|

दमकः ओमनमा मृत्यु भएका इलाम बाँझो–९ का जयबहादुर राईको परिवारलाई ओमनस्थित नेपालीहरुको विभिन्न संघसंस्थाले एक लाखबढी आर्थिक सहयोग गरेको छ। रोजगारीका लागि ओमन पुगेका राईको परिवारलाई ओमनमा रहेको नेपाली समाज, नेपाली महिला समूह, मगर समाज, एन. आर. एन. ए ओमान, तामु समाज र ओ.न.सि.एफ. परिवार ओमनले एक लाख १२ हजार ८ सय रुपैयाँ सहयोग गरेका हुन्।

मृतक राईको आमा बुद्धिमाया राई मुटुको रोगले पीडित भएको र उपचारका लागि आर्थिक समस्या भएको भन्ने सामाचार थाहा खबरमा प्रकाशित भएपछि ओमनमा रहेका विभिन्न संघसंस्थाले सहयोग गरेका हुन्।

उक्त संकलित रकम बुधबार दमकमा एक कार्यक्रम आयोजना गरी पाथिभरा एफएमका अध्यक्ष बलराम पराजुलीले मृतक राईका बुबा बुद्धि बहादुरलाई हस्तान्तरण गरेका छन्। मृतक राई घरबाट हराएको ९ वर्षपछि ओमनमा भएको खबर परिवारले पाएका थिए। तर, खबर पाएको २४ घण्टा नबित्दै मृत्यु भएको खबर आएको थियो।

बुद्धि बहादुरले भने, ‘आमाकै लागि महिनाको २०\२५ हजार रुपैयाँ खर्च हुन्छ, आर्थिक अवस्था पनि एकदमै कमजोर छ।’ यो सहयोगले धेरै राहत मिलेको छ। यस्तै, उनका कान्छा छोरा सन्देशको पनि मुटु रोगका कारण करिब ढेड महिना अघि मृत्यु भएको उनले बताए। आमा र कान्छो छोरा मुटुका रोगी भएकोले उपचारका लागि धेरै खर्च भइसकेको उनले सुनाए।

भएको घर खेत दुई जनाका उपचारमा सबै बेचिसकेको उनले बताए। ४२ वर्षीय जयबहादुरको १५ दिनअघि ओमनमा सुतेकै अवस्थामा मृत्यु भएको थियो। उनको शव ओमनमा रहेका विभिन्न संघ संस्थाको पहलमा आइतबार ल्याएर अन्त्येष्टि गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.