|
भेडेटारमा परेको हिउँ

विराटनगर : सोमबार पूर्वका धेरै जिल्लामा असिनासहितको वर्षा भएको छ। धनकुटाको भेडेटार लगायतका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। वैशाखमा पर्नुपर्ने पानी चैतको सुरुमै आउनु त्यति लाभदायक नभएको वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए। ‘अहिले परेको पानी अम्लीय पानी हो, यसले जीव जनावरदेखि माटोलाई पनि असर गरेको छ,’ अधिकारीले भने, ‘हिउँद सकिएपछि पर्नु पर्ने पानी त्यसअघि नै पर्नु राम्रो होइन।’

सुख्खा र धूलोमय मौसमलाई सफा बनाउन अहिलेको पानीले भूमिका निर्वाह गरे पनि पर्याप्त आकाश नगर्जी आएको पानीमा बढी अम्लीयपना हुने अधिकारीले बताए। ‘हिउँद सकिएपछि पहिलो पटक पानी पर्दा हावामा पर्याप्त नाइट्रोजन हुन्छ, उक्त नाइट्रोजनलाई गड्याङ–गुडुङले नाइट्रेडमा परिवर्तन गर्छ, अम्लीयपन हटाउँछ र जमिन मलिलो बनाउँछ,’ अधिकारीले भने, ‘तर, यस पटक परेको पानीमा पर्याप्त आकाश नगर्जेका कारण सोझै अम्लसहितको पानी परेको छ, पानीमा जीवजन्तु वा मानिस भिज्ने या रमाउने गर्नु हानिकारक छ।’

यो पटक चैत सकिएपछि आउनुपर्ने पानी चैतमै आएको कारण हिउँदे वर्षा र मौसमी वर्षा दुवै नभएको अधिकारीको दाबी छ। ‘नियमित चक्र अनुसारको अहिलेको पानी होइन, यो जलवायु परिवर्तनको असर हो,’ उनले भने, ‘फागुन चैत सकिएर एकैपटक वैशाखमा परेजस्तो अहिले असिना पानी परेको छ।’ यद्यपी सुख्खा र धूलोमय जमिनलाई भने केही राहत पानीले दिने उनले बताए।

पानीले पूर्वी पहाडी जिल्लामो सुख्खालाई केही राहत दिएको भएपनि तराई क्षेत्रमा पाकेको गहुँलाई भने असर गर्ने पूर्व क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका वरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीले बताए। ‘अहिलेको पानीले पाकेको गहुँलाई असर गरेको छ,’ उप्रेतीले भने, ‘पाकेको गहुँमा बढी पानी परे बिउको समस्या हुन सक्छ।’ अन्य बालीका लागि भने अहिलेको पानी उपयुक्त नै भएको उनले बताए।

पहाडी क्षेत्रमा लगाएको मकै या तराईमा रोप्न लागिएको चैते धानका लागि अहिलेको पानी राम्रो भएको उप्रेतीले बताए। ‘अत्याधिक असीना–पानी पर्नु असर भए पनि ठिक्क परे अहिले राम्रै हुन्छ,’ उप्रेतीले भने, ‘किसानका लागि अहिले लाभदायक नै भयो।’

 यद्यपी मौसमी विज्ञानको हिसावले चक्रिय नियम अनुसार भने पानी केही छिटो परेको उनले बताए। पहाडी इलाकामा असिना पानीले तरकारी बालीलाई भने असर गरेको हुनसक्ने तर, फलफूल आँपलाई भने राम्रो गरेको उहाँले बताए।

मोरङ केरौनका किसान अभिनारायण लुइँटेलले अहिलेको पानीले किसानलाई राहत मिलेको बताए। ‘वातावरण या मौसमको कुरा हामीलाई थाहा छैन तर पानीले खेती किसानी गर्नेलाई राम्रो गरेको छ’, लुइँटेलले भने, ‘सुख्खाले चैते धान रोप्न समस्या पर्दै थियो, अहिलेको पानीले राहत दिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.