|

अनिल खत्री

गुल्मी : स्थानीय निर्वाचनका लागि गुल्मीमा १३८ मतदान केन्द्र रहने भएका छन्। जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार विगतमा कायम रहेका १ सय २९ मतदान केन्द्रमा ९ वटा नयाँ केन्द्र थप गरिएको हो। मतदाताको सुविधालाई ध्यानमा राख्दै मतदान केन्द्र १ सय ३८ पुर्‍याइएको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए।

थपिएका मतदान केन्द्रहरुमा मुसीकोट नगरपालिकाको जनता निमावि आरुपाटा, रेसुङ्गा नगरपालिकाको रेसुङ्गा माध्यमिक विद्यालय तम्घास, सिद्धबाबा मावि तम्घास र रानीपोखरा मावि रानीपोखरा रहेका छन्।

यसैगरी कालीगण्डकी गाउँपालिकामा देवीस्थान प्रावि, सत्यवती गाउँपालिकामा गगनपुर निमावि, चन्द्रकोट गाउँपालिकामा जनता निकेतन मावि, रुरु गाउँपालिकामा रुद्रवेणी प्रावि र धुर्कोट गाउँपालिकामा भगवती माविमा पनि केन्द्र रहने भएका छन्।

१३ दल दर्ता 

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार यहाँ १३ दल दर्ता भएका छन्। जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेपाल परिवार दल छन्।

यसैगरी अखण्ड नेपाल पार्टी, संघीय समाजवादी फोरम फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेशन पनि जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

हालको अप्रसोधित मतदाता संख्या १ लाख ८५ हजार ७ सय ८ रहेको खत्रीले जानकारी दिए। जसमा मृत्यु भएका, बसाईंसरेका तथा दोहोरो नाम परेकाहरुलाई हटाउन बाँकी छ।

४ सय ८९ जनप्रतिनिधि चुनिने 

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुनेछन्। नयाँ संरचनाअनुसार जिल्लामा रहेका २ नगरपालिका, १० गाउँपालिका गरी ९३ वडामा जनप्रतिनिधि चयनका लागि चुनाव हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.