|

  • रमेश रावल-

कालिकोट : कालिकोटका महिलाहरु अहिले सामाजिक जागरणमा लाग्ने गरेका छन्। पुरुषहरुले समाजमा बसेर जाँडरक्सी खाने हल्ला गर्नेलगायत गर्न थालेपछि महिलाहरु पुरुषका त्यस्ता क्रियाकलापमा सुधार ल्याउन सामाजिक अभियानमा लाग्ने गरेका हुन्।

कालिकोटका महिलाहरुले गाउँमा सरसफाइ, स्वच्छ खानेपानी धारा र मदिरा नियन्त्रणको अभियानसमेत थालेका छन्। सामाजिक, आर्थिक, विकास, समाजमा रहेका विकृति र विसंगतिविरुद्ध उत्रेका महिलाहरुलाई अहिले गाउँघरमा बिगार्ने पुरुष, सपार्ने महिला भन्ने नारासमेत लाग्ने गरेको छ।

मदिरा नियन्त्रण अभियानमा महिला

गाउँमा पुरुषहरुले मदिरा खाएर हो–हल्ला गर्ने र महिलाहरुलाई कुटपिट लगायत घरेलु हिंसाका घटना बढ्न थालेपछि गेला गाविसका महिलाहरुले मदिरा नियन्त्रणको अभियान थालेका छन्। गाउँमा नै अवैध मदिरा पाउन थालेपछि महिला हिंसाका घटनामा वृद्धि भएको भन्दै घरेलु मदिरा बन्द गर्ने अभियान सञ्चालन गरेका हुन्। महिलाहरुले गाउँमा मदिराकै कारण घरेलु हिंसा बढेको निष्कर्ष निकाल्दै प्रहरीसँग मिलेर अवैध घरेलु मदिरा उत्पादन रोक्ने अभियान थालेका हुन्।

मदिराले आर्थिक अवस्था कमजोर हुँदै जाने, सामाजिक मान प्रतिष्ठामा आँच आउने, घरेलु हिंसाका घटना र सामाजिक विकृति बढ्ने भएकाले यो अभियान थालेका गेला ७ कि जलसा परियारले बताइन्।

‘मदिराले पैसाका नास गर्नुका साथै सामाजिक विकृति पनि व्यापक हुन थाल्यो।’ उनले भनिन्, ‘यसलाई रोक्न अभियान थालेका हौं।’

गाउँ घरमा कच्ची अवैध मदिरा उत्पादन गर्नेको पहिचान गरेर पहिला घरेलु मदिरा उत्पादन नगर्न र आग्रह गर्दै अभियान सञ्चालन गरेको अहिले बन्द गर्ने कसैले मदिरा पिएमा कारबाही गर्ने सम्मको अभियान सुरु गरिएको स्थानीय कमला शाहीले बताइन्। ‘पहिला हामीले गाउँमा मदिरा उत्पादन गर्ने र बेच्नेको पहिचान गर्यौं।’ उनले भनिन्, ‘त्यसपछि मदिरा पिउनेलाई पनि कारबाही गर्ने सम्मको अभियान थालेका छौं।’

अभियान सञ्चालन गर्दा एक सय घरधुरीमा अवैध मदिरा उत्पादन हुने गरेको तथ्यांक निकालेर पहिले प्रहरी चौकी पादमगाडमा महिलाहरुले अवैध मदिरा बन्द गरी पाऊँ भनेर उजुरीसमेत दिएको त्यसले नियन्त्रण हुन नसकेपछि अभियान थालेको कमलाले बताइन्।

‘प्रहरीलाई खबर गर्दा पनि कसैले चासो दिएन।’ उनले भनिन्, ‘गाउँकै महिलाहरु सक्रिय भएर आमा समूहको अगुवाइमा अवैध मदिरा बनाउन प्रयोग गरिने भाँरडा नष्ट गरिएको छ।’ उनले भनिन्, ‘सबै महिलाहरुको एकजुट भए सबै काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।’

गाउँ–गाउँमा अवैध मदिरा नियन्त्रण गर्न महिलाहरुले सक्रिय अभियान थालेको त्यसका प्रहरीले सहयोग गर्दै आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

महिलाहरुले मदिरा नियन्त्रणको अभियान थालेपछि अहिले गाउँ शान्त रहेको पुरुषहरुले पैसा बचत गर्ने लगायतका अन्य काम गर्न थालेको गेला गाविस–१ का वसन्तबहादुर शाहीले बताए।

‘पहिला यहाँका पुरुषहरुले जाँडरक्सी खाने गाउँ घरमा झगडा मात्र गर्ने गर्थे अहिले गाउँमा शान्त र सुन्दर वातावरण बनेको छ’ उनले भने।

गाउँ स्वच्छ राख्न सरसफाइ पसल

गाउँका महिलाहरु नै मिलेर बनाएको दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले सरसफाइ पसल सञ्चालनमा ल्याएको छ। घर व्यवहारका सबै काम महिलाहरुले गर्नुपर्ने भएका कारणले आपूmहरुले पहिलो प्राथमिकतामा राखेर सरसफाइ पसल सञ्चालनमा ल्याएको महिलाहरुको भनाइ छ।

सरसफाइ पसलमा स्वच्छ खानेपानीका लागि फिल्टर, चर्पीमा प्रयोग हुने समान, साबुन, खाद्यान्न लगायतका समान राखिएका छन्। घर व्यवहारको सबै काम महिलाहरूले गर्नुपर्ने घर व्यवहारमा काम गर्दा निस्कने फाहोर र सफा राख्नका लागि सरसफाइ पसल सञ्चालनमा ल्याएको स्थानीय राजु शाहीले बताइन्। ‘घरको सबै काम महिलाले गर्नुपर्छ।’ उनले भनिन्,‘सरसफाइको काम गर्ने पनि काम महिलाको नै छ। त्यसैले गाउँको सरसफाइ कायम राख्न सरसफाइ पसल सञ्चालनमा ल्याएका छौं।’

सरसफाइ पसलबाट हुने आम्दानी पनि त्यो महिला समूहका सबै जनाको हुने गरेको छ। भएको आम्दानीबाट स्थानीय सबै कसलाई ऋण दिने नदिने भनेर समूहका महिला नै मिलेर निर्णय लिने गरेका छन्।

कर्णाली अञ्चलमा प्रायः घर व्यवहारको जिम्मा महिलाको हुन्छ। त्यसैकारणले गर्दा दाहाँ गाविसका महिलाहरु मेलापातको काम गर्न जाँदा घरआँगन सरसफाइमा समस्या हुने गरेको थियो।

यहाँका पुरुषहरुले घर व्यवहारको काम नगर्ने र फोहोर मात्र थुपार्ने भएपछि दाहाँ गाविसको मोल्फा बजारमा गाउँका महिला मिलेर सरसफाइ पसल सञ्चालनमा ल्याएका हुन्। जसले गाउँघरको सरसफाइ अभियानमा टेवा दिने त्यहाँका महिलाहरुको धारणा छ।

गाउँमा अत्यधिक फोहोर हुने र घर व्यवहार लगायतका सबै काम महिलाहरुले नै गर्नुपर्ने भएका कारणले महिलाहरुले पसल सञ्चालनमा ल्याएका हुन्।

गाउँमा फोहोर हुने गाउँलाई सरसफाइयुक्त बनाउनका लागि सरसफाइ पसल सञ्चालनमा ल्याएको दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मर्मसरा शाहीले बताइन्। ‘हामी महिलाहरु मिलेर गाउँमा महिलालाई उद्यमी बनाउने सहकारी गठन गरेका हौं।’ उनले भनिन्, ‘हामीले गाउँलाई सरसफाइयुक्त बनाउनका लागि सरसफाइ पसल पनि सञ्चालनमा ल्याएका हौं।’

सरसफाइ पसल सञ्चालनको आम्दानी दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्थामा बचत हुने र त्यो रकम अरु महिलाहरुको उद्यमशिलतामा खर्च गर्ने गरिएको संस्थाका कोषाध्यक्ष बेलसरा विकले बताइन्। ‘पसलको सम्पूर्ण आम्दानी सहकारीमा जम्मा हुन्छ।’ उनले भनिन्, ‘त्यो आम्दानीले अरु महिलाहरुलाई उद्यमशिलतामा लगाउन ऋण दिने गरेका छौं।’

वि.सं. २०७२ सालमा गाउँका ३० जना महिला मिलेर गठन गरिएको संस्थामा अहिले ४ सय २० जना महिला सदस्य रहेको संस्थाका अध्यक्ष शाहीले बताइन्। ‘गाउँमा ३० जना महिला मिलेर महिलालाई उद्यमशिलतामा लैजान संस्थाको गठन गरेका थियौं।’ उनले भनिन्,‘अहिले संस्थामा ४ सय २० जना महिला रहेका छन्।’

दीपज्योति महिला बचत तथा ऋण सहकारी संस्थामा गाउँमा महिलाहरुले मासिक १ सय रुपैयाँ बचत गर्ने गरेको र सदस्यले बचत गरेको ब्याज ९ प्रतिशत र ऋण लिएका ६ प्रतिशत ब्याज दिने गरिएको अध्यक्ष शाहीले बताइन्।

सहकारी गठन गरेर महिलालाई उद्यमशिलता र गाउँको विकास सरसफाइ लगायतका क्षेत्रमा आपूmले काम गरिरहेको सहकारी सदस्य रत्नरुपा शाहीले बताइन्। ‘हामीले गाउँको विकास लागि पनि सहकारी गठन गरेको हौं।’ उनले भनिन्, ‘त्यसैले गाउँमा नै सरसफाइ पसल सञ्चालनमा ल्याएका छौं।’

महिलाहरुले सहकारीको माध्यमबाट दाहाँ गाविसलाई यसै वर्षमा गाउँलाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गर्ने तयारी गरिएको कोषाध्यक्ष विकले बताइन्। ‘हामी महिलाहरु मिलेर नै गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउन लागेका छौं।’ उनले भनिन्, ‘गाउँमा पुरुषभन्दा हामी अघि सरेनौं भने सुन्दर गाउँको कल्पना पनि हुँदैन।’

गाउँका महिलाहरुलो गाउँको विकास आर्थिक आम्दानीको वृद्धि गर्नका लागि सहकारीमार्फत निकै राम्रा काम गर्न थालेको महिला तथा बालबालिका कार्यालय कालिकोट प्रमुख सीता थापा मगरले बताइन्। ‘ग्रामीण इलाका महिलाहरुले अहिले सामूहिक काममार्फत आयआर्जनका क्रियाकलाप गर्न थालेका छन्।’ उनले भनिन्, ‘गाउँको विकासका लागि योगदान गर्ने कामसमेत गरेका छन्।’

गाउँमा महिलाहरुले सरसफाइ पसल र आय आर्जनका काम गर्न थालेपछि पुरुषहरु पनि अहिले सकरात्मक बनेर महिलाहरुलाई साथ दिन थालेको स्थानीय मनसिंह शाहीले बताए।

धारा बनाउन महिलाको सक्रियता

जिल्लामा राँचुली गाविसको गाउँका वडा नं. ६, ७, ८ र ९ वडाका सबै घरमा धारा अनिवार्य गरिएको छ। गाउँलाई पूर्ण सरसफाइ बनाउनका लागि खानेपानीका धारा अनिवार्य गरिएको छ। गाउँलाई अनिवार्य धाराको नियम महिलाहरुले नै बनाएका हुन्। महिलाहरुले नै घर व्यवहारमा पानीको जोहो गर्नुपर्ने भएका कारणले घर–घर अनिवार्य धारा निर्माण महिलाहरुले अग्रणी भूमिका खेलेका छन्।

विगतमा गाउँमा खानेपानीको अभाव रहेको राँचुली गाउँमा हिमाली स्रोतहरुको दिगो व्यवस्थापनको सहयोगमा हुरन्डेक कालिकोटको सहजीकरणमा ‘एक घर एक धारा’ नारा तय गरेर महिलाहरुको अगुवाइमा घर घरमा धारा निर्माण गरिएको छ।

राँचुली गाउँमा रहेका १ सय ८३ धरधुरीमा दलितका ४३ घरधुरीमा अन्य ठकुरीका घरधुरी रहेको छन्। घर–घरमा धारा अनिवार्य नारामा महिलाहरुले पहिलो भूमिका खेलेका र महिलाहरुले नै घरमा धारा र खानेपानीका फिल्टर राखिएको स्थानीय ऐनबहादुर शाहीले बताए। ‘गाउँलाई सरसफाइ नमुना गाउँ बनाउन अनिवार्य घरमा खानेपानीको धारा बनाइएको छ।’ उनले भने, ‘यसले गाउँमा खानेपानीको समस्यासमेत समाधान भएको छ। यसमा महिलाहरुले नै पहिलो भूमिका खेलेका छन्।’

कर्णाली अञ्चलमा नै पहिलो पटक राँचुली गाउँलाई खानेपानी, सरसफाइको नमुना गाउँ बनाउन स्थानीय महिलाहरुले पहल चालेको त्यसमा आफुहरुले सहजीकरणको भूमिका खेलेको हुरन्डेक कालिकोटका उपाध्यक्ष वीरेन्द्रबहादुर बुढाले बताए।

‘गाउँले महिलाहरुको राँचुली खानेपानी र सरसफाइमा नमुना गाउँमा विकास गर्ने योजना ल्याए।’ उनले भने,‘महिलाहरुको मागलाई आपूmहरुले सहजीकरण गर्दा अहिले गाउँका प्रत्येक घरमा धारा जडान भएका छन्।’

गाउँमा खानेपानी समस्या समधान भएको गाउँलाई फोहोरमुक्त बनाउन प्रत्येक घरमा खाल्डोको व्यवस्था गरिएको स्थानीय नन्दबहादुर शाहीले बताए। ‘गाउँलाई नमुनायोग्य बनाउन लागि हामीले धेरै प्रयास गरेका छौं।’ उनले भने, ‘हामीले यो गाउँलाई नमुना गाउँका रुपमा विकास गर्न चाहन्छौं।’

विगतमा गाउँमा जनघनत्व निकै बाक्लो भएका कारणले फाहोर हुने गरेको खानेपानीको समस्या रहेको अहिले गाउँ निकै सफासुग्घर रहेको गाविस सचिव कल्पना थापाले बताइन्। ‘सबै कुरा गर्न सक्यो भने असम्भव भन्ने केही रहेनछ।’ उनले भनिन्, ‘गाउँलेहरुको इच्छाले गर्दा अहिले गाउँ निकै सफा भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.