|

निकै नै महत्वपूर्ण खेलमा बलियो प्रतिद्वन्द्वी चिलीविरुद्ध संघर्षपूर्ण जित दर्ता गर्दै अर्जेन्टिनाले विश्वकपमा छनोट हुने सम्भावना कायम राखेको छ। यदि यो खेल हारेको भए अर्जेन्टिनालाई विश्वकपमा छानिन निकै मुस्किल पर्ने थियो।

नेपाली समयअनुसार शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० ले पराजित गर्‍यो। खेलको १६औं मिनेटमा पाएको पेनाल्टीलाई मेस्सीले निर्णायक गोलमा परिणत गरेका हुन्। खेलको बाँकी अवधिमा गोल हुन सकेन र अर्जेन्टिनाले महत्वपूर्ण ३ अंक बटुल्यो। यसक्रममा उसले दुईपटक कोपा अमेरिकाको फाइनलमा बेहोरेको हारको बदला पनि लिएको छ।

जितसँगै अर्जेन्टिना अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १० टोली सम्मिलित दक्षिण अमेरिकी छनोटमा शीर्ष ४ भित्र पर्ने टोलीले रसिया विश्वकपमा स्थान बनाउने छन्। पाचौँ स्थानमा रहनेले प्ले अफ खेल्नु पर्नेछ।

१३ खेलको समाप्तिमा ३० अंकसहित ब्राजिल पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको उरुग्वेले २३ र तेस्रो स्थानको अर्जेन्टिनाले २२ अंक जोडेका छन्। कोलम्बिया २१ अंकसहित चौँथो र इक्वेडर २० अंक जोडेर पाचौँ स्थानमा छन्।

अर्जेन्टिनाले अब बोलिभिया, उरुग्वे, पेरु, भेनेजुएला र इक्वेडरसँग खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.