|

रुकुम : सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि रुकुममा पनि चुनावी माहोल तातिएको छ। जिल्लास्थित राजनैतिक दलहरु आफ्नो चुनावी एजेन्डा लिएर गाउँगाउँमा पुगेका छन्।

यसपटकको स्थानीय तह चुनावसँगै नयाँ स्थानीय तह संरचना समेत कार्यान्वयनमा आएका कारण अधिकांश राजनैतिक गतिविधि पार्टी तथा भातृ संगठनका भेला, सम्मेलन र गाउँ तथा नगर पार्टी संरचना निर्माणमा केन्द्रित भएको छ।

नयाँ संरचना अनुसार रुकुममा ३ नगरपालिका सहित ९ वटा स्थानीय तह बनेका छन्। दलहरुले गाउँ तथा नगरपालिकालाई केन्द्रमा राखेर चुनावी गतिविधि तिब्र बनाएको  नेकपा एमाले रुकुमका प्रचार विभाग प्रमुख धनराज खड्का बताउँछन्। उनका अनुसार अहिले पार्टीको सम्पूर्ण गतिविधि गाउँ केन्द्रित भएर स्थानीय तह अनुसारको पार्टी कमिटीहरु निर्माणमा केन्द्रित छ।

लामो समयपछि हुन लागेको स्थानीय तह चुनावले द्वन्द्वका कारण थिलोथिलो भएका आम रुकुमेलीहरु खुशी मात्र छैनन् यसभित्रका महिला, दलित तथा अन्य पिछडिएका समुदायहरु पनि उत्साहित भएका छन्।

गाउँगाउँमा हुने चुनावी कार्यक्रमहरुमा उनीहरुको उत्साह पनि दिनदिनै थपिरहेको छ। यसपटकको चुनावमा महिलाको समेत राम्रो सहभागिता हुने गरी निर्वाचन मापदण्ड बनेका कारण आफ्नो जित सुनिश्चित गर्न महिला नेतृहरु समेत आआफ्नो प्रचार प्रसारमा लागेका छन्।

नेपाल महिला संघ रुकुमकी अध्यक्ष मनिषा भण्डारी भण्डारीका अनुसार गाउँगाउँमा महिला सक्रियता र चुनावी चेतना दुबै बढेको छ। महिला, दलित र अल्पसंख्यक समुदायहरुको लागि पनि आशाको केन्द्र बनेको आगामी स्थानीय निर्वाचनमा रुकुमस्थित दलित समुदायहरु पनि संविधान अनुसार आफ्नो अधिकार सुरक्षित गर्न गाउँ गाउँमा लागि परेका छन्।

उनीहरु आफ्नो बाजासहित चुनावी प्रचार अभियानमा सहभागी हुदै आएका छन्। रुकुमको सन्दर्भमा सबै नगर तथा गाउँपालिका आफ्नो समुदायका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धाका गाउँगाउँमा प्रचार अभियान जारी रहेको वादी विकास आयोगमा पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा ६ नम्बर प्रदेशका संयोजक पुष्प वादी बताउँछन्।

जिल्ला निर्वाचन कार्यालय रुकुममा १४ वटा राजनैतिक दल दर्ता भएका छन्। १२ वर्षे सशस्त्र द्वन्द्वका कारण विकास तथा अन्य विभिन्न अधिकारबाट बञ्चित रुकुमेलीहरु आगामी स्थानीय निर्वाचन आफ्ना आफूले रोजेका स्थानीय प्रतिनिधिहरुलाई जितलाई विकास तथा समृद्धिको यात्रामा लामबद्ध हुन चाहन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.