|

कपिलवस्तु : सदरमुकाम तौलिहवा–गोरुसिंगे सडक खण्ड अन्तर्गत ढेकरी नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो ३ बजे भएको उक्त दुर्घटनामा कपिलवस्तु नगरपालिका ४ बस्ने ४२ वर्षका कार चालक प्रमोदराज शर्माको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका कृष्ण गुप्ता घाइते भएका छन्। सडक निर्माणको क्रममा राखिएको मसिनो गिट्टीमा चिप्लिएर कार अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो।

सडक कालोपत्रे गर्ने क्रममा प्रयोग गरिएको मसिनो गिट्टीका कारण गाडी अनियन्त्रित भई बा ५ च ६८०२ नम्बरको कार दुर्घटना भएको प्रहरिले बताएको छ। शर्माको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। डिबिएसटी प्रविधिबाट निर्माण गरिएको उक्त सडकको कार्य सम्पन्नपछि गिट्टी नहटाउदा दैनिक गम्भीर प्रकृतिका दुर्घटना भइरहेका छन्।

गत शुक्रबार मात्रै बा १३ च ८८२४ नम्बरको कार दुर्घटनामा परेको थियो। यसैगरी बुधबार एउटा ट्रिपर पनि गिट्टीकै कारण चिप्लिएर दुर्घटना भएको थियो। स्थानीय यातायात व्यवसायी तथा सर्वसाधारणले बाँकी रहेको गिट्टी (जिरा) सडकबाट हटाउन माग गरेपनि डिभिजन सडक कार्यालय कपिलबस्तुले वेवास्ता गरेको गुनासो गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.