ध सहर हो। यहाँका प्राचीन कलाकौशल देखेर चकित पर्छु, अनि आफैँलाई भन्छु, भ्रष्टाचार यो देशको संस्कार होइन र थिएन पनि।’

ली क्वान युनिभर्सिटी, सिंगापुरका यी प्रोफेसर सुशासन र सूचना–प्रविधिका विज्ञ हुन्। उनको थप रुचि वैकल्पिक अर्थव्यवस्थामा छ, जहाँ उनले बौद्ध दर्शनलाई आधार बनाएका छन्। यसपटक उनी लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी रिसर्च सेन्टरको निम्तोमा काठमाडौँ ओर्लिएका थिए। ‘बुद्धिस्ट इकोनोमिक्स’बारे आफ्नो विचार प्रस्तुत गर्नु थियो र नेपाली विद्वानहरूको धारणा सुन्नु थियो।

‘बुद्धिस्ट इकोनोमिक्स भन्नुस् वा ह्याप्पिनेस इकोनोमिक्स्! कतिले यसलाई ‘शान्तिको अर्थशास्त्र’ पनि भन्छन्, नाम जे भए पनि कुरा एउटै हो। समग्र मान्छेको हितलाई अर्थतन्त्रको केन्द्र बनाइनुपर्छ भन्ने यो विचारधाराको मर्म हो’

अरूको मोडल किन पछ्याउने?

त्यसो त ‘बुद्धिस्ट इकोनोमिक्स’ छलफलको नवीन विषय होइन। व्रिटिस अर्थशास्त्री ईएफ सुमाकरको पुस्तक ‘स्मल इज ब्युटिफुल’ (१९७३) ले धेरैको मथिंगल हल्लाइसकेको हो, जसमा उनले बुद्धिस्ट इकोनोमिक्सबारे आफ्नो खँदिलो मत राखेका छन्। बेलायत सरकारका विभिन्न विभागमा आर्थिक सल्लाहकार रहिसकेका सुमाकरले स–सना देशहरूले ठूला र विकसित भनाउँदाहरूको सिको गरेकोमा आलोचना गर्दै भौतिक अन्धवादीहरूको सल्लाह नलिन र अर्थतन्त्रको आ–आफ्नै मोडल विकास गर्न सुझाव दिएका छन्। उनको पुस्तकमा ‘बुद्धिस्ट इकोनोमिक्स’ शीर्षकको छुट्टै अध्याय नै छ।

यसरी नयाँ पुँजीवाद र चरम उपभोगवादविरुद्ध मत राख्ने विद्वानहरूले कुनै न कुनै रूपमा वैकल्पिक अर्थतन्त्रबारे बोली नै राखेका छन्। जर्मनमा जन्मेका प्रोफेसर ड्रेचलर तिनैमध्येका पछिल्ला हुन्, जो बुद्ध दर्शनलाई ‘भौतिक, अध्यात्म र नैतिकताको सुन्दर मिश्रण’ मान्छन् र बुद्ध दर्शनमा आधारित अर्थतन्त्रबारे गम्भीर हुनुपर्ने मत राख्छन्।

‘बुद्धिस्ट इकोनोमिक्स भन्नुस् वा ह्याप्पिनेस इकोनोमिक्स्! कतिले यसलाई ‘शान्तिको अर्थशास्त्र’ पनि भन्छन्, नाम जे भए पनि कुरा एउटै हो। समग्र मान्छेको हितलाई अर्थतन्त्रको केन्द्र बनाइनुपर्छ भन्ने यो विचारधाराको मर्म हो’, ड्रेचलरले भने, ‘सुमाकरले यसबारे लेखेपछि पश्चिममा यसबारे अलिअलि चर्चा हुन थालेको हो। तर सन् २००८ मा देखिएको आर्थिक संकटयता यसबारे मान्छेको चासो बढेको छ।’

हरेक संकटपछि नयाँ उपायबारे मान्छेको चासो बढ्नु स्वाभाविकै हो। तर यो चासो त्यो चरणमा पुगेको पनि छैन कि राष्ट्रहरूले वैकल्पिक अर्थतन्त्र अपनाउने विषयमा तत्काल सोचिहालुन्। ‘राष्ट्रको मात्रै के कुरा! मान्छेकै हेर्नुस् न! आज कहाँ त्यस्तो मान्छे छ, जो आईफोन बोक्न चाहँदैन?’ ड्रेचलरले भने, ‘मान्छेको आवश्यकता सीमित छ, तर चाहना असीमित। मान्छेले यो जान्दा–जान्दै पनि आचरणको पर्खाल ढलिसक्यो। पैसा नै सबैथोक हो भन्ने बुझ्न थालियो। हुनत यो यस्तो विषय हो, जसबारे सायद मानव सभ्यता रहुञ्जेल बहस भइराख्ला। तर अर्थव्यवस्थाबारे फरक ढंगले सोच्नुपर्ने स्थितिचाहिँ महसुस भएको हो।’

उनलाई विश्वास छ, जसोतसो आर्थिक संकट अहिलेलाई थामिए पनि यसको विकल्प नखोजी सुखै छैन। उनले भने, ‘मान्छेको खुसीलाई मूलधारको अर्थतन्त्रले झुम्का–बुलाकी जस्तो सजावटको विषय ठानेको छ, यसरी सधैँ चल्दैन।’

बुद्ध र बुद्धिस्ट इकोनोमिक्सको अन्तरसम्बन्ध

‘बुद्धिस्ट इकोनोमिक्स’, यो शब्द र यसले बोक्ने भावको अन्तरसम्बन्ध निकै रोचक छ।

बुद्ध लुम्बिनीमा जन्मिए। हामी ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर थाक्दैनौँ। एसियामा बुद्ध धर्मावलम्वीहरूको बाहुल्य रहेका देशहरू प्रशस्त छन्। तर ‘बुद्धिस्ट इकोनोमिक्स’को चर्चा भने पश्चिमबाट सुरु भयो।

थाइल्याण्ड, श्रीलंका, कम्बोडिया जस्ता देशहरू बौद्धमार्गी बहुल देश हुन्। तर अधिकांश ठाउँमा बुद्ध दर्शन गुम्बा परम्पराबाट निस्कन सकेको छैन। समाजसँग जोडिन सकेको छैन। बौद्धमार्गीहरूको बाहुल्य रहेका ती देशहरू र बुद्धकै जन्मथलो नेपालले पनि अर्थव्यवस्थाको पश्चिमा मोडल पछ्याइरहेको छ। नेपालसहितका यी देशहरूले विश्व बैंक र त्यस्तै अन्य संस्थाले तय गर्ने विकासका अवधारणालाई प्राथमिकता दिइराखेका छन्। कसैको मौलिक अवधारणा नै छैन।

‘सम्पन्न भएर दुःखी भएका मान्छेहरू पनि छन्। प्रचुर सम्पन्नताविना खुसीसाथ बाँचिरहेका मान्छेहरू पनि छन्। आर्थिक सुरक्षापछि शिक्षाको कुरा छ, स्वास्थ्यको कुरा छ। समावेशिताको कुरा, सहभागिताको कुरा छ। स्थानीयताको कुरा छ। मान्छेको खुसी नाप्ने मिटर एउटै हुनै सक्दैन। खुसीका स्रोत फरक–फरक हुन्छन्। आफ्नो खुसीको स्रोत पहिचान गर्ने आफैँले हो।’

भुटानका पूर्वराजा जिग्मसिंगे वाङचुकको एउटा भनाइ संसारभर चर्चाको विषय बन्यो। उनले भनेका थिए, ‘मेरा लागि कुल राष्ट्रिय उत्पादन भन्दा कुल राष्ट्रिय खुसीले ज्यादा महत्त्व राख्छ।’ तर भुटानकै अवस्थाले वाङचुकको भनाइलाई आज कुरीकुरी गर्छ। शब्दमा जेसुकै भने पनि भुटानले समेत पश्चिमकै अन्धानुकरण गर्दै आएको छ।

‘चल्तीको अर्थतन्त्रले मान्छेलाई खुसी दिँदैन भन्ने देखिसकियो’, ड्रेचलर भन्छन्, ‘त्यसको ठीक विपरीत ‘बुद्धिस्ट इकोनोमिक्स’ले मान्छेको हित र खुसीलाई ध्यानमा राख्छ। यो अर्थको मात्रै होइन, अध्यात्मको कुरा पनि हो। नीतिको मात्र होइन, नैतिकताको पनि कुरा हो।’

कहाँ छ त खुसी?

कुनै पनि देशको शासन वा अर्थव्यवस्थाले ठीकसँग काम गरेको छ कि छैन? मूल्यांकन गर्न थाल्ने हो भने कुरोको लहरो अर्कैतिर जाला। तर त्यता नलागी धरै छैन। कमसेकम मान्छेको खुसी के कुरामा छ भन्ने त थाहा पाउनुप¥यो नि! ‘भोको पेटले न अर्थ–व्यवस्था बुझ्छ, न त नैतिकता नै। त्यसैले आर्थिक सुरक्षा प्रारम्भिक कुरा हो। तर अर्थलाई मात्र सबथोक ठान्न भएन,’ ड्रेचलरले भने, ‘सम्पन्न भएर दुःखी भएका मान्छेहरू पनि छन्। प्रचुर सम्पन्नताविना खुसीसाथ बाँचिरहेका मान्छेहरू पनि छन्। आर्थिक सुरक्षापछि शिक्षाको कुरा छ, स्वास्थ्यको कुरा छ। समावेशिताको कुरा, सहभागिताको कुरा छ। स्थानीयताको कुरा छ। मान्छेको खुसी नाप्ने मिटर एउटै हुनै सक्दैन। खुसीका स्रोत फरक–फरक हुन्छन्। आफ्नो खुसीको स्रोत पहिचान गर्ने आफैँले हो।’

भ्रष्टाचारः आजको चुनौती

‘पुँजीवादी अर्थव्यवस्थाका अन्य समस्या त छँदै थिए, अब भ्रष्टाचार पनि नयाँ चुनौतीको रूपमा देखिएको छ,’ ड्रेचलरले भने, ‘र यो यति डरलाग्दो गरी आएको छ कि बेलैमा सतर्कता अपनाइएन भने थेग्नै नसक्ने स्थिति आउन सक्छ। त्यसो त यो मूलधारकै अर्थव्यवस्थाको लागि पनि चुनौती हो। तर अरूलाई दोषी ठह¥याएर मात्रै समाधान निस्कँदैन।’

प्रोफेसर ड्रेचलर आर्थिक भ्रष्टाचारबारे मात्रै ज्यादा चर्चा हुने गरेकोमा असन्तुष्ट छन्। उनको विचारमा आर्थिक भ्रष्टाचार सतहको कुरा हो, गहिराइको समस्या त मान्छेको आचरणमा छ। ‘दक्षिण एसियाकै राजनीतिक दलहरूमा हेर्नुस्, भाइभतिजावाद डरलाग्दो समस्याको रूपमा आएको छ,’ उनले भने,‘आर्थिक चलखेल हुने स्थितिमा मान्छेले जो कोहीलाई विश्वास गर्नै सक्दैन। परिवारकै निकट मान्छेलाई सहयोगीको रूपमा भर्ती गर्छ। यसले संस्कारको रुप लिँदा परिणाम के होला? कल्पनै गर्न सकिँदैन।’

उनको विचारमा भ्रष्टाचार तब मात्र संस्थागत हुने स्थिति आउँछ, जबसम्म भ्रष्टाचारीलाई हेर्ने सामाजिक दृष्टिकोणमा भिन्नता आउँदैन। ‘तरिका जेसुकै होस्, आर्थिक प्रगतिलाई मान्छेको सफलता ठानिन्छ र त्यस्तो मान्छेलाई सहजै स्वीकारिन्छ भने स्थिति बदल्न कठिन छ’, उनले भने, ‘तर त्यस्ता देश वा समाज पनि छन्, जहाँ भ्रष्टाचार भइरहेको हुन्छ तर कर्तुत सार्वजनिक भएको खण्डमा समाजले स्विकार्दैन। त्यस्तो मान्छेले समाजमा मुख देखाउन सक्दैन, उसकी श्रीमती वा उसको श्रीमान् बाहिर निस्कन सक्दैन, उसका केटाकेटीहरू टोलका साथीहरूसँग खेल्न जान सक्दैनन् र अन्त्यमा भ्रष्टाचारीले आत्महत्या गरेका उदाहरण पनि छन्। त्यसैले कानुनले मात्र होइन, समाजले पनि बन्धन बनाउन सक्नुपर्छ। सिस्टमलाई दोष लगाएर मात्र हुँदैन। सिस्टम हामीले नै बनाउने होइन र!’

बुद्ध दर्शनले मूलतः मान्छेको जीवनशैली र आचरणको कुरा गर्छ। ‘बुद्धिस्ट इकोनोमिक्स’ त्यस भन्दा पर छैन। यो बुद्धकै अष्टमार्गमा आधारित छ। मौलिक अर्थव्यवस्थामा जोड दिने यो अवधारणाले ‘मान्छेको श्रम नै धनको स्रोत हो’ भन्छ।

समस्या सिस्टममा कि संस्कारमा?

ड्रेचलर ठान्छन्, समस्याको जरो संस्कार हो, सिस्टम होइन। विश्वका विभिन्न देशहरूमा प्रचलित हरेक राजनीतिक व्यवस्थाका आ–आफ्नै फाइदा र बेफाइदा छन्। त्यो बहसको अर्कै पाटो हो। तर त्यो व्यवस्थालाई चलाउने र व्यवस्थाभित्र रहने मानिसहरूको आचरण र संस्कार कस्तो छ, समाजमा त्यसकै आवर्तन देखिने हो। सत्ताको केन्द्रमा रहेका दुई–चार जना ठीक भए समाज ठीक हुने र बेठीक निक्लिए बेठीक हुने होइन। यो सामूहिकताको कुरा हो। समाजको चेतना र इच्छाशक्तिको कुरा हो।

बुद्ध दर्शनले मूलतः मान्छेको जीवनशैली र आचरणको कुरा गर्छ। ‘बुद्धिस्ट इकोनोमिक्स’ त्यस भन्दा पर छैन। यो बुद्धकै अष्टमार्गमा आधारित छ। मौलिक अर्थव्यवस्थामा जोड दिने यो अवधारणाले ‘मान्छेको श्रम नै धनको स्रोत हो’ भन्छ। मान्छेको विलासी प्रवृत्तिको विरोध गर्छ, सरलता र स्थानीयताको वकालत गर्छ। त्यति मात्रै नभई वातावरणीय सुरक्षामा पनि सजग हुनुपर्ने धारणा राख्छ। नैतिकता यसको मूल मर्म भैहाल्यो।

‘आजकल सूचना–प्रविधिले पनि ठूलो भूमिका खेलिरहेको छ। तर त्यो साधन मात्रै हो, साध्य होइन। ‘बुद्धिस्ट इकोनोमिक्स’ले बुद्धकै अष्टमार्गलाई साध्यको रूपमा अघि सारेको छ। त्यही दायरामा रहेर समृद्धि खोजौँ, समाजको हित र मान्छेको खुसी खोजौँ भन्ने कुरा हो’, ड्रेचलरले भने, ‘यसबारे थप बहस हुनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.