|

इलाम : ६ दशकभन्दा लामो समय कच्ची अवस्थामा रहेको इलामको रामसार पर्यटकीय क्षेत्र माइपोखरी जाने बाटो कालोपत्रेको कामले तीव्रता पाएको छ। सडक कालोपत्रे कार्यले निरन्तरता पाएसँगै अब बाह्रै महिनाभरि रामसार पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सकिने भएको हो।

उत्तरी इलामको पर्यटकीय स्थलहरु टोड्के झरना, छिन्टापु, सन्दकपुरसम्म पुग्ने यो सडकको निर्माणसँगै इलामको उत्तरी क्षेत्रका पर्यटकीय गन्तव्यमा बाह्रै महिना सहज आवागमन हुने स्थानीय घनेन्द्र लुइँटेल बताउँछन्। सडकको स्तरोन्नति नहुँदा बर्खाको समयमा रामसार क्षेत्र घुम्न आउने पर्यटकहरुले हिलाम्मे बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो।

२००७ सालअघि सन्तवीर बडाहाकिमले ट्रयाक खोलेपछि गाडी कुद्न थालेको सो सडक खण्डको स्तरोन्नतिका लागि सरकारले चासो नदिँदा रामसार क्षेत्र माइपोखरी पुग्ने पर्यटकहरुले सास्ती भोग्दै आएका थिए।

बिव्ल्याँटेदेखि ३ किलो मिटर सम्मको दूरी खनाल कन्स्ट्रकसन प्राली इलामले ३ करोड १२ लाखको ठेक्कामा कालोपत्रे गर्ने काम थालेको हो। २ वर्षअघि थालिएको सडकको काम अहिले अन्तिम चरणमा पुगेको खनाल कन्स्ट्रक्सनका सुमन खनालले जानकारी दिए।

ठेकेदार कम्पनीले सुरु सुरुमा गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले गुनासो गरेपछि अहिले भने सडकको काम गुणस्तरको भएको स्थानीय ख्याम आचार्य बताउँछन्। बरबोटे–माईपोखरी सडक खण्डको काम गुणस्तरीय भइरहेको डिभिजन सडक कार्यालय इलामका इन्जिनियर ध्रवकुमार झाको भनाइ छ।

उनी भन्छन्, ‘जिल्लाभरिको काम अहिले अनुगमन भइरहेको छ र यो सडकको काम पनि राम्रो भएको छ कम गुणस्तरीय काम भएको केही ठाउँमा फेरि बेस हाल्न लगाइनेछ।’नियमित अनुगमन भइरहेकोले काम राम्रो भएको डिभिजन सडकका सुपरभाइजर दुर्गा दुलालले बताए। रामसार क्षेत्रसम्म पुग्न बाँकी रहेको ८ किलोमिटर बाटोको पनि क्रमशः आगामी वर्षहरुमा काम हँुदै जाने पनि उनले बताए। यो सडक हुँदै इलामको उत्तरी क्षेत्रका पर्यटकीय स्थलको यात्रा गर्न सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.