|

उदयपुरः उपचार गर्ने पैसा नहुँदा उदयपुरमा एक मानसिक रोगी युवकलाई खोरमा थुनेर राखिएको छ। जिल्लाको चौडण्डीगढी नगरपालिका– १ शिखरपुरका मानसिक सन्तुलन गुमाएका ३४ वर्षीय शिवराज विक थुनिएका हुन्।

मानसिक रोगी शिवराजलाई उपचार खर्च अभाव भएपछि खोरमा थुनिएको बुबा रामकुमार विकले बताए। ‘छोराले ८ वर्षयता मानसिक सन्तुलन गुमाएपछि सामान्य रुपमा गरेको उपचारले बिरामी ठीक भएन।’ बुबा रामकुरमाले भने, ‘पटक–पटक औषधि उपचार गराउँदा पनि सम्भव नभएपछि उनलाई खोरमा थुनिएको हो।’

उपचार गर्ने खर्च नभएपछि खोर बनाएर थुनिएको उनका रामकुमारका दुई छोरामध्ये शिवराज जेठा हुन्। सामान्य लेखपढ गर्ने शिवराजले काठमाडौंमा ज्याला मजदुरी गरी गुजारा गरिरहेको अवस्थामै मानसिक सन्तुलन गुमाएको बुबाको भनाइ छ। ‘उसले मानसिक सन्तुलन गुमाएपछि भतिजा र भतिजीको हत्या प्रयास ग¥यो,’ बुबा रामकुमारले भने, ‘गाउँघरका सर्वसाधारणमाथि आक्रमणसमेत गरेपछि थुनेर राख्न बाध्य भयौं।’

उपचार गर्दा गर्दै घरखेत पनि साहुले लिएकाले थप उपचार गर्न नसकेपछि खोरमा थुनेर राखेको शिवराजका बुबाले बताए। ‘छोराको अवस्था सुधार हुन्छ कि भनेर दुई पटक सुधारगृहमा समेत राखियो,’ शिवराजकी आमा सुमित्राले भनिन्, ‘त्यहाँ पनि ठीक नभएपछि पुनः औषधी उपचार गरियो। तर, ठीक नभएपछि खोरमा थुन्नुपर्ने बाध्यता आएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.