|

दमक :

‘मेरो गाउँ मेरो भाषा,

मेरै भेष राम्रो,

कतै जाने रहर छैन,

आफ्नै देश राम्रो।’

तोते बोली फुट्दै गर्दा ‘सारेगम’ सिकेकी झापा, दमक– १२ की १३ वर्षीय सुदृष्टि राईले ९ वर्षको उमेरमा गाएको गीत हो यो। देशप्रेमको भावनाले ओतप्रोत यही गीत २०६९ सालमा गाएर साङ्गीतिक क्षेत्रमा पहिलो पाइला चालेकी सुदृष्टि अहिले पनि चर्चाको शिखरमा छन्।

बीबी अनुरागीले सङ्गीत भरेको यस गीतको रचना श्रीपुरुष ढकालले गरेका हुन्। यस गीतको म्युजिक भिडियोको निर्देशन भारती गजमेर (घिमिरे) ले गरेकी हुन् भने म्युजिक भिडियोको परिकल्पनाकार तुलसी घिमिरे हुन्।

कक्षा ९ मा अध्ययनरत सुदृष्टि भारतको अहलाबाद युनिभर्सिटीबाट सङ्गीतमा डिप्लोमा तेस्रो वर्षकी विद्यार्थी पनि हुन्। उनी अहिले किशोर अवस्थाको चञ्चले प्रवृत्तिलाई नियन्त्रण गर्दै साङ्गीतिक अनुशासनको लक्ष्मणघेराभित्र बसेकी छन्। न आफ्ना सहपाठीले खाएजस्तो चट्पटे नै खान पाउँछिन् उनी, न त चिसो पेयपदार्थ तथा आइसक्रिम नै। सँगैका साथीले जिब्रो पड्काउँदै स्वाद मानेर खाइरहेको चट्पटे हेर्दै मन बाँधेर साङ्गीतिक भविष्य साट्दै छन् सुदृष्टि।

उनी अहिले सबैभन्दा कडा अनुशासन खानपानमा नै रहेको बताउँछिन्। गलामा सुर बिग्रने डरले उनलाई यी सबै कुराको लागि सुझाव सल्लाह र संरक्षण दिइरहेका छन्, बुबा सुजन राई र दीप्ता धमला राईले। उनका बुबाआमा उनको सङ्गीतयात्रामा कुशल अभिभावक मात्र होइन, सँगै गाउने र ठट्टा गर्ने सारथिसमेत बनेका छन् । ‘बुबाआमाको यही साथ र सहयोगले सङ्गीत यात्रमा फड्को मार्न सजिलो भएको छ’, सुदृष्टि भन्छिन्।

उनको स्वभाव पनि अरूको भन्दा धेरै फरक छ। उनी कुनै पनि कुरालाई गहिरिएर अध्ययन गर्छिन्। धेरै बोल्दिनन्। पढाइमा पनि उनी त्यतिकै ध्यान दिन्छिन्। हेर्दा उनको स्वभाव परिपक्व युवतीको जस्तो देखिन्छ।

‘कखरा’ छोडेर ‘एबीसीडी’ पढाउने अहिलेको परिपाटीलाई छिचोल्दै नेपाली सङ्गीतमा भविष्य देखेर छोरीलाई यो क्षेत्रमा निरन्तर लाग्न प्रेरणा दिएको बुबा सुजनको भनाइ छ। ‘मैले अहिलेसम्मको सम्पूर्ण कमाइ मेरी छोरीको सङ्गीत अध्ययनमा लगानी गरेको छु’, उनी भन्छन्, ‘छोरीले पनि लगानीलाई कहीँ कतैबाट चुहिन नदिने मेरो विश्वास छ।’ उनले आफ्नी छोरी सङ्गीत क्षेत्रमा सम्पूर्ण नेपालीकी साझा सम्पत्तिको रूपमा स्थापित हुँदै गएकोमा खुसी व्यक्त गरे।

छोरीको साङ्गीतीक यात्रालाई भौतिक रूपमै सहयात्री बनेर सँगसँगै हिँडेकी आमा दीप्ता छोरीको सफलता नै आफ्नो सफलता भएकाले यसमा कहीँ कतै कमजोर हुन नदिने प्रतिबद्धता जनाउँछिन्।

सुदृष्टिको स्वरमा व्यावसायिक गायकी रहेको उनका सङ्गीत गुरु सङ्गीतकार देवकुमार चौधरी बताउँछन्। उनी भन्छन्, ‘उनको प्रस्तुति नारायण गोपाल, लता मङ्गेसकर, स्वरूपराज आचार्य, अञ्जु पन्तको स्वरमा झैँ ‘बोल्ड’ र आफ्नोपनको ‘कमान्डिङ’ पाइन्छ।’ सुदृष्टिको सङ्गीत क्षेत्रमा उज्वल भविष्य देखेको चौधरीले बताउँछन्।

सुदृष्टि स्वरका साथै नृत्य कलामा पनि त्यतिकै निपूर्ण छन्। नृत्यअन्तर्गत उनले भरत नाट्यम पनि सिकेकी छन्। नृत्य कलामा उनले स्थानीय तथा जिल्लास्तरका धेरै प्रतियोगितामा समेत सफलता हात पारेकी छन्। गायनतर्फ उनले दमकमा भएको ‘लिटिल क्विन, २०१०’ जित्न सफल भएकी थिइन्। त्यस्तै नई प्रकाशनको ‘राष्ट्रिय बाल गायन पुरस्कार, २०६९’ समेत प्राप्त गरीसकेकी छन्। सुदृष्टि झापामा भएका धेरैजसो साङ्गीतिक कार्यक्रममा समेत सहभागिता जनाउने गर्छिन्। ती साङ्गीतिक कार्यक्रमबाट उनलाई राम्रै प्रतिक्रिया आउने गरेको छ। पछिल्लो समय दमक क्षेत्रका धेरै कार्यक्रममा उनलाई बोलाइने गरेको छ। उनले त्यहाँ प्रस्तुत गरेको प्रस्तुति धेरैले मनपराउने गरेका छन्। उनका नियमित श्रोता महेन्द्र भट्टराई सुदृष्टिको स्वरमा जादू रहेको बताउँछन्। उनी भन्छन्, ‘उनको गायकी पुराना कलाकारको जस्तो छ, उनले सङ्गीतमा निरन्तर लागि परिन् भने भविष्यमा सङ्गीतबाटै केही गर्न सक्ने संभावना मैले देखेको छु।’

अहिले सुदृष्टि आफ्नो पहिलो एल्बम ‘सुदृष्टि’ बजारमा ल्याउन व्यस्त छन्। मोफसलमै बसेर केही गर्ने उद्देश्यका साथ उनी साङ्गीतिक क्षेत्रमा लागेको बताउँछिन्। उनको पहिलो एल्बममा सातवटा गीत समावेश भएको उनले जानकारी दिइन्। यस एल्बममा राष्ट्रिय र आधुनिक गीतहरू समावेश भएको उनले बताइन्। उनका अनुसार यो एल्बम २०७४ सालको बैशाख पहिलो साता बजारमा आउनेछ।

यस एल्बमका गीतहरूमा सङ्गीतकार बीबी अनुरागी, महेश खड्का, विकास चौधरी, साजन राईले सङ्गीत भरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.