|

  • रमेश पराजुली-

चौतारा : चारवटा जस्तापाताले छाएको टहरो, हावा छेक्न थोत्रा प्लाष्टिक र झुम्राको बार हालिएको छ। तर च्योज्योडाँडामा चल्ने चिसो हावा सिधै टहराभित्र छिर्छ। ओढ्ने ओछ्याउने र खानेकुरा केही छैन। टहरामा बस्ने बालबालिका र बृद्धा चिसोले निला देखिएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका इर्खुकी ३६ वर्षकी मन्दिरा कार्कीको परिवार बस्छ यो टहरामा। उनीसँगै दुई छोरी र वृद्धा सासु बस्छन् यहाँ। यो टहरो पनि उनीहरुको होइन। सहाराविहीन भएपछि यो परिवार बेनामे टहरोमा बसेका रहेछन्। भूकम्पअघि छिमेकको घरमा भाडामा बस्थे। भूकम्पले गाउँघर जम्मै ढलेपछि उनका लागि कतै बस्ने बास भएन।

भूकम्पपछिको धेरै समय उनीहरु खुला आकाशमुनि नै बसे। गाउँमा विभिन्न निकायबाट सहयोग आयो। तर,  उनका लागि कसैले सहयोग गरेनन्। घरबारविहीन भएर पनि होला सहयोग जुटेन।

रोजगारीका लागि कतार पुगेका पति ईश्वरीबहादुर कार्कीको स्वदेश फर्के लगत्तै मृत्यु भयो। विदेश छँदै बिरामी परेका ईश्वरी काम छाडेर घर फर्केका थिए। बिमारले थलिएका कार्कीलाई उपचारका लागि काठमाडौंका विभिन्न अस्पताल पुर्‍याइयो। तर निको भएन।

७० हजार ऋण काढेर कतार गएका उनका पति विदेश गएको केही महिनामै बिरामी भए। चार महिनापछि घर फर्कँदा ७० हजार ऋण सात लाख पुगेको झुटो विवरण थाहा पाएपछि पतिलाई बिमारमाथि थप डिप्रेसन सुरु भएको मन्दिरा बताउँछिन्। साहुको ऋण तिर्न नसकेपछि घरबारी लिलाम भयो।

‘उहाँको मृत्युपछि नाबालक दुई छोराछोरी र बृद्धा सासूको कन्तबिजोग भएको छ। विदेश जाँदा र बिरामी पर्दा लागेको ऋणले घरबास उखेल्यो’ उनले भनिन्, ‘दिनभरि मजदुरी गर्छु। रातभर ऋण सम्झेर पागलजस्तै हुन्छु।'

आफ्नो नाजुक शारीरिक र मानसिक अवस्था देखेर छोराछोरीको बाल मस्तिष्कमा नराम्रो असर परेको मन्दिरा दुखेसो गर्छिन्। युवा उमेरमै पति गुमाउनुको पीडा बोकेर बाँचिरहेकी कार्कीको दुःखप्रति साथ दिने कोही छैनन्। खान लाउनको अभाव त छँदैछ, बस्ने बास नहुँदा उनलाई आजकाल थप दुःख थुप्रिएको छ।

भूकम्पपछि अरुकै जग्गामा बस्दै आएकी कार्कीलाई जग्गाधनीले निकालिदिएपछि साथमा बस्ने ८ वर्षकी छोरी अनिता, ११ वर्षीय छोरा अमन र ८३ वर्षीया बृद्धा सासूलाई साथै लिएर बास खोज्दै हिँडेको धेरै भइसकेको छ। भूकम्पअघिदेखि नै उनको परिवार घरबारविहीन थियो। दिनरात मजदुरी गरेर साहु मनाउँदै आएपनि अझै आधी ऋण तिर्न बाँकी छ। ऋणको भार बोक्नुको पीडाले उनको शिथिल मन ठेगानमा छैन।

‘विधुवा र गरिब भएपछि विभिन्न मानिसले लगाउने लाञ्छना र घृणित शब्द सुन्नुपर्छ,’ अरुको हेपाइले बाँच्न मन नलागेको सुनाउँदै उनले भनिन्, ‘तर, सन्तानको मुख हेरेर बाँच्नुपरेको छ।’ 

बास नभएकोले उनको परिवार अरुकै टहरोमा बस्ने गरेका छन्। 'अरुको टहरोमा कतिन्जेल बस्ने? लामो सुस्केरा हाल्दै उनले भनिन्, ‘बास बनाउन कसैले सहयोग गरे मेरा छोराछोरीको उद्दार हुने थियो।’

छिमेकको टहरामा एक रात बसेपछि विद्यालय जाने छोराछोरीलाई अर्को रात कहाँ लगेर सुताउने भन्ने चिन्ता कार्कीलाई पर्ने गरेको छ। बासको ठेगान नभएकोले उनका छोराछोरी विद्यालय जान छोडेका छन्। भरपेट खान नपाउने र विना खाजा स्कुल जानुपर्ने विवशताले पनि उनीहरुले पढाइ छाडेका हुन्। मजदुरीबाट कमाएको पैसाले जसोतसो खान दिने गरे पनि कपडा र विद्यालय खर्च अभाव भएको मन्दिराले बताइन्।

‘अरुको जग्गा लिएर बस्ने प्रयास नगरेको होइन। तर, भाडा तिर्न सक्दैन भनेर कसैले पत्याएनन्,’ उनले भनिन् ‘बरु दिनरात खटेर साहुलाई भाडाको पैसा दिन्थेँ,  बास नभएकोले पानी पर्दा र हुरीबतास आउँदा मेरा छोराछोरी बिचल्लीमा पर्ने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.