|

पागल बनायौ प्रिय
यो दिल हरेर पागल

वासन्ती रङ छरेर 
जादू गरेर पागल...।

०६८ सालताका यो गजल धेरै चर्चित भयो। श्रोताले धेरै मनपराएको गजल बन्न पुग्यो यो गजल।  यो गजलमा स्वर र संगीत गायक शिव परियारको रहेको छ। ‘पागल’ एल्बममा समावेश यस गजलले आफ्नोे प्रतिभालाई मार्ने होकी भन्ने ठूलो डर थियो रे उनलाई। ‘यो गजल तयार पारेँ र शिव परियारलाई गाउन दिने निष्कर्ष निकालेँ तर मलाई डर थियो यो गजल बजारमा चल्दैन कि भनेर’, आचार्य भन्छन्, ’तर यो मैले सोचे भन्दा धेरै चल्यो।’

झापा विर्तामोड नगरपालिका– ९, गरामनीका केशव आचार्य उमेरले छ दशक नाघिसके तर अझै पनि युवा पुस्ताले मनपराउने गीत/गजल लेख्छन्। यो गजलमा गायक परियारले पनि धेरै मिहिनेत गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘यो गजलमा संगीत भर्दा शिव भाइले पनि धेरै मिहिनेत गरेका छन्।’ ‘पागल’ एल्बम निकाल्ने बेलामा ‘पागल बनायौ प्रिय’ गजलका लागि छ महिनासम्म संगीतको लागि उनले मिहिनेत गर्नुपरेको आचार्य सुनाउँछन्। ‘मैले ती सबै सबै संगीत भर्दा प्रायः मनपराइनँ। एक दिन एउटा कार्यक्रममा केशव दाइले मन नपराएको गजल भन्दै दर्शक श्रोतालाई गाएर सुनाए, मलाई असाध्यै मनपर्‍यो। मैले अंगालो हालेर राम्रो भयो भनेपछि यो रेकर्ड गराएको हो।’ 

एक दिन एउटा कार्यक्रममा उनीहरूको भेट भएछ। उनले ‘म त्यही गजलको गजलकार केशव आचार्य’ भनेछन्, तर ती महिलाले विश्वास गरिनछन्। ‘उनले यो गजलको गजलकार त युवा होला भनेर सोचेकी रहिछन्’, आचार्य भन्छन्, ‘म जस्तो दारी फुलेको देखेर होइन होला भनिन्, म अचम्ममा परेँ।’ 

यो गजल बजारमा आएपश्चात आफूलाई धेरैले राम्रो प्रतिक्रिया दिएको बताउँछन् केशव। भन्छन्, ‘मोरङकी एक जना शिव परियारकी फ्यान रै’छिन्, उनले शिवलाई फोन गरेर मेरो नम्बर मागिछन्, मलाई फोन गरेर तपाईँको गजल असाध्यै मनपर्‍यो भनिन्।’ एक दिन एउटा कार्यक्रममा उनीहरूको भेट भएछ। उनले ‘म त्यही गजलको गजलकार केशव आचार्य’ भनेछन्, तर ती महिलाले विश्वास गरिनछन्। ‘उनले यो गजलको गजलकार त युवा होला भनेर सोचेकी रहिछन्’, आचार्य भन्छन्, ‘म जस्तो दारी फुलेको देखेर होइन होला भनिन्, म अचम्ममा परेँ।’

यो गजल आचार्यले युवा अवस्थाको आफ्नो प्रेम सम्झेर लेखेको बताउँछन्। उनको यो मात्र होइन, ‘पागल’ एल्बममा समावेश अन्य गजल पनि त्यत्तिकै चर्चित छन्। उनले लेखेको ‘उनी राम्री, धेरै राम्री, छड्के आँखा मारूँ जस्ती’ गजल पनि चर्चित छ। यो गजल पनि शिव परियारले नै गाएका हुन् र संगीत पनि उनैले भरेका हुन्। 

‘पागल बनायौ प्रिय’ गजललाई अझ चर्चित बनाउने उद्देश्यले यसको म्युजिक भिडियो तयार पारियो तर आचार्यलाई भने यो भिडियो त्यति मन परेन। भन्छन्, ‘गजलले एकथोक भन्छ, अर्थात शब्द एकातिर बगेको छ, भिडियो अर्कोतिर भयो, मलाई मनपरेन।’ निर्देशक प्रशन्न पौड्याललाई गुनासो गरे उनले। यो भिडियो राम्रो नभएकाले उनले राम्रो भिडियो गरिदिए, त्यो निक्कै राम्रो भयो।’ 

आचार्य पूर्वी भेग झापामा रहेर नेपाली साहित्य साधना गरिरहेका अथक सर्जक हुन्। २१ वर्ष शिक्षण पेशा गरेका आचार्यले निकै लामो समय साहित्य क्षेत्रमा बिताएका छन्। पछिल्लो समय शिक्षण पेशाबाट अवकाश लिएपछि उनले साहित्यमा मात्र जीवन समर्पण गरेका छन्। 

सानै उमेरदेखि कविता, गजल, मुक्तक लेखे पनि उनी ०३७ सालमा ‘आचार विचार’ मुक्तकसंग्रह प्रकाशित गरेपश्चात औपचारिक रूपमा साहित्य क्षेत्रमा लागेका बताउँछन्। आफूलाई धेरैले मोफसलमा बसेर केही गर्न नसक्ने भन्दै काठमाडौँ जान सल्लाह दिए पनि आफू मोफसलबाटै केही गर्ने उद्देश्यले झापामा नै बसेको बताउँछन् आचार्य। भन्छन्, ‘मेरो नाम चिनाउन राजधानी नै जानुपर्ने बाध्यता मैले देखिनँ। मोफसलमै बसेर पनि राम्रो सृजना गर्नसक्यो भने विश्वले चिन्छ, त्यही उद्देश्यले म अझै पनि निरन्तर लेखनमा छु ।’ 

आफूले युवा अवस्थामा भन्दा अहिले अलिक धेरै साहित्य बुझेको उनी बताउँछन्। ‘हाम्रो पालामा खासै अध्ययन गर्न सकिँदैन थियो, प्रविधि पनि त्यति धेरै थिएनन्, पछिल्लो समय प्रविधिको पनि विकास हुँदै गएको छ, अहिले सहित्य बुझ्न रुचि बढ्न थालेको छ’, आचार्य भन्छन्। 

पछिल्लो समय साहित्यमा आएका युवाहरू पनि धेरैजसो सृजनशील भएको उनको मूल्यांकन छ। तर धेरैजसो केही कृति लेख्नेबित्तिकै वरिष्ठ हुन खोज्ने उनले देखेका छन्। भन्छन्, ‘पछिल्लो समय युवाहरू एउटा कविता लेख्नेबित्तिकै आफूलाई वरिष्ठ कवि सम्झन्छन्, तर यस्तो होइन, उमेरमा जसले पनि दुई चारवटा कविता लेख्छन्, यो स्वाभाविक हो। यसलाई निरन्तरता दिनु आवश्यक छ।’ 

साहित्यमा स्थापित हुन पहिलो सर्त अध्ययन रहेको सल्लाह दिन्छन् उनी। उनी भन्छन्, ‘साहित्यमा स्थापित हुन निरन्तर अध्ययन आवश्यक पर्छ। आफूले मात्र लेखेर केही हुँदैन, अरूले लेखेको पनि अध्ययन गर्नुपर्छ, त्यहाँबाट केही नयाँ कुरा सिक्ने अवसर पाइन्छ।’ यस्तै लेखनमा निरन्तरता पनि त्यत्तिकै आवश्यक रहेको उनी बताउँछन्। निरन्तर लागि रहियो भने मात्र उत्कृष्ट साहित्य लेखन सम्भव हुने उनको बुझाइ छ। युवाहरूले साधना बुझेर पनि साधना गर्न नसकेको उनी बताउँछन्। साधना र धैर्य गर्न सके मात्र साहित्यमा टिक्न सकिने उनको सुझाव छ। ‘साधना भनेको आफूले लेखेको रचना पटक पटक पढ्नु हो, यसको भाव मिलेको छ कि छैन राम्ररी हेर्नु हो, युवाहरूले यसमा खासै ध्यान दिँदैनन्’, आचार्य भन्छन्। 

कविता, गजल तथा रचना भनेको पहिला आफूलाई मनपर्नुपर्छ अनि मात्र अरूलाई मनपर्छ भन्ने उनको मान्यता छ। आफु पनि आफ्नो पहिलाको कृति भन्दा अझै राम्रो कृति लेख्न सक्छु भनेर ठोकुवा गर्न नसक्ने बताउँछन् आचार्य।

धेरैजसो युवाहरू दुई/तीनवटा कविता लेख्ने र आफ्नो बारेमा चर्चा गर्न कृतिका रूपमा पुस्तक प्रकाशन गर्ने क्रम बढेको उनी बताउँछन्। केही गजल, कविता लेख्ने अनि आफ्नो बयान गर्दै पुस्तक निकाल्ने प्रवृत्ति बढेको उल्लृेख गर्दै आफ्ना बारेमा पुस्तक निकाल्न आफू पहिला परिपक्व हुनुपर्ने सल्लाह पनि दिन्छन् आचार्य। 

‘समाजले आफूलाई चिन्नुपर्छ अनि मात्र पुस्तक प्रकाशन गर्नुपर्छ भन्ने मरो मान्यता हो’, केशव भन्छन्। साहित्य सृजना गर्न समयअनुसार प्रविधिलाई पनि सदुपयोग गर्नुपर्ने उनी बताउँछन्। पछिल्लो समय युवापुस्ताले प्रविधिलाई गलत रूपमा प्रयोग गरेको बताउँदै यसलाई सदुपयोग गर्न उनी सबैलाई आग्रह गर्छन्। कवि बनेर कविता लेख्न भन्दा पनि कविता लेखेर कवि बन्न सबैलाई उनी आग्रह गर्छन्। कहिल्यै पनि आफूले राम्रो लेख्छु भन्दैमा राम्रो सृजना गर्न नसकिने उनको बुझाइ छ। उनी भन्छन्, ‘कहिले पनि म राम्रो कविता लेख्छु भनेर कसैले लेख्न सुरु गर्दैन, लेख्दालेख्दै कुनै कविता राम्रो भइदिन्छ भने कुनै आफूलाई पनि मनपर्दैन।’ 

पछिल्लो समय युवाहरूले मैले आजै लेखेको कविता, गजल, मुक्तक भन्दै मोबाइल झिकेर कार्यक्रममा सुनाउँदा आफूलाई नराम्रो लाग्ने गरेको उनी बताउँछन्। ‘साधना नगरी लेखेको कुरा त्यहाँबाट पुष्टि हुन्छ’, उनी भन्छन्, ‘सृजना त्यसै हुँदैन, धेरैधेरै मिहिनेत गर्नुपर्छ, कसैले अहिले लेखेँ भन्यो भने यो पत्याउन मलाई चाहिँ गाह्रो हुन्छ।’ कविता लेख्न आफूलाई मुड चल्नुपर्ने उनी बताउँछन्। ‘म कविता लेख्छु भनेर कहिल्यै बस्दिनँ। कहिले बाइकमा, हिँड्दै गर्दा फुर्छ र यसलाई कागजमा लेख्छु र पछि डायरीमा उतार्छु’, आचार्य भन्छन्। 

लेखेको कविता आफैँलाई मनपरे मात्र अरूलाई मनपर्न सक्ने उनी बताउँछन्। कविता, गजल तथा रचना भनेको पहिला आफूलाई मनपर्नुपर्छ अनि मात्र अरूलाई मनपर्छ भन्ने उनको मान्यता छ। आफु पनि आफ्नो पहिलाको कृति भन्दा अझै राम्रो कृति लेख्न सक्छु भनेर ठोकुवा गर्न नसक्ने बताउँछन् आचार्य। ‘पहिलाको जस्तो राम्रो कृति तयार पार्न सक्छु म भन्दिनँ, तर पनि निरन्तर प्रयासमा छु’, उनी भन्छन्, ‘कुनै बेला राम्रो पनि तयार हुनसक्छ, तर नबन्न पनि सक्छ।’ एउटा साहित्यकारले पाठकलाई सधैँ राम्रो कुरा दिने प्रतिबद्धता जनाएर अघि बढ्नुपर्ने आचार्यको बुझाइ छ। 

आफू अलिक फरक स्वभावको भएको भन्दै उनी भन्छन्, ‘धेरै जना आफ्नो भन्दा पनि अरूको चलेका सर्जकको जस्तो कृति भएको भन्ने मनपराउँछन् तर मेरो स्वभावचाहिँ अलिक भिन्न छ। मलाई धेरैले तेरो कविता भूपि शेरचनको जस्तो छ भन्छन्, तर मलाई मनपर्दैन।’ आफ्नो कृति अरूको जस्तो भयो भने आफ्नो सृजना के भन्ने लाग्छ उनलाई। ‘त्यसैले सधैँ कृतिलाई आफ्नो जस्तो बनाउनुपर्छ’, आचार्यको प्रस्ट धारणा छ।

आचार्य बहुप्रतिभाका धनी व्यक्ति हुन्। उनी पत्रकारिता क्षेत्रमा पनि दख्खल राख्छन्। उनी २०५२ सालमा नेपाल पत्रकार महासंघ झापा शाखाको सभापति भइसकेका हुन्। 

आफ्ना प्रेरणाका श्रोत र गुरुका रूपमा सधैँ दान खालिङ, गणेशबहादुर प्रसार्इं, मदन ढकाल, वैरागी काइँला, भवानी घिमिरेलाई सम्झन्छन्। हालसम्म उनका ‘आचार विचार’ मुक्तकसंग्रह, २०५९ सालमा ‘केशव आचार्यका कविताहरू’ कवितासंग्रह, २०६८ सालमा ‘पागल’ गजल एल्बम र २०७० सालमा ‘पागल’ गजलसंग्रह प्रकाशित भइसकेका छन्। ‘केशव आचार्यका कविताहरू’ कवितासंग्रह २०५९ सालमा जयन्तप्रसाद प्रसार्इं साहित्य सेवा कोषअन्तर्गत मेची अञ्चलको सर्वोत्कृष्ट घोषित कृति हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • good story chiran vai , salam 6a kesab baa lai ....