|

सिन्धुपाल्चोक : जिल्लाको भोटेकोसी गाउँपालिका– १ लिस्तीस्थित उग्रचण्डी माध्यमिक विद्यालयमा विद्यार्थी बेहोस भएर ढल्न थालेपछि समस्या समाधानमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा कार्य गर्ने संस्था टीपीओ नेपाल लागेको छ ।

माध्यमिक विद्यालयका  विद्यार्थी अचेत बनेर ढल्न थालेपछि पढाइमा समस्या आएको विद्यालयले जानकारी दिएको छ। टीपीओ नेपालले भने उक्त समस्या रूपान्तरित विकृति भएको जनाएको छ। विद्यालय पुग्नासाथ बेहोस भएर छात्रा एकाएक ढल्ने गरेका छन् ।

करिब महिना दिन अघिदेखि ढल्न थालेका विद्यार्थी के कारणले बेहोस भएर ढलेका हुन् भन्ने तथ्य विद्यालय प्रशासनले बाहिर ल्याउन चाहेको छैन। तर, दिनानुदिन बेहोस हुने र ढल्ने समस्या बढ्दै गएपछि अध्ययन अध्यापनमा समस्या आएको विद्यालयले बताएको छ।

कक्षामा छात्रा ढल्न थालेपछि विद्यालयका सबै विद्यार्थी डरले काम्ने गरेका छन्। बेहोस वातावरणले विद्यार्थीको मानसिकता पढ्नेतिर नभएकोले विद्यालयमा समस्या आएको प्रधानाध्यापक कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए। ‘मास हिस्टेरिया हो कि भन्ने शंका लागेर सामाजिक संघसंस्थालाई सम्पर्क गरेका छौँ’, उनले भने।  किशोरी उमेरका छात्रामा एक महिनाअघिदेखि नै यस्तो समस्या देखापरेको उनले जानकारी दिए।

‘यो व्यक्तिमा हुने भावनात्मक कठिनाइ र त्यसलाई शरीरले देखाउने सामान्य प्रतिक्रिया मात्र हो । त्यसैले यसमा धेरै आत्तिनुपर्दैन’, गत बुधबार विद्यालयमै पुगेर समस्याको लेखाजोखा गरेर फर्किएका टीपीओ नेपालका मनोविमर्शकर्ता टीकाराम सिग्देलले भने।

प्रभावित बालबालिकाको समस्याका बारेमा प्रारम्भिक लेखाजोखा भइसकेको र समस्यामा परेकाहरूलाई थप मद्दतका लागि संस्थाले योजना बनाएको पनि उनले बताए।

यस्ता समस्या भएका व्यक्तिले धेरै तनाव हुने खालका कामबाट परै रहनुपर्ने र आफूलाई खुसी लाग्ने क्रियाकलापमा सहभागी हुनु पर्ने तथा आफ्ना धार्मिक, सामाजिक, साँस्कृतिक गतिविधिमा संलग्न हुनाले पनि तनाव कम गर्न सघाउने तर दीर्घकालीन समाधानका लागि मनोविमर्श विशेषज्ञ सेवा लिनुपर्ने मनोचिकित्सकहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.