|

काठमाडौं : पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ। 

पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त वायुको प्रभावले देशका अधिकांश भेगमा बदली गराउनाका साथै काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ। 

तीन दिनदेखि अवरुद्ध मौसम मङ्गलबारदेखि सुधारमा आउने मौसमविद समिर श्रेष्ठले जानकारी दिए। महाशाखाका अनुसार सोमबार खासगरी देशका पूर्वी तराई भेगमा बाक्लो बादल तथा चट्याङसहितको वर्षात् भएको तथा केही पहाडी जिल्लामा बदली भएको छ।

त्यस्तै पश्चिमका नवलपरासीलगायत क्षेत्रमा हल्का वर्षा भएको छ। मनसुनपूर्वको मौसम भएकाले पनि मौसम बदली र हल्का वर्षाको सङ्केत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ। सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.