विराटनगर : पुरानो साइकलमा एक व्यक्ति विराटनगरको व्यस्त सहरमा डुलिरहेको छ, निकै अघिदेखि। प्लाष्टिकको माई क्लियर ब्यागमा केही कागजपत्र छन् उसका हातमा। पर्चा बोकेको छ त्यसभित्र।
उमेरले पाँच दशक पार गरिसकेको देखिन्छ हेर्दा। यसै पनि विराटनगरको धूलो र गर्मी खपी नसक्नु छ। तर, यिनको जोश र जाँगरमा कुनै कमी छैन।
हो, विराटनगर उपमहानगरपालिका– ४ मा बसोबास गर्दै आएका बलराम थापा आफू भन्दा आफ्नो समूहको आवाज बोल्दै गल्लीगल्ली चहारिरहेका छन्। ‘स्वार्थ सामूहिक छ’, थापाले भने, ‘काम मेरो जस्तो मात्रै भएको छ।’ थापाले अहिले विराटनगरको मात्रै होइन, देशकै साना कुखुरापालक किसानको आवाज बोलिरहेका छन्। कहिले काठमाडौं पुग्छन् उनी त कहिले इटहरी। कहिले विराटनगरका सरोकारवाला निकायको ढोका ढक्ढक्याइरहेका हुन्छन्।
उनको एउटै कुरा छ, कुखुरापालक किसानले लगानीअनुसारको प्रतिफल पाउने व्यवस्था सरकारले गरिदिनुपर्छ। उनको कुरा कसैले सुन्छन्, कसैले उडाउँछन्, कसैले मुख बङ्ग्याएर एकातिर हिँड्छन्। तर अविचलित थापाले आफूलाई किसानको नेता भनाउने राजनीतिक दलको ढोका ढक्ढक्याउन छोडेका छैनन्। अहिलेसम्म के उपलब्धि भयो त? थापाको गुनासो छ, ‘सबैले हो हो भन्छन् गरिदिँदैनन्।’
ब्रोइलरपालक किसानको समस्या विकराल भएको र देश कुखुराको मासुमा आत्मनिर्भर बनेको भाषण नेताले गरिरहेका तर, समस्या के छ नबुझ्ने गरेका थापाको भोगाइ छ। ‘हामीलाई सरकारले लागतअनुसारको मूल्य निर्धारण गरिदिनुपर्यो’, थापा भन्छन्। ०७२ सालदेखि विराटनगरको ४ नम्बर वडामा कुखुरापालन पेशा अँगाल्दै आएका थापाले पोल्ट्री व्यवसायी महासंघ, कुखुरापालक व्यवसायी महासंघदेखि सबैलाई आफू जस्ता किसानको समस्याबारे विभिन्न पत्रपत्रिका र चिठ्ठीपत्रमार्फत पनि जानकारी दिइरहेका छन्। तर, समस्या समाधानका लागि अहिलेसम्म ठोस जवाफ कसैको आउन सकेको छैन।
२०४४ सालमा प्रहरी जवानमा भर्ती भएर २०५९ प्रहरी सहायक निरीक्षक पदबाट अवकाश पाएका थापाको मनमा स्वार्थ छैन, तर केही पोल्ट्री व्यवसायका डिलरहरूले धम्की पनि नदिएका होइनन्। थापाले आफ्नो ‘मिसन’ भने छोडेका छैनन्।
‘०७३ साल वैशाखदेखि विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक गर्दै सम्पूर्ण किसानलाई व्यावसायिक किसान बनाउन, सङ्गठित हुन र हक अधिकारको लडाइँ लड्न सचेतना अभियान चलाउँदै आएको छु’, थापाले भने। एक लाख रूपैयाँ भन्दा बढी नेपालीहरू कुखुरापालन व्यवसायमा आवद्ध भएका छन्। नेपालको मासु बजारलाई आत्मनिर्भर बनाउन अहोरात्र खटिरहेका छन्। तर सरकारको उदासीनता र बिचौलियाको दादागिरीको कारण कुखुरापालक व्यवसायी आफैँ परनिर्भर हुनुपर्ने बाध्यताका कारण त्यो मिसन सफल नहुने हो कि भन्ने थापाको चिन्ता छ। सरकारले जति सक्दो छिटो कुखुरापालकको हितमा नीति तथा कार्यक्रम बनाएर लागू गर्नुपर्नेमा थापाको जोड छ।
‘भारतबाट नेपाल भित्रिने ब्रोइलर कुखुरा रोक्न सरकारले कठोर कदम चाल्नुपर्छ’, थापा भन्छन्, ‘दाना र चल्लाको अधिकतम बिक्री मूल्य तोकिनुपर्छ र तोकिएको मूल्यअनुसार बिक्री भए/नभएको बारे अनुगमन गरिनुपर्छ,’ थापाको माग छ, ‘चल्ला र दानासँगै अन्य कच्चा पदार्थको मूल्यमा भारी वृद्धि भएकोले लागतअनुसार सदावाहर समर्थन मूल्य तोक्न सरकारले सक्रियता देखाउनुपर्छ।’
थापाका अनुसार उत्पादित ब्रोइलर कुखुराको मूल्य तोक्ने अधिकार सरकार या किसानले मात्र पाउने वैधानिक व्यवस्था गरे मात्रै किसानले न्याय पाउँछन्। नत्र बिचौलियाले दानाको, चल्लाको र उत्पादित कुखुराको मासुको पनि मूल्य तोक्दा किसान दिन दुई गुणा रात चौगुणा डुबिरहेका छन्। कुखुरापालनलाई आवश्यक पर्ने दाना र चल्लाको मूल्यमा छुट, सरकारबाट अनुदान उपलब्ध गराउने व्यवस्था गर्नु आवश्यक भएको थापाको भनाइ छ। ‘पशु कार्यालयबाट सम्बन्धित विषयमा निःशुल्क तालिम, व्यवसायलाई बृद्धि गर्न समय समयमा भ्रमणको व्यवस्था गर्नु आवश्यक देखिएको छ’, थापाको भनाइ छ। कुखुरापालनमा मरेका चल्ला र वजन कम भएका कुखुराको क्षति किसानले मात्र व्यहोर्नुपरेको बताउँदै यसका लागि ह्याचरी तथा दाना उद्योगले ५० प्रतिशत जिम्मा लिनुपर्ने नियम बनाउनुपर्नेेमा त्यो नभएको गुनासो उनको छ। एउटा चल्लाको मूल्य अधिकतम २५ रुपैयाँ हुनुपर्नेमा ९० रुपैयाँसम्म तिर्नुपरेको, चल्लाको बीमा कार्यक्रम पनि अनिवार्य नगरिएको कारण आगामी केही वर्षमा नेपालमा कुखुरापालक किसान भेट्टाउन गाह्रो पर्ने थापाको भनाइ छ।
ह्याचरी, दाना उद्योग मिलेर किसानमाथि अघोषित तर एकताबद्ध भएर एक प्रकारको सिण्डिकेट लागू गरिएको उनको धारणा छ। यसका कारण देशभरका किसानले प्रत्यक्ष चल्ला र दाना नपाउने कारण बाध्य भएर दाना डिलरकहाँ जानुपर्ने अवस्था सृजना भएको र कुखुरापालकले दाना डिलरको गोठालो जस्तै भएर काम गर्नुपर्ने अवस्था रहेको थापा बताउँछन्। उनीहरूले गरेको लगानी जसरी पनि उठाउने तर किसानहरू रित्तो हात खट्नुपर्ने बाध्यात्मक अवस्था निर्माण गरिएकाले सबै दाना डिलरलाई सरकारले निश्चित मापदण्ड बनाई कति प्रतिशत मुनाफा दिने हो ? स्पष्ट तोकी किसानले पनि आपूmले गरेको लगानीको अवस्था सुरक्षित गरिदिनु आवश्यक भएको उनको बुझाइ छ। ‘कुखुराको बीमा, दाना आदिमा सहुलियतको व्यवस्था गरिदिए किसानको जीवनस्तरमा सुधार आउने निश्चित छ’, थापा भन्छन्।
यस्तो विषम अवस्थामा कुखुरापालक किसानहरूका सामूहिक समस्यालाई थापाले महसुस गरेर सार्वजनिक गर्दै असङ्गठित अवस्थामा रहेका किसानमा गइरहेका छन्। देशलाई आर्थिक समृद्धितर्फ डोहोर्याउने जो कोही किसान र व्यवसायीले सुरक्षित लगानी गर्ने र उत्पादित वस्तुको बजारको सुनिश्चितता खोजिरहेको थापाको भनाइ छ। सरकारमा बसेका माथिल्लो निकायमा रहेका मानिसहरूले पनि यस्तो अभियानमा लागेका किसानलाई प्रोत्साहित गर्न जायज माग पूरा गर्नु जरुरी भएको उनको भनाइ छ। लाखौँ युवा विदेसिइरहेको अवस्थालाई रोक्न पनि साना लगानीमा संचालित थापाको जस्तो पोल्ट्री व्यवसायको सुरक्षा, प्रोत्साहन र बजार व्यवस्थापन गर्नु आवश्यक रहेको स्थानीय बताउँछन्।
थापाको अर्को पाटो
१६ वर्ष प्रहरीको जागिर खाएर अवकास भएसँगै थापा मलेसिया हान्निए। मलेसियामा रहँदा थापाले थुप्रै नेपाली र नेपालमा आवद्ध प्रतिभाको सम्मानमा सहयोग गरे। भूकम्पको बेलामा सहयोग गरे, रोगीको उपचारमा सहयोग गरे र रोजगारीमा गएर समस्यामा परेका नेपाली चेलीहरूको उद्धार गरे। प्रवासी नेपाली मजदुर युनियनमार्फत थापाकै नेतृत्वमा साहित्यकार झमक घिमिरेलाई एक लाख ३६ हजार २४० रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरियो। यो पुरस्कार घिमिरेले पाएमध्येको तेस्रो ठूलो पुरस्कार हो।
यस्तै थापाले मलेसियामा कामकै सिलसिलामा रहेको बेला २०६८ सालको भूकम्पबाट पीडितहरूका लागि भनेर मलेसियामै देउसीभैलो कार्यक्रम गरे। त्यसबाट ५० हजार रुपैयाँ सङ्कलन गरेर नेपाल पठाए। समाजसेवी डा. महावीर पुनमार्फत पोखरामा संचालित दृष्टिबिहीनहरूका लागि कम्प्युटर शिक्षा अभियानलाई मलेसियामै रहेको बेला नेतृत्वदायी भूमिका खेल्दै एक रिङ्गेट अभियान थापाले संचालन गरे। यसबाट ८७ हजार नेपाली रुपैयाँ सङ्कलन गरी प्रदान गरे।
भ्रष्टाचारविरोधी काम गर्न भन्दै मलेसियामै रहेको बेला ‘नेपाली एक होऔँ, भ्रष्टाचारीलाई जेल होइन, फासी दिऔँ’ भन्ने नाराका साथ थापाले अभियान चलाए। रोल्पाका गरिब तथा अशक्त बिरामी यमबहादुर गुरुङलाई नेपाल पठाउन मलेसियामा रहँदा ३२ हजार नेपाली रुपैयाँ सहयोग सङ्कलन गरी हस्तान्तरणसमेत गरे।
०७२ सालदेखि पोल्ट्री व्यवसायमा छिरेका उनी लगातार साना कुखुरापालक किसानको हितमा अभियान छेड्दै आइरहेका छन्। जहाँ भए पनि, जसरी भए पनि समस्यादेखि नडराउने र समस्यासँग भिड्ने स्वभाव भएका थापा अहिले पनि आम कुखुरापालक साना किसानको समस्या समाधानका लागि अनवरत लागिरहेका छन्। पञ्चायती समयदेखि राजाको शासनकालमा पनि प्रहरी सङ्गठनमा भएका अन्याय अत्याचारको विरुद्धमा भित्र र बाहिर सङ्घर्ष गर्दै समाचार तथा लेखहरू प्रकाशन गरिरहने थापासँग कुखुरापालन सम्बन्धी देशका ठूला योजनाविद्को जत्तिकै ज्ञान छ, उत्साह छ र जाँगर छ। त्यही भएर उनी साइकलमा एक्लै दौडिरहेका छन्, किसानलाई जागरुक बनाउँदै छन्, राजनीतिक दललाई झक्झक्याउँदै छन् र सरकारी निकायलाई खबरदारी गर्दैछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।