|

धर्मको आवरणमा हुने राजनीतिले समाजमा कस्तो विभाजन ल्याउँछ भन्ने बुझ्न धेरै टाढा जानुपर्दैन। नेपालसँगै सीमा जोडिएको भारतको उत्तर प्रदेशमा चर्किएको विवाद हेरे पुग्छ। धार्मिक उग्रवादका कारण यतिबेला यूपीमा हिन्दू-मुसलमानबीच विभाजन आएको छ। विशेषगरी अल्पसंख्यक मुस्लिम समुदाय शशंकित छन्।

अयोध्यामा दशकौं पुरानो राम मन्दिर र बाबरी मस्जिदको विवाद मुख्यमन्त्रीका रुपमा योगी आदित्यनाथको उदयसँगै चुलिएको छ। उत्तर प्रदेश (यूपी) को विधानसभा चुनावमा भारतीय जनता पार्टी (बीजेपी) ले बहुमत ल्याएपछि योगी आदित्यनाथ मुख्यमन्त्री बनेका छन्। यूपीमा रहेका कट्टर हिन्दुवादीहरु उत्साहित छन्। उनीहरुले निशाना साँध्नसक्ने भयमा मुसलमान समुदाय छन्।

प्राचिन इतिहास अनुसार अयोध्या रामराज्य थियो। मुगल सम्राट बाबरको उदयपछि यहाँ बाबरी मस्जिद निर्माण भयो। बाबरले फतेहपुर सीकरीका राजा राणा संग्राम सिंहलाई वर्ष १५२७ मा हराएपछि यहाँ बाबरी मस्जिद निर्माण थालेका थिए। १५२८ मा मस्जिद निर्माण पुरा भयो। मुगल सम्राटको राज्य रहेका भारतका थुप्रै ठाउँमा त्यसपछि थुप्रै मस्जिद खडा भए।

भारतमा ब्रिटिस राज सुरु भएपछि मुगलहरु अस्ताए। १९४७ मा ब्रिटिसहरुले भारत छाडेर गए। त्यसपछि सुरु भयो, हिन्दु मुसलमानबीचको विवाद।  जसले जन्मायो धार्मिक उग्रवाद र ल्यायो समाजिक विभाजन।

१९४७ मै भारत सरकारले यस विवादित क्षेत्रमा मुसलमानलाई प्रवेश रोक लगायो। मस्जिदको मुख्यद्वारमा ताला लगाइयो। १९८४ मा विश्‍व हिन्दू परिषद्ले एक अभियान सुरु गर्‍यो। बाबरी मन्दिर भत्काएर त्यहाँ राममन्दिर बनाउने घोषणा गरियो। यतिबेलासम्म पनि मुसलमानहरु चुप थिए। तर जब १९८९ मा इलाहावाद उच्च न्यायलयले विवादित स्थलका मुख्यद्वार खोल्नुपर्ने र यस स्थान सधैंका लागि हिन्दुलाई दिनुपर्ने फैसला सुनायो। त्यसपछी एकाएक अवस्था बिग्रियो।  १९९२ मा भड्किएको हिंसाको असर पुरै भारतमा पर्‍यो। हिन्दु र मुसलमानबीच घृणा पैदा हुन थाल्यो।

६ डिसेम्बरमा बाबरी मस्जिदमा विध्वंश मच्चियो। बाबरी मस्जिदसँगै प्राचिन रामयणदेखि कायम रहेको अयोध्याको छवि पनि ध्वस्त भयो। दंगामा २ हजारभन्दा धेरै मारिए। ठुलो संख्यामा मानिसहरु अंगभंग भए।

१० दिनपछि यस घटनाको छानविनका लागि आयोग गठन भयो। त्यसपछि २१ वर्षमा १३ पटक इजलास बस्यो। १८ वटा न्यायाधिसले निर्णय सुनाए। अदालतमा मुद्दा जारी रह्यो।  अतिवादीहरुबीच झडप कायम रह्यो। घटना उस्तै छ। विवाद ताजै छ।

तर्क आ-आफ्नै

प्रसिद्ध दार्शनिक रामचन्द्र गान्धीको शब्द सापटी लिने हो भने बाबरी मस्जिदमाथिको हमाला मस्जिदमाथि नभएर भारतीय सोचमाथिको हमाला थियो। कुनै पनि सम्पदामाथिको आक्रमण हिंसाको क्रुर उदाहरण हो। किनकी कुनै पनि सम्पदा निहत्या हुन्छ। उसले आफ्नो बचाव गर्नै सक्दैन्।

आम हिन्दुहरु रामजन्म भूमीलाई देवत्व प्राप्त भएको स्थान मान्छन्। राजमन्दिर भएपनि नभएपनि यो स्थानलाई श्रद्धा गर्छन्। तर हिन्दु धर्मको आवरणमा राजनीति गर्नहरु यहाँ राममन्दिर बन्नुपर्ने र मस्जिद हट्नुपर्ने तर्क राख्छन्। उनीहरुका अनुसार सम्राट बाबरले केही मुस्लिम देशमा निर्माण कार्य भैरहेका बेला मस्जिद हटाएका थिए। त्यसैको सट्टामा अयोध्यामा मस्जिद बनाए। त्यसैले यो हट्नुपर्छ।  

हिन्दुस्तानका मुसलमानहरुको तर्क बेग्लै छ। यस मुद्दामा मुसलमानका तर्फबाट सिया र सुन्नी दुबै सहभागी छन्। उनीहरुका अनुसार मस्जिद जहाँ पनि एकपटक बनाइन्छ त्यसपछि सधैंका लागि कायम रहन्छ। यो अल्लाहको सम्पत्ति हो। उनले कसैलाई दिन सक्दैनन्। यस विषयमा सर्वोच्चले अदालतले दिने फैसला भने आफुलाई मान्य हुने मुस्लिम समुदायको तर्क छ।

योगी आदित्यनाथको उदयपछि मुस्लिम समुदायमा आशंका 

आदित्यनाथ मुख्यमन्त्री बनेपछि अवस्था कस्तो होला? उनले कस्तो कदम लिन्छन्। आफ्ना कट्टर हिन्दुवादी कार्यकर्ताहरुलाई कसरी सम्हाल्छन्? या कट्टर धर्मालम्बीलाई जोगाउने क्रममा मुसलमान समुदायमाथि विभेद गर्छन्। यी र यस्तै आशंका मुसलमान समुदायमा देखिएको छ। यसअघि उनले दिने गरेका अभिव्यक्ति तथा उनका क्रियाकलापले शंका उत्पन्‍न गराएको हो। 

सन् २०१४ मा उनले भारतबाट अन्य सबै धर्मलाई बढार्ने उद्‍घोष गरेका थिए। यस शताब्दीलाई हिन्दुत्वको शताब्दी बनाउने उनको घोषणा थियो। उनी विरुद्ध अदालतमा १८ वटा केसहरु छन्। त्यसमध्ये हत्या प्रयास र दंगाको आरोप छ।

उनले भारतमा क्रिश्चियन धर्मको प्रचारका लागि मदर टेरेसा आएको विवादस्पद अभिव्यक्ति दिदैं आएका छन्। चर्चित बलिउड अभिनेता शाहरुख खानलाई आतंककारी समेत भन्‍न भ्याएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सातवटा मुस्लिम बाहुल्यता रहेको देशका नागरिकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा योगीले त्यसको समर्थन गरेका थिए। उनले भारतमा पनि यस्तै नियम लागु गर्नुपर्ने बताएका थिए। 

गोरखपुरबाट लोकसभामा सांसद् समेत रहेका योगीले चुनावअघि राममन्दिरको निर्माणका क्रममा आएका बाधाहरु पन्छाएर काम छिट्टै सुरु गर्ने बताएका थिए। त्यसैले हिन्दु कतिवादीहरु उनको उदयपछि खुसी छन्। कतै यो खुसी फेरि दंगामा परिणत हुँदैन? शंका बढेको छ। यस विषयलाई लिएर मुस्लिम नेताहरु चिन्तित छन्। 

यस विषयमा बीबीसीसँग कुरा गर्दै अल इन्डिया मजलिस ए इत्तेहादुल मुसलमीनका नेता असदुद्दी ओवैसीले भनेका छन्,' मन्दिर-मस्जिद विवादमा वार्ताको कुनै संभावना छैन्। यसबारेमा ७ पटक भएका वार्ता असफल भएका छन्।' ओवैसीका अनुसार सर्वोच्च अदालतले जे फैसला दिन्छ त्यसलाई सबै पक्षले मान्‍नुपर्छ।

अदालतले यस विषयलाई आपसी समझदारीबाट सुल्भाउन भनेको छ। तर वार्ताका लागि हिन्दु तथा मुस्लिम उग्रवादी दुबै तयार छैनन्। यसअघि बीजेपी नेता सुब्रमण्यम स्वामीले सन् २०१८ मा राज्यसभामा बीजेपीको बहुमत पुग्‍ने ठोकुवा गर्दै भनेका थिए,'त्यसपछि हामी बाबरी मस्जिदको सट्टामा राममन्दिर बनाउँछौं।'

यस विषयमा ओवैसीले भनेका छन्,'कुनै पनि सरकारलाई बहुमत मिल्छ भने उसले कानून अनुसार फैसला लिनुपर्छ। यदी सरकारले यस्तो गर्दैन भने जनता उसको विरुद्धमा जान्छन्। इन्दिरा गान्धीको समयमा पनि यस्तै भएको थियो।' ओवैसीले भनेका छन्,'स्वामी फ्रस्टेशनको शिकार छन्। उनलाई आफैंप्रति भरोसा छैन्। उनी ब्ल्याकमेल गर्दैछन्। प्रजातन्त्रका नाममा उनले ब्ल्याकमेल गर्न सक्दैनन्। यदी सर्वोच्च अदालतले भोली राम मन्दिरको विपक्षमा फैसला दियो भने स्वामी के गर्छन्?'

उनले मुसलमानले समेत यूपीमा चुनाव जिताउन बीजेपीलाई भोट दिएको स्विकारेका छन्। तर मुस्लिम महिलाले बीजेपीलाई भोट नदिएको उनी दाबी गर्छन्। ' मुस्लिम महिलाले बीजेपीलाई भोट दिएका छैनन्। यसको कुनै तथ्याङ्क छ भने सार्वजनिक गर्दा हुन्छ।'

'यदी मुस्लिम महिलाको भोट पाउने दाबी बीजेपीले गर्छ भने किन कुनै मुस्लिम महिलालाई टिकटसम्म दिएन?' उनको प्रश्‍न छ। भविष्यमा ब्राह्मणवादी दलसँग सहकार्य हुनसक्छ भन्ने प्रश्‍नमा ओवैसीले भनेका छन्,' पहिला हामीलाई आफ्नो ताकत देखाउनु छ। त्यसपछि त कोही साथमा आउँछन्।'

उनीसँग बीबीसले प्रश्न राखेको थियो,'यूपीमा के योगी आदित्यनाथले ताकत देखाउँन दिन्छन्? जवाफमा उनले भनेका छन् 'योगी मुख्यमन्त्री हुन्। खुदा होइनन्।' भारतको सर्वाधिक जनसंख्या भएको प्रदेश यूपीमा झन्डै ८० प्रतिशत हिन्दुहरु छन् भने मुसलमानको जनसंख्या १८ प्रतिशत छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.