|

काठमाडौं : सौगात मल्ल निकै व्यस्त नायक हुन्। उनी जति पनि फिल्ममा काम गर्छन्, फरक भूमिकामा देखिन्छन्। जति पनि अभिनय गरेका छन्, प्राय भूमिकालाई न्याय गरेका छन्।

चरित्रमा डुबेर अभिनय गर्न सक्ने सौगात हिजोआज नेपाली सिनेमाका हटकेक हुन्। दासढुंगा, बधशाला, लुट, लुकमारी, फन्को, कबड्डी-कबड्डी लगायतका थुप्रै फिल्ममा सौगात फरक-फरक गेटअप र चरित्रमा देखिएका छन्।

नेपाली सिनेक्षेत्रमा उनलाई खोट लगाउन मिल्ने कमै विषयहरु मात्र छन्। शुक्रबारदेखि सौगातको अभिनय रहेको 'लप्पन छप्पन' प्रदर्शनमा आउँदैछ। सौगात यतिखेर 'झ्यानकुटी' को सुटिङका लागि धम्पुसमा छन्। धम्पुसमा रहेका सौगातसँग हामीले सोध्यौं,'फिल्म क्षेत्रमा नआएको भए के गर्नुहुन्थ्यो?'

सौगातको जवाफ थियो,'फिल्मबाहेक मेरो रुचि अन्य केही पनि विषयमा भएन। कलाकार नभएको भए के गर्थे भन्‍ने कहिल्यै सोचिनँ। सायद कलाकार नभएको भएपनि कलाकारितामै हुन्थें।'

अहिलेका हिट नायक सौगात फिल्मक्षेत्रमा सजिलै स्थापित भएका भने होइनन्। कलाकारिताका लागि हदैसम्म संघर्ष गरेका व्यक्ति हुन्। उनले जीवनमा कहिल्यै कलाकारिताबाहेक अन्य पेशा अंगाल्नेबारेमा सोच्दा पनि सोचेनन्। 

'मेरो पढाई कमजोर थियो। तर नाचगानमा रुची थियो। बाल्यकाल नाचगान गरेरै बित्यो,' थाहाखबरको जिज्ञासामा सौगातले भने,' हिन्दी फिल्म हेर्ने बानी थियो। बिस्तारै नेपाली फिल्म पनि हेर्न थालियो। फिल्म हेरेर नै कलाकारिताको मोह बढेको हो।' 

पर्दामा सौगात डायलग मार्न माहिर छन्। लुट-२ प्रदर्शनकै क्रममा छ। लुटमा उनले निर्वाह गरेको चरित्र 'हाकु काले' ले बोल्ने संवादहरु अहिले निकै चर्चामा छन्। तर सौगातको रियल लाइफ रिल लाइफभन्दा निकै फरक छ। उनी निकै कम बोल्छन्। नम्र र शान्त प्रकृतिका छन्। 

थाहाखबरसँगको छोटो कुराकानीका क्रममा उनले ११ वर्ष थिएटरमा काम गरेको अनुभव सुनाए। थिएटरमा जमेपछि उनलाई फिल्महरुको अफर आउन थाल्यो। एकपछि अर्को चलचित्रमा शशक्त अभिनय गरेका सौगात सफलताको सिढींमा चढ्दै गए। अभिनयको भूत सवार भएपछि रत्न राज्य क्याम्पसमा आईए पढ्दा-पढ्दै सौगातले पढाइमा पूर्ण विराम लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.