|

अर्जुन आचार्य-

    विराटनगर : नेकपा एमालेमा जिल्ला समिति विस्तार गरेर जिम्मेवारी बाँडफाँड गरेलगत्तै विवाद चुलिएको छ। माधव नेपाल समूहको असहमतिबीच नेकपा एमाले मोरङमा संस्थापन पक्षले पार्टीको विधानविपरीत जिल्ला सचिवालयदेखि जिल्ला कमिटीसम्मको विस्तार तथा विभिन्न क्षेत्र तथा स्थानीय तहमा जिम्मेवारी दिएपछि विवाद चुलिएको हो।

    गत पुसमा सम्पन्न एमाले मोरङका अधिवेशनमा एमाले मोरङमा पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट समूह हाबी भएसँगै नेता नेपाल समूहको उपस्थिति कमजोर बनेको थियो। यद्यपि पार्टीको सबै पक्षलाई मिलाएर अघि बढाउने प्रतिवद्धता जनाएका अध्यक्ष विनोद ढकालले गुण्डागर्दीको संरक्षण गरेको नेपाल पक्षको आरोप छ।

    ढकाल समूहले भने जिल्ला कमिटीको विस्तार बदलिएको देशकाल परिस्थितिको उपज भएको दाबी गरेको छ। पार्टीभित्रै विवाद बढेको विषय सत्य नभएको भन्दै ढकालले सानातिना कुरामा अल्झेर नबस्ने बताएका छन्। विराटनगरस्थित एमालेको जिल्ला पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले जिम्मेवारी बाँडफाँड सबैको सहमतिमा भएको दाबी गरे।

    यद्यपि नेपाल पक्षबाट विजयी बनेका जिल्ला कमिटीका सदस्य पारुल क्षत्री, ओसिम आलम, रुपेश खतिवडा लगायतले भने ओली पक्षले आफूहरुसँग कुनै सल्लाह नगरी आर्थिक अराजकता र गुण्डागर्दी गर्नेलाई पार्टीले संरक्षण गर्न खोजेको भन्दै विरोध गरेका छन्। स्थानीय तहको निर्वाचनको मुखमा भएको यो विवादले पार्टीलाई असर गर्ने एमाले मोरङका जिल्ला सदस्य पारुल क्षत्रीले बताए।

    ‘नेकपा एमाले केपी गुटको मात्रै हैनन माधव गुटको मात्रै कुनै गुटमा नलागेकाहरूको पनि हो यो पार्टी यहाँ सबैले आफ्नो कुरा राख्ने अधिकार छ,’ क्षत्रीले भने, ‘जुन–जुन गुटमा भए पनि आजको आवश्यकता पार्टीलाई धन कमाउन र अपराध गर्न राजनीतिमा लागेकाहरूबाट बचाउनु मुख्य चुनौती छ, यो मजदुर किसान र गरिबहरूको पार्टी हो दलालहरूको हैन।’

    सम्वन्धित समाचार

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.