सिन्धुपाल्चोक : दश वर्षअघि नयाँ शैक्षिक सत्रका सिन्धुपाल्चोकमा २५ हजार नौ सय बालबालिका विद्यालय प्रवेश गरेका जिल्ला शिक्षा कार्यालयको रेकर्डमा देखिन्छ। तर ती विद्यार्थीमध्ये अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) जम्मा नियमिततर्फ चार हजार ४७७ विद्यार्थी मात्र परीक्षामा सहभागी छन्। बाँकी झण्डै साढे २१ हजार विद्यार्थी कता गए? यो आमचासोको विषय बनेको छ अहिले।
जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार पछिल्लो दश वर्षमा २१ हजार ४२३ विद्यार्थी हराएका देखिन्छ। तथ्यांकअनुसार २०६४ सालमा जिल्लामा १३ हजार २२५ छात्र र १२ हजार ६८५ छात्राले कक्षा एकमा भर्ना गरेका थिए।
अहिलेको एसईई परीक्षामा दुई हजार ४६१ छात्रा र दुई हजार ५६ छात्र सहभागी छन्। कुल भर्नामध्ये ८२ दशमलब ७१ प्रतिशत विद्यार्थीले जिल्लाबाट उच्च शिक्षामा सहभागिता जनाउने छैनन्। दश वर्षमा जिल्लामा रहेका विद्यालयमा १७ दशमलब २९ प्रतिशत विद्यार्थी मात्रै नियमित हुने गरेको यो तथ्यांकले देखाउँछ।
विद्यालय छाड्नेमा पिछडिएका परिवारका विद्यार्थी धेरै
जिल्लामा विद्यालय छाड्ने विद्यार्थीहरूमा विशेषगरी जनजाति, सीमान्तकृत तथा लोपोन्मुख जातिको बाहुल्य रहेको छ। जिल्लामा बीचैमा विद्यालय छाड्ने रोग अझै उस्तै भएकाले पनि परीक्षामा सहभागी हुनेको संख्या निकै न्यून भएको शिक्षकहरूको भनाइ छ।
जिल्लाका विद्यालयमा भर्ना भएर दश वर्षको बीचमा यी विद्यार्थी कहाँ गए भन्ने स्पष्ट जानकारी कसैसँग छैन। भर्ना भएकामध्ये झण्डै ८३ प्रतिशत विद्यार्थी सबैले विद्यालय छाडेका भन्ने तर्क पनि तथ्यसंगत नहुने जानकारहरू बताउँछन्। जिल्लामा पछिल्ला दश वर्षको बीचमा विद्यालय छाड्नेको संख्या पनि धेरै उच्च रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।
गौतमको गृहकार्य असफल
बीचैमा विद्यालय छाड्ने क्रम बढ्दो रहेपछि तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले लगाएको नयाँ जुक्तिले समेत समस्या समाधानतिर जान नसक्नु समाजमा चेतनास्तरको विकास नभएकै कारण हो भन्ने उनी ठान्छन्।
‘यो निकै चुनौतिपूर्ण विषय हो, यसको समाधानका लागि समुदाय सचेत हुनुपर्छ’, जिल्लाका पूर्व शिक्षा अधिकारी गेहनाथ भन्छन्, ‘मेरो कार्यकालमा ड्रप आउट रोक्न निकै समय खर्चिएको थिएँ, पूरै समाधान हुनसक्ने अवस्था छैन।’ उनले अभिभावक तथा विद्यार्थीमा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुनुपर्नेमा जोड दिए।
गौतम जिल्ला शिक्षा अधिकारी हुँदा बालबालिकालाई विद्यालयमा आकर्षित गर्न हेल्प नामक संस्थाको सहयोगमा विद्यार्थीलाई स्टेसनरी, स्कुल ब्याग, पोशाकलगायतका सामग्री वितरण गरिएको थियो।
ढुंगाखानी र नदी किनारमा विद्यार्थी
जिल्लाका विशेषगरी हिमाली गाउँका बालबालिकाले बीचैमा पढाइ छाड्ने गरेको पाइएको छ। सेलाङ, गुम्बा, हगाम जस्ता गाउँका बालबालिकाहरू पढाइ छाडेर ढुंगाखानीमा काम गर्न जाने गरेका छन्। त्यस्तै नदी किनारले छोएका भीमटार, साँगाचोकका बालबालिकाहरू विद्यालय समयमा ट्रिपरमा बालुवा, गिटी हाल्ने काममा जाने हुँदा ड्रप आउट समस्या विकराल बन्दै गएको स्थानीय शिक्षकहरूको धारणा छ।
गरिब परिवारमा जम्मेका विद्यार्थीहरू विद्यालयको शुल्क तिर्न र शौक्षिक सामग्रीको जोहो गर्न नसक्दा विद्यालय छाड्दै ढुंगाखानी र नदी तथा खोला किनारमा काम गर्न जान बाध्य भएका हुन्।
शिक्षा कार्यालयलाई चुनौती
सहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदी यो समस्या चुनौतीको रूपमा रहेको स्वीकार्छन्। ‘जिल्लामा ड्रप आउटको चरम समस्या छ, अनेक जुक्ति लगाउँदा पनि बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सकिएको छैन’, उनी भन्छन्।
यति धेरै संख्यामा विद्यार्थी घट्नुमा कार्यालयले ड्रप आउट मात्रै कारण नभएको तर्क राखेको छ जिल्ला शिक्षा कार्यालयले। ‘प्राथमिक तह पूरा गरेर सहर जाने गरेका पनि निकै भेटिन्छन्’, विद्यार्थी घट्नुको कारण दिँदै सहायक जिल्ला शिक्षा अधिकारी सुवेदीले भने, ‘गुणस्तरीय शिक्षाको आशामा आर्थिक रूपले सम्पन्न परिवारले आफ्ना बालबच्चा नजिकको प्रमुख सहरमा भर्ना गर्दछन्।’ उनले ड्रप आउट पनि मुख्य कारण रहेको भने स्वीकार गरे। अहिले विकट बस्तीका विद्यार्थी विद्यालय फर्काउन ‘दिवा खाजा कार्यक्रम’समेत सञ्चालन गरिएको छ तर पनि अझै विद्यार्थी विद्यालय फर्कन सकेका छैनन्।
आर्थिक रूपले सबल नभएका परिवार जिल्लामा धेरै छन्। घर धान्ने समस्या बढ्दै जाँदा अभिभावकले छोराछोरीलाई विद्यालय पठाउन नसक्ने समस्याका कारण पनि बालबालिकाले बीचैमा पढाइ छाड्नुपरेको अवस्था छ।
जिल्लामा कम उमेरमा नागरिकता/राहदानी बनाई विदेशिने क्रम पनि बढिरहेको हुँदा अहिलेको एसईई परीक्षामा सहभागी हुने विद्यार्थी घटेको शिक्षाविद्हरूको भनाइ छ। सहायक जिल्ला शिक्षा अधिकारी सुवेदी माथिल्लो तहमा पुगेपछि विद्यार्थीहरू कामको खोजीमा लाग्ने हुँदा पनि विद्यार्थी संख्या घटेको बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।