|

सुनसरी : अवैध रूपमा काठ तस्करीको आरोपमा धरानबाट पक्राउ परेका २ प्रहरी निलम्बनमा परेका छन्। निलम्बित प्रहरीसहित ४ जनालाई सेक्टर वन कार्यालयले वन पैदावर ओसारपसारअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ। 

मुद्दा दर्ता गरेको पत्र प्राप्त भएको जनाउँदै इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले म्याद थप भएको मितिदेखि नै लागु हुने गरी हवल्दार खेमबहादुर कुँवर र जवान गंगा लिम्बू निलम्बनमा परेको बताए। 

वन कार्यालयका अनुसार जिल्ला अदालतले मंगलबार चारै जनालाई थप अनुसन्धानको लागि १० दिन थुनामा राख्न अनुमति दिएको छ । धरान–२० स्थित प्रस्तावित भवानीथान सामुदायिक वन समूहका उपभोक्ताहरूले आइतबार मध्य रातमा तस्करीमा संलग्न प्रहरीसहित ४ जनालाई पक्राउ गरेर वनको जिम्मा लगाएका थिए। 

पक्राउ पर्नेमा विष्णुपादुकास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज हवल्दार कुँवर र जवान लिम्बूसहित काठ तस्करी गर्ने धरान–१८ का विवेक लिम्बू र गाडी चालक विराटनगर–५ का नरेन्द्र कार्की छन् । उनीहरूले विष्णुपादुकास्थित 'के एण्ड के एग्रिकल्चर एण्ड रिसर्च सेन्टर'को को १ च ७३८१ नम्बरको बोलेरोमा अवैध काठ धरानतर्फ ल्याइरहेका थिए। वन कार्यालयका अनुसार गाडीमा १८ दशमलव ९५ किबि चिरान गरिएको काठ थियो।

प्रहरीको मिलेमतोमा काठ तस्करीको घटना सार्वजनिक भएपछि सेक्टर वन कार्यालयले रेञ्जर इश्वरीप्रसाद बास्तोलालाई अनुसन्धान अधिकृत तोकेको छ। पक्राउ परेका चारै जनालाई तरहरास्थित सशस्त्र वन सुरक्षा शाखा (जिल्ला कारागार) मा राखिएको छ । उनीहरूलाई वन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार अवैध रूपमा वन पैदावार ओसारपसारको मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको बताइएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.