|

बुटवल : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र निर्माण पक्षबीच विवाद हुँदा निर्माणकार्य रोकिएको छ। निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन र नेपाली कम्पनी नर्थ वेष्ट इन्फ्रा प्रालिबीचको आर्थिक विवादले विमानस्थलको काम रोकिएको हो। 
दुवै कम्पनीबीच रकम विवादका कारण विमानस्थलको काम छ दिनदेखि रोकिएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए। उनले आयोजना नै संकटमा रहेको र यसबारेमा सोच्ने समय आएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

चिनियाँ कम्पनीले निर्माणको ठेक्का नेपाल सरकारसँग लिएर सबकन्ट्रयाक्टरको रूपमा काम गर्ने गरी नेपाली कम्पनीसँग सम्झौता गरेको थियो। 
सम्झौताअनुसार नेपाली कम्पनीले काम गर्नका लागि (वर्किङ क्यापिटल) नौ अर्ब रुपैयाँ देखाएको थियो तर अहिले काम गर्नका लागि रकम अभाव भएको भन्दै चिनियाँ कम्पनीसँग रकम माग गरेपछि विवाद सिर्जना भएको हो।  
दुई पक्षबीच लेनदेनको विवाद चुलिएपछि गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाले विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनका अध्यक्षलाई छलफलका लागि नेपाल बोलाएको थियो। विमानस्थल निर्माणको पछिल्लो अवस्था र विवादबारे बुझ्न सिभिल एभिएसन चाइनाले उपाध्यक्ष वाङ्जेङ व्याङ नेपाल पठाएको थियो। 
विवाद चर्किएपछि विमानस्थल आयोजनाको संयोजनमा चिनियाँ कम्पनीका उपाध्यक्ष व्याङसहित पर्यटन मन्त्रालयका सहसचिव डब्बुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्री, इन्जिनियरिङ विभागका निर्देशक ध्रुव मोछिमया, एसियाली विकास बैंकका प्रतिनिधि नरेश प्रधान, आयोजना प्रमुख ओम शर्मा, कन्सल्ट्यान्ट कम्पनी युसिङ इन्जिनियरिङ कर्पोरेसन दुवईका टिम लिडर चाङचोङ ल्युप र नेपाली कम्पनीलगायतको सर्वपक्षीय बैठक बसेर मध्यमार्गी उपाय निकाल्ने प्रयास गरेको छ। 
सर्वपक्षीय बैठकले विमानस्थल निर्माणमा देखिएको समस्या समाधानका लागि १२ दिनको समय छुट्याएको छ। यो समयभित्र दुई कम्पनीबीचको आर्थिक लेनदेनको विषय मिलाउने र कामको मूल्याङ्कन गरी दुई पक्षबीच हिसाबकिताब टुङ्ग्याउने गरी सहमति भएको आयोजना प्रमुख शर्माले जानकारी दिए।  
१२ दिनभित्र विवाद टुङ्ग्याएर विमानस्थल निर्माणको कामलाई निरन्तरता दिने सहमति भएको उनले बताए। तर यसपछि नेपाली कम्पनीले काम गर्ने वा नगर्ने भन्ने विषयमा भने टुंगो लगाइएको छैन। यो विषयमा टुंगो नलगाए पनि आयोजना प्रमुखले भने नेपाली कम्पनीसँगको सम्झौता भंग हुने अवस्था आएको बताएका छन्। विवादका कारण गौतमबुद्ध विमानस्थल निर्माणको काम आगामी दुई सातासम्म रोकिने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.