|
फाइल फोटो

काभ्रे : नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दैछन्। नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार  पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन्।

सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ। सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो। अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए।

पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो। उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ। अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन्। ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी आए, श्रीलंकाली फर्किए

‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे। ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन्। उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे।

कुन–कुन देश सहभागी हुँदै छन् ?

नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्ट्रेलिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.