विचार

नेपाल-भारत सम्बन्धमा दुवै देशको बराबर जिम्मेवारी
SHARES

चैत ८, २०७३

    भारत नेपालको दक्षिणमा पर्ने एक महान मित्र राष्ट्र हो। नेपाल र भारतबीच युगौँदेखि धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, सामाजिक सम्बन्ध रहँदै आएको छ। यस सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले असंलग्न र शान्तिपूर्ण सहअस्तित्वमा आधारित नेपालको परराष्ट्रनीतिको आधारबाट सन् १९४७ जुन १३ मा दुवै देशबीच दौँत्य सम्बन्ध कायम भएको हो।

    आतङ्ककारीको आफ्नो भन्ने केही हुँदैन। उसको देश, धर्म, जात केही नभएकै कारण जुनबेला पनि घटना घटाउन सक्छ। यस्तो समस्या समाधान गर्नका लागि दुवै देशका सरकार, प्रशासनले आपसमा सल्लाह गरी कुनै ठोस र प्रभावकारी कदम चाल्नुपर्दछ।

    भारतले नेपालको तीनतिरको भूभागलाई घेरेको छ। नेपालको पूर्व, पश्चिम र दक्षिणको समथर तराई क्षेत्रको सिमाना करिब १८ सय ८० किलोमिटर रहेको छ। नेपाल र  भारतबीच आवतजावतका लागि खुला सिमाना भए तापनि औपचारिक तवरले मालसमान ओसार–पसार गर्न र यात्रु तथा स्थानीय बासिन्दा ओहोर–दोहोर गर्न एक सय ५९ नाका खुला गरिएका छन्।

    साधु–सन्त, विद्यार्थी, तीर्थालुलगायत आम सर्वसाधारणलाई समेत  खुला सीमानाको उपयोग गर्न सजिलो भएको छ। कहिलेकाहीँ खुला सिमानाको फाइदा लिँदै गलत नियत भएकाहरूले खुला सिमानाको दुरूपयोग गर्ने गर्दछन्। त्यस्ता खुला सिमानाको दुरूपयोग गर्नेहरूलाई दुवै देशका प्रशासन र जनता मिलेर हटाउनुपर्दछ। त्यस्ता चोर, डाका, तस्कर, आतङ्ककारी दुवै देशका शत्रु हुन्। दुवै देशका साझा समस्या पनि हुन् यी। आतङ्ककारीको आफ्नो भन्ने केही हुँदैन। उसको देश, धर्म, जात केही नभएकै कारण जुनबेला पनि घटना घटाउन सक्छ। यस्तो समस्या समाधान गर्नका लागि दुवै देशका सरकार, प्रशासनले आपसमा सल्लाह गरी कुनै ठोस र प्रभावकारी कदम चाल्नुपर्दछ। यस्ता साझा समस्यालाई दुवै देशले समाधान गर्दै जानुपर्दछ।नेपालको पश्चिम दार्चुला जिल्लाको छाडरुव्यास नाका पर्दछ भने भारतको पिथौरागढको गव्र्याङ नाकादेखि नेपालको पूर्वी जिल्ला ताप्लेजुङको खाङ्ला भन्ज्याङ तथा भारतको सिक्किमसम्म रहेका जम्मा एक सय ५९ नाका औपचारिक तवरले खुला छन्। नागरिक आवागमनका दृष्टिले नेपाल–भारत सीमा अन्तर्राष्ट्रिय सीमा हो भन्ने अनुभव कसैले गर्दैन। जो पनि स्वतन्त्र तवरले आउन–जान सक्छ।

    सीमा क्षेत्र खुला भएकै कारण दुवै देशका बेरोजगार युवाहरू रोजगारीको खोजीमा एक अर्को देशमा गएका पाइन्छ। लाखौँ नेपाली युवायुवती  रोजगारीको खोजीमा सीमापारि भारततर्फ पुगेका छन् भने त्यत्तिकै मात्रामा  भारतीयहरू पनि नेपाल पसेका छन्।

    नेपाल–भारत सम्बन्ध बुझ्न हामीले दुई देशको इतिहास बुझ्नु जरुरी देखिन्छ। विश्वका अतिप्राचीन मुलुक नेपाल र भारतको  उत्पत्ति पाँच हजार वर्ष पहिले भएको मानिन्छ। संसारका प्राचीनतम मानव सभ्यताहरूको एक ऐतिहासिक धरोहरका रूपमा भारत विश्वमा प्रख्यात छ। साथै जनसङ्ख्यामा विश्वमै दोस्रो ठूलो देश भारत वर्तमान विश्वको एक उदीयमान शक्तिको रूपमा स्थापित हुँदै छ। नेपालसँग भारतको लामो र गहिरो ऐतिहासिक सम्बन्ध र महत्त्व रहिआएको छ।

    अबका दिनमा पनि शान्ति र मित्रताको आधारमा नेपाल र भारतको सम्बन्ध रहँदै जानुपर्छ, यसका लागि दुवै देशले समानता, सहअस्तित्व र स्वाभिमानका लागि एकअर्कालाई सम्मानपूर्ण व्यवहार गर्नु आवश्यक छ।

    मित्र राष्ट्र गणतन्त्र भारत नेपालको अत्यन्तै नजिकको मित्र देश हो। शैक्षिक, सामाजिक, सांस्कृतिक र धार्मिक अनेक प्रकारका सम्बन्धहरूले हामीलाई परस्परमा बाँधेका छन्। यी सम्बन्धहरू दुवै देशको अस्तित्व भएदेखि नै रहँदै आएका हुन्। दुवै देशबीच ‘नानी र पानी’को सम्बन्ध परापूर्वकालदेखि रहँदै आएको हो। वैदिककालदेखि आधुनिककालसम्म दुवै देशबीच छोरी–बेटी लेनदेन हुँदै आएको पनि छ।

    एसिया महाद्विपको भूगोलले नै नेपालको भारतसँग सहअस्तित्व जोडिएको छ।  भारतसँगको मित्रतामा पारस्परिक समानता र सम्मानपूर्ण व्यवहार तथा सहअस्तित्वलाई भौगोलिक वरदान मान्न सकिन्छ। कहिलेकाहीँ सामान्य कुराले पनि दुवै देशबीच शंका, सन्देह र असमझदारी पैदा हुँदा भौगोलिक निकटतालाई अभिसापको रूपमा लिनुपर्ने अवस्था पनि आउन सक्छ। यस कारण यस कुरामा नेपाल तथा भारत दुवै राष्ट्र सतर्क रहनु आवश्यक हुन्छ।

    नेपालले कहिल्यै पनि र कस्तै अवस्थामा पनि भारतको अहित चिताएर कुनै काम गर्न सक्दैन। भारतले पनि नेपालको अहित चिताउने कुरै आउँदैन। एक देशको समस्या दुवै देशको समस्या हुन सक्छ। साझा समस्यालाई दुवै देशको पहलबाट समाधान गर्न सकिन्छ। नेपालको उत्तिकै महत्त्वका अरू छिमेकी मुलुक भए तापनि धार्मिक, सांस्कृतिक, भाषिक र भौगोलिक समानताका कारण नेपाल र भारतबीचको सम्बन्ध युगौँदेखि महत्त्वपूर्ण र निकट रहँदै आएको हो। अबका दिनमा पनि शान्ति र मित्रताको आधारमा नेपाल र भारतको सम्बन्ध रहँदै जानुपर्छ, यसका लागि दुवै देशले समानता, सहअस्तित्व र स्वाभिमानका लागि एकअर्कालाई सम्मानपूर्ण व्यवहार गर्नु आवश्यक छ।

बंशीकुमार शर्मा

शर्मा दाङमा बसेर पत्रकारिता गर्छन्।
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]