|

यो यस्तो उर्बर भूमि हो, धर्ती हो, माटो हो, जसलाई हामीले ठाउँमा भएर पनि चिन्न सकेनौँ। जसले चिनेका छन्, बुझेका छन्, जानेका छन् तर विडम्बना, ती निर्णायक ठाउँमा छैनन्! अरूहरूले कृत्रिम वा बनावटी रूपमा बनाउनुपर्छ, हाम्रोमा प्रकृतिले नै बनाइदिएको छ। अरू बुद्धि खेलाएर नयाँ संरचना निर्माण गर्छन्, हामी कुबुद्धि लगाएर भएको पनि सिध्याउँछौँ। त्यसैले अहिले पनि हामी देश बनेन भनी बिलौना पोखिरहेका छौँ।

के छैन हामीसँग? के हामी तन्नम नै हौँ? हाम्रो पहिचान हरिकङ्गाल नै हो? एक पटक खोतलौँ, सक्कली कुरा के हो? हामीसँग नालापानीदेखि सिन्धुलीगढीसम्मको गर्विलो इतिहास छ। अरनिको कलाकारिताको चीनमा अहिले पनि चर्चा छ। मानदेव र पृथ्वीनारायण शाह, वीपी कोइरालासम्मले अवलम्बन गरेको कूटनीतिको विशेष कथा छ। सानै देश भए पनि केही राणा प्रधानमन्त्रीले आफू पनि तिमीहरू सरह नै राजा भएको भनी विदेशीलाई पढाएको पाठ सम्झनलायक छन्।

राणा र पञ्चायती शासन–व्यवस्थाको हिसाबकिताब नगर्ने हो भने नेपाल राजनीतिक अस्थिरता उत्पादन गर्ने मुलुक हो भन्नुमा अन्यथा नहोला। लाग्छ, हाम्रो भाग्यमा पूरा अवधि कुनै पनि सरकार टिकेको हेर्न लेखेको छैन!

प्राकृतिक छटाको कुरा गर्दा तिलस्मी कथा सुनाएजस्तो हुन्छ।  विराटनगर, धरान, भेडेटार र पाख्रीबासको यात्रा। गर्मीले आकुलव्याकुल मौसम (चैत-जेठ) मा एउटा पर्यटकलाई विराटनगरको गर्मीमा चिसो पिलाउँदै डल्याऊँँ, अनि हुँइक्याएर धराने सौन्दर्यको स्वाद चखाउँदै धनकुटास्थित भेडेटारमा उतारी मजासँग सितन राखेर तोङ्बा चखाऔँ, बादलसँग लुकामारी खेल्न लगाऔँ, त्यसपछि पाख्रीबास ओरालौँ। छिनछिनमा रूप बदलिरहने ककनीको मौसमबाट विदुर÷देवीघाटको गर्मी तथा हेटौँडा, दामन र पालुङको मौसमसँग खेल्ने अवसर दिलाऔँ! यात्रा दूरी नापौँ- विराटनगरबाट धरान २०÷२२ किमी, धरानबाट भेडेटार १५÷१६ किमी अनि भेडेटार—पाख्रीबास ३६ किमी हाराहारी, यस्तै हो। ककनीबाट २०÷२२ किमीमा विदुर÷देवीघाट त्यसपछि ५० किमीको हाराहारीमा धुन्चे अनि रसुवागढी! यस्तो प्राकृतिक सौन्दर्य अन्त कहाँ होला!

अब साथमा रहेको पर्यटकलाई जिस्क्याऊँ- कस्तो लाग्यो साथी जिन्दगीको नेपाल यात्रा? कन्जुस्याइँ गर्दागर्दै पनि उसले यतिचाहिँ पक्कै पनि खुस्काउँछ— वाफ रे वाफ, तिम्रो देशमा १५ मिनेटदेखि दुई/अढाई घण्टाको अन्तरालमा यतिबिघ्न मौसम! पोखरेली ताल, रारा ताल, इलामे चिया, सौन्दर्य आदिको हिसाब बाँकी नै छ। विश्वका १४ उच्च हिमशृङ्खलामध्ये सर्वोच्च शिखर सगरमाथसहित दशवटा हाम्रैमा छन् भन्दा उसको प्रतिक्रिया के होला? कल्पना गरौँ।

पहिलो नेपाली वैज्ञानिक गेहेन्द्र शमशेरदेखि, एसिया अँध्यारो हुँदा नेपालमा बत्ती बलेको, सन् १९९० पूर्व नेपालबाट निर्यात हुने धानको कथा! तन्काउँदै जाने हो भने यो सूची निकै लामो हुन्छ तर पनि देश तन्नम मानिन्छ। सुनको थाल बोकेर मगन्तनारायण बनिरहेको छ देश। अब घोत्लौँ किन कोरल्न सकेन मुलुकले विकासे अण्डा? 

सन् १९६० सम्म तन्नम मुलुक सिङ्गापुरलाई ली क्वान युले कहाँ पुर्याए? ७० को दशकमा महाथिर मोहम्मदले मलेसियाको अनुहार कस्तो बनाए? २० औँ शताब्दीको मध्यमा कोरियाका पार्क चुङ ही, अन्त्यमा चीनका ज्याक हुले आफ्नो विकासको सपना कसरी साकार तुल्याए? वि. सं. २००७ सालपछि मुलुक विश्वमा अन्तरसम्बन्धित बन्न सुरु गर्यो, संसारमा प्रवेश गर्यो। विकासका ढोकाहरू खुल्न थाले तर सात दशक लाग्न लाग्दा पनि हाम्रोमा विकास जति भयो, स्वाभाविक भयो। नेपालमा विकासका योजनाको थालनी वि. सं. २०१३ बाट भएको भए पनि योजनाबद्ध ढङ्गमा न हिजो भयो, न आज नै! अहिले पनि विकासको ताल हेर्दा ‘कुखुराको चाल न हाँसको चाल’मा नै छ। उड्ने पंक्षीको कुरै नगरौँ, कारण यी र यस्तै नै हुन्।

राजनीतिक अस्थिरता

राजनीतिक अधिकारप्राप्तिको नाममा बढी नै लडाइँ लड्ने मुलुकमा नेपाल पनि पर्दछ। एकतन्त्रीय राणा शासनदेखि सशस्त्र युद्ध, मधेस आन्दोलनसम्म आइपुग्दा पनि आन्दोलन सकिने छाँटकाँट छैन। नथ्थुरामहरू देश र जनताको आवरणमा युद्धका दुन्दुभी बजाउन अहिले पनि मस्त छन्। हजुरबा, छोरा र नाति पुस्तासम्मले राजनीतिक लडाइँबाट मुक्ति पाउन सकेको छैन। विडम्बना, राजनीतिक संस्कार माथि हरिया तल कीराले जरा काटेको बोटजस्तै बन्न पुगेको अवस्था छ। जहाँ राजनीति बिग्रन्छ, त्यहाँ बाँकी सबै नीति भद्रगोल हुन्छ। राणा र पञ्चायती शासन-व्यवस्थाको हिसाबकिताब नगर्ने हो भने नेपाल राजनीतिक अस्थिरता उत्पादन गर्ने मुलुक हो भन्नुमा अन्यथा नहोला। लाग्छ, हाम्रो भाग्यमा पूरा अवधि कुनै पनि सरकार टिकेको हेर्न लेखेको छैन!

सरकार र प्रतिपक्षी, जसको ऊर्जा सत्ता सुरक्षित राख्न र प्राप्ति गर्न आफ्ना नातागोता, गुट, विपक्षी र पराईलाई रिझाउँदा रिझाउँदै चिलिम हुन्छ। सत्ताबाहिर रहँदा कुनै पनि दिन सरकार ढाल्नुपर्छ भनी सोचिएन भने निद्रा नआउने अवस्था भइसकेको छ। यसको सिधा असर विकास कार्यक्रममा गएर ठोकिएको छ। फलतः एकातिर देश स्वदेशी र विदेशीसमेतको प्रयोगशालामा अनुवाद भइरहेको छ। उही भूपीकै भावमा भन्नुपर्दा हाम्रो हैसियत क्यारेम बोर्डको गोटी भन्दा फरक छैन, हान्नेले जता हान्छ, उतै गयो। उही थोत्राहरूको हातमा थोत्रै शासन पद्धति! अनि कहाँबाट फल्छ विकास? कसले र अनि कहिले देख्ने विकासका सपना?

दीर्घ सोचका साथ विकास गर्यो भने आफ्नो भविष्य नै धरापमा पर्छ भन्ने मानसिकताले राजनीतिक नेता र कर्मचारीतन्त्रलाई पनि ङ्याकेको छ। बजेटको समय, तर्जुमा, कार्यान्वयन सबैतिर भ्वाङैभ्वाङ छन्। गर्ने होइन, गरेजस्तो गर्ने अनि हुन्छ के?

सरकारी संस्थानहरू राजनीतीकरणको कारण आफ्नो भविष्य सपार्न सकिरहेका छैनन्। मित्रराष्ट्रले कोसेलीको रूपमा दिएका उद्योगधन्दा कवाडीको दाममा लीलाममा चढेका छन्। जसको सरकार छ, ऊ विपक्षीका राम्रा विकासे कामलाई त्यहीँ सिध्याउँछ अनि आफ्ना दलीय विकास उमार्नतिर लाग्छ। आलोपालो चक्र, विपक्षीको भत्काऊ, आफ्नो ठड्याऊ! उद्योगधन्दामा काम होइन, दलीय राजनीतिको खेती लगाउन थालेपछि त्यसको असरले विकासलाई अविकासमा अनुवाद गराउँछ। सरकारका नीति कार्यक्रम कार्यान्वयनकर्ता कर्मचारीतन्त्र नागरिकको चाहना भन्दा पनि राजनीतीकरणको वरिपरि गणेशको भूमिकामा छ।

बन्द हड्तालको खेती

लाग्छ, जुन दललाई बन्द हड्तालको सामान्य ज्ञान पनि छैन, यस्ता तमासा देखाउन जान्दैन, त्यो दल नै होइन! बन्द हड्ताल विकासका सूचकाङ्क हुने भए नेपाल अहिले विश्व मानचित्रमा सम्पन्न र समृद्धशाली मुलुकमा गनिन्थ्यो। नेपालीको जीवनस्तर अर्थात आर्थिक हैसियत चुलिएको हुन्थ्यो। अधिकारप्राप्ति वा कुनै पनि जायज वा नाजायज माग पूरा गराउन बन्द र हड्तालको चक्की पिलाएपछि सबै ठीकठाक हुन्छ भन्ने रोगी मानसिकताले अहिले पनि नेतृत्वको दिमागबाट बिदा लिन नसक्दाको मार विकास निर्माणमा पर्न गएको छ। चन्दा, दान झार्न सके ठीक, नत्र घिडघिडोमा चलेका उद्योग पनि अधिकारको नाममा चट्! फलतः बचेखुचेको जनशक्तिले अरबी भूमिमा आफ्ना सपना साकार भएको सपना देख्छ र उतै लाग्छ।

बन्द हड्ताल देशको राष्ट्रिय खेल बन्न थालेपछि कसरी भित्रनु देशभित्र वैदेशिक लगानी? अनि कहाँ र कसरी फल्नु विकास? आर्थिक समृद्धि र विकासले गति लिनुु भनेको अयोग्य र अक्षमहरूको राइँदाइँ सिद्धिनु हो। फलतः अयोग्य र अक्षमहरूको स्थायित्वको लागि बन्द हड्ताल चलेकै छ, चलाइएकै छ।

नेतृत्वमा दीर्घकालीन सोचको खडेरी

अर्थशास्त्री रोबर्ट इमर्शन लुक्स भन्छन्- ‘समृद्धिको पनि भूगोल हुन्छ र मानिसले समृद्धिबारे सोच्न थालेपछि मुलुकले समृद्धि प्राप्त नगरी सुखै छैन। हाम्रोमा भेडीगोठ भन्दा बढी नेता भए तर सोचाइ र दूरदृष्टि भएन। सम्भावना बोकेका केही सिध्याइए। ढुकुटीको बिउ सिध्याउने दिमाग प्रशस्त भए तर बीज छरी फलाउनुपर्छ भन्ने दिमाग जन्मन सकेनन्। दुई दशकसम्म स्थानीय निकाय खाली गर्ने नेतृत्वको हातमा प्रजातन्त्र परेपछि विकासको बिजोग हुनु स्वाभाविक नै हो। छ महिने सरकारको दीर्घ सोच भनेको जति सकिन्छ, लुँड्याउनु हो! विकास योजनाको तर्जुमा त्यसको कार्यान्वयन भन्दा ध्यान कताबाट कति झर्छ? भन्नेमा छ। दीर्घ सोचका साथ विकास गर्यो भने आफ्नो भविष्य नै धरापमा पर्छ भन्ने मानसिकताले राजनीतिक नेता र कर्मचारीतन्त्रलाई पनि ङ्याकेको छ। बजेटको समय, तर्जुमा, कार्यान्वयन सबैतिर भ्वाङैभ्वाङ छन्। गर्ने होइन, गरेजस्तो गर्ने अनि हुन्छ के? यसको प्रतिफल हो, साउनदेखि जेठसम्म फल्न नसकेको विकास असारमा फल्नु!

बाँदरे मनोवृत्ति

एकथरी केही गर्दैनन्, अर्काले केही गर्ने जाँगर चलायो भने स्याल हुइयाँमा उत्रन्छन्। मानौँ, विकासका कुरा गर्नु ठूलै पाप हो, अपराध हो। तिनलाई त्यस्ता कुरा पाच्य हुँदैन, सहन गाह्रो हुन्छ। दक्ष, अर्धदक्ष, अदक्ष जनशक्ति विदेश भासिएको छ। केही गर्छु भनी फर्की आएको वा यतै बसेको पुर्परोमा हात लगाउन बाध्य छ। यस्तो लाग्छ, सतीले श्राप दिएको यो देशमा केही हुँदैन। न गर्नेको भलो हुन्छ, न गराउनेको!

कानुनी गञ्जागोल 

नयाँ जोस, जाँगर र उत्साह बोकेर कोही केही गर्छु भनेर कानुनी प्रक्रियामा पस्यो र पाइलेपिच्छे माल बुझाएन भने बुझे हुन्छ, त्यो फस्यो, सकियो। कार्यान्वयनकर्ताको ध्यान योजना कस्तो छ, कति समुदाय यसबाट लाभान्वित हुन पुग्छन् भन्ने भन्दा पनि माल झर्छ कि झर्दैन? झर्दा कति झर्छ? भन्नेमा हुन्छ। कानुनी प्रक्रिया र जटिलता यतिविघ्न छन्, गर्नेवाला थाक्छ, गल्छ, आत्मसमर्पण गर्छ र भन्छ- ‘मैले सकिनँ, म हारेँ। अन्ततः ऊ लाग्छ, पराई भूमितिर!

भौगोलिक अवस्थिति

हामी आफू मात्र छैनौँ, दुवै छिमेकीबाट घेरिएका छौँ। दुवैको आ-आफ्नो दाउपेच छ। अमेरिकासम्मको आफ्नै हिसाब छ। आफ्नो स्वार्थमा ठेस नलागोस् तर आफूले भनेबमोजिम होस् भन्ने उनीहरूको चाहना छ। विशेषतः दक्षिणको बुझाइ छ- यहाँ विकास भयो, स्थिरताले बास गर्यो भने भोलि यहाँ मेरो दादागिरी काम लाग्दैन। अतः ऊ आफू पनि गर्दैन, अर्कालाई पनि गर्न दिँदैन। भएजति विकास योजनाको हकदार आफूलाई ठान्छ, म छँदै छु नि, के पीर गर्छौ? भन्छ। ठेक्का लिन्छ अनि बूढो साँढेको ताल गर्छ, काम गर्दैन। जसका कारण केही गर्न सक्ने ल्याकत हामी क्रमशः गुमाइरहेका छौँ। पारिकाले गर्न चाहन्छ तर विकासको मूल्य भन्दा ठूलो स्वार्थ बोकेर आउँछ।

ठेक्कापट्टामा संलग्नले सत्ताधारी पार्टीलाई समेत प्रभावित तुल्याउँछन्, आयोजनाकै माध्यमबाट संभ्रान्तहरू सत्ता र शक्तिमा समेत पुग्छन्। आफ्नो माटोले के खान्छ, उसलाई कुन खान्की मिल्छ? ध्यान छैन। अनि फल्छ के?

विकाससँग नजोडिएका जनता

अहिले पनि विकास माथिबाट तलतिर छ। बजेट राजनीतीकरणभित्र छिरेको छ। जनता विकासमा जोडिन सकेका छैनन्, छोडिएका छन्। साधनस्रोतले लक्षित वर्गलाई छुन सकेको छैन। न्यायोचित र समुचित वितरण त परकै कुरा भयो, विकास नागरिकको अधिकार होइन कि दान जस्तो बन्न पुगेको छ। परिणामतः विकास किताबी पाना भन्दा बाहिर आउन सकेको छैन।

जुन बाटो आउँछ, उही बाटो जान्छ

सर्तका भारीहरू लादेर उपलब्ध गराइने सहयोगले अन्ततः दाताहरू नै मोटाउने, उनीहरूकै स्वार्थ फस्टाउने परिपाटी बाक्लिँदै जान थालेको छ। यसले स्वतः सकारात्मक भन्दा पनि नकारात्मक परिणामलाई स्वागत गरिरहेको अवस्था छ। सहायताको नाममा छिरेको रकमको ठूलो हिस्सा जताबाट आयो, उतैतिर लाग्छ। ६० देखि ७५ प्रतिशतसम्म रकम विभिन्न शीर्षकमा उतै फर्केको र २५ देखि ४० प्रतिशतसम्म जसोतसो सम्बन्धित क्षेत्रमा पुग्ने गरेको तथ्य संयुक्त राष्ट्रसंघको एक अध्ययनले देखाएको छ। सन् १९९४ को मानव विकास प्रतिवेदनले भनेको छ- विकासोन्मुख राष्ट्रलाई निश्चित प्रक्रियाबिना प्राविधिक सहायता दिने र ऋणसहायतासँगै अदक्ष व्यक्तिलाई त्यस्ता राष्ट्रमा विशेषज्ञ बनाएर पठाउने गरिन्छ। ब्राइन कुक्सीकै शब्दलाई पैँचो लिएर भन्ने हो भने विदेशी ऋण/दानको वरिपरि भ्रष्टाचार घुमिरहेको पाइन्छ। ठेक्कापट्टामा संलग्नले सत्ताधारी पार्टीलाई समेत प्रभावित तुल्याउँछन्, आयोजनाकै माध्यमबाट संभ्रान्तहरू सत्ता र शक्तिमा समेत पुग्छन्। आफ्नो माटोले के खान्छ, उसलाई कुन खान्की मिल्छ? ध्यान छैन। अनि फल्छ के?

अब के?

अब घोत्लिन ढिला भइसकेको छ। समय तीब्र गतिमा छ। जुन दिन हामीले आफ्नो गौरवमय इतिहासबाट स्वाभिमानी हुन सिक्छौँ, आफ्नो निर्णय आफैँ गर्न सक्षम हुन्छौँ, कानुनी शासनलाई अवलम्बन गर्छौँ, पद्धति, परिपाटी र प्रणालीलाई बलियो बनाउन थाल्छौँ, त्यस दिनबाट देशभित्र र बाहिर आफ्नो क्षेत्रका ग्यालिलियो, आइन्टाइन, देवकोटा, झमक, कुमुद यतै रोकिनेछन्, गएका फर्किनेछन्। देशलाई सम्पनताले चुम्न थालेपछि बाहिर पनि देश र नेपालीको इज्जतले भाउ पाउन थाल्छ। भारतीय इतिहासकार रोमिला थापरले अकबरकालीन शासनको चर्चाको क्रममा उल्लेख गरेका चार आधारस्तम्भ अहिले पनि सान्दर्भिक छन्- पहिलो, सम्राट अकबरको सुझबुझपूर्ण व्यक्तित्व, दोस्रो, छिमेकका हिन्दू राजाहरूसँग दरिलो मित्रता, तेस्रो, राजनीतिक सहिष्णुता र चौथो, आन्तरिक र विदेश मामिलामा चातुर्यपूर्ण रणनीतिक शक्ति सन्तुलन! बुझ्नेलाई इशारा काफी!

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.