|

उदयपुर : उदयपुरमा कृषिलाई आधुनिक बनाउँदै लैजाने उद्देश्यले ५० प्रतिशत अनुदानमा १३ वटा हाते ट्र्याक्टर कृषकलाई वितरण गरिएको छ। कृषि विकास कार्यालय उदयपुरले चालु आर्थिक वर्ष २०७२/०७३ मा ५० प्रतिशत अनुदानसहित हाते ट्र्याक्टर वितरण गरेको जनाएको छ। 
कार्यालयले मध्यपहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत मिनी ट्रिलर, कृषि प्रसार कार्यक्रमबाट पावर ट्रिलर, ट्र्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको कार्यालय प्रमुख सरोजकान्त अधिकारीले जानकारी दिए। व्यावसायिक तथा बेमौसमी तरकारी खेती गर्न कृषकलाई खेत जोत्न, तरकारी फलफूल लगाउनका लागि हाते ट्र्याक्टर प्रभावकारी हुँदै गएपछि वर्सेनि वितरण गरिँदै आएको ट्र्याक्टर यस पटक पनि वितरण गरिएको अधिकारीको दावी छ।

जिल्लाका व्यावसायिक कृषि पेशामा लागेका छ जना कृषकलाई र सातवटा कृषक समूहलाई ट्र्याक्टर वितरण गरिएको हो। ‘सरकारको ५० प्रतिशत अनुदान रहेको ट्र्याक्टरमा कृषकहरूले भने ५० प्रतिशत रकम तिरेर लगेका छन्’, अधिकारीले भने, ‘ट्र्याक्टर दिएका कृषकलाई कामको चाप हेरेर मात्र दिइएको छ।’

कृषि विकास कार्यालयका अनुसार पुरानै ठेगाना रहेका त्रियुगा नगरपालिका– ८ बगाहाका गंगाबहादुर राई, त्रियुगा नगरपालिका– १७ रातमाटेका प्रह्लाद खतिवडा, रिस्कु गाविस– ४ का पदमबहादुर पाण्डे र कटारी नगरपालिका– ५ का गोपालबहादुर खड्कालाई आधुनिक हाते ट्र्याक्टर दिएको छ। यसैगरी समूहबाट ट्र्याक्टर पाउनेमा युनिका कृषि तथा पशु फार्म त्रियुगा नगरपालिका– १, हरित क्रान्ति तरकारी कृषक समूह कटारी नगरपालिका– २, जागृति महिला कृषक समूह हर्देनी गाविस– ८, नमूना कृषक समूह रामपुर ठोक्सिला, एकीकृत पशुपालन तथा कृषक समूह हडिया गाविस– ५, सगरमाथा कृषक समूह हडिया– ६, मिलिजुली कृषक समूह कटारी नगरपालिका– २, अपर कालिखोला सिँचाइ आयोजना बसाहा– ७ र तावाखोला बलिया सिँचाइ आयोजना कटारी नगरपालिका– ६ लाई आधुनिक हाते ट्र्याक्टर प्रदान गरिएको कार्यालयले जानकारी दिएको छ।
प्रति मिनी ट्रिलरलाई एक लाख १० हजार रुपैयाँ पर्ने आधुनिक हाते ट्र्याक्टर कृषक तथा कृषक समूहले ५० प्रतिशत अनुदान छुट गरी प्रति ट्र्याक्टर ५५ हजार रुपैयाँमा पाएका छन् भने पावर ट्रिलर एक लाख ७२ हजार रुपैयाँ पर्नेमा किसानले ८६ हजार रुपैयाँमा पाएको कार्यालयले जनाएको छ। आधुनिक मिनी ट्रिलर र ट्र्याक्टरले प्रति घण्टा छ कठ्ठा जोत्ने बाली विकास अधिकृत रामसेवक ठाकुरले बताए। चीनमा निर्मित सो आधुनिक ट्र्याक्टर विगत वर्षमा वितरण गरेको भन्दा परिमार्जित भएर आएको ठाकुरको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.