|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सरकारी स्वामित्व रहने गरी जिल्लामा ६ वटा नमुना घर बनाइहेको छ। भूकम्प प्रतिरोधी निर्माण प्रविधिबारे समुदायलाई सिकाउने उद्देश्यले दुवाचौर, बाँसखर्क, बरुवा, भोताङ, लाँगर्चे र थकनीमा बनिरहेको नमुना भवन स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको केन्द्रले जनाएको छ।

‘सबल समुदाय सुरक्षित बासस्थानः स्वनिर्माणको प्रवर्धन कार्यक्रमअन्तर्गत अहिले ६ वटा नमुना भवन र ५ वटा सामुदायिक हल निर्माण भइरहेको छ।’ कार्यक्रम संयोजक विनोद शर्माले भने, ‘स्थानीय तहसँगको समन्वयमा सार्वजनिक जग्गा भवन निर्माणका लागि प्राप्त भएको थियो।

बाँसखर्क, लाँगर्चे र थकनीमा झ्यालमाथिको बन्धन राख्ने बेला भएको छ भने भोताङमा ढोका राख्ने बेला भएको छ।’ गाविसले उपलब्ध गराएको जग्गा अपुग भएकोले बाँसखर्कमा नमुना भवन मात्रै बन्ने र अरु गाविसमा सामुदायिक हल (सूचना केन्द्र) पनि बन्ने आत्मनिर्भर केन्द्रले जनाएको छ।

‘लाँगर्चे, बरुवा र दुवाचौर गाविसमा बनिरहेको ट्रस सहितको सामुदायिक हलको डिपिसी बन्धर राखेर ढोका राख्ने बेला भएको छ।’ दुवाचौरका सब ईन्जिनियर विपना सिवाकोटीले भनिन्, ‘सूचना केन्द्रमार्फत समुदायले भूकम्प प्रतिरोधी निर्माण प्रविधि, सरकारी नीति तथा नियम, आवास, भूमि तथा सम्पत्तिको अधिकार,पहुँचयुक्त आवास तथा लैंगिकतासम्बन्धी सूचना, जानकारी पाउँछन् भने नमुना घरमा भूकम्प प्रतिरोधी निर्माण विधिको प्रत्यक्ष अवलोकन गर्न सक्छन्।’

एउटा नमुना घर निर्माणका लागि ११ लाख ८३ हजार रुपैंयाँ, दुईकोठे शौचालय निर्माणका लागि ३ लाख र सामुदायिक हल निर्माणका लागि १० लाख ३९ हजार रुपैंयाँ लाग्ने अनुमान गरिएको आत्मनिर्भर केन्द्रले जनाएको छ। रकम अनुमानित लागत भएको र यसमा जग्गाको मूल्य तथा जग्गा सम्याउँदाको खर्चलाई समावेश नगरिएको कार्यक्रम संयोजक विनोद शर्माले बताए।

‘नमुना भवन, सामुदायिक हल तथा शौचालय पहुँचयुक्त बनाउनुपरेको र सम्पूर्ण सामग्री बाहिरबाटै खरिद गर्नुपर्ने भएकोले नमुना भवन निर्माणका लागि मात्रै झन्डै बाह्र लाख रुपैंयाँ लाग्ने अनुमान छ।’ उनले भने, ‘चोटो सहितको दुई कोठे नमुना भवन निर्माण भइरहेको छ।

समुदायले यस्तै भवन बनाउने हो भने भत्किएका घरका ढुंगा र काठ प्रयोग गर्दा र स्थानीय सामाग्री प्रयोग गरेर पहुँचयुक्त बनाउने हो भने पनि आठ लाखको हाराहारीमा यस्तै घर बन्छ।’

नमुना घर तथा सामुदायिक हललाई पहुँचयुक्त बनाउनका लागि रेलिङ र र्यम्प बनाउने, ह्विलचियर सजिलै ओहोर दोहोर गर्न मिल्ने साइजको ढोका राख्नुका साथै अन्य कुराहरु पनि पहुँचयुक्त बनाइने उनको भनाइ छ।

‘शौचालयमा पनि सबैको पहुँचका लागि र्‍याम्प राखिन्छ। ढोका पनि ३ फिट चौंडाइ सहितको बन्छ। भित्र पनि ह्विलचियर सजिलै घुम्न मिल्ने स्थान राखिने हुँदा दुई कोठे शौचालय पनि सानोतिनो घर जत्रै बन्छ’ शर्माले भने, ‘हामीले निर्माण गर्ने संरचना साँच्चै नमुना बनाउन लागेको हुँदा खर्चमा कन्जुस्याइँ नगरिकनै निर्माणको काम गरिरहेका छौं।’

निर्माण भएका संरचना (नमुना भवन तथा सामुदायिक हल) परियोजना सकिएपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक शर्माले जानकारी दिए। ‘दुई वर्षका लागि सञ्चालन भैरहेको सबल समुदाय सुरक्षित बासस्थान कार्यक्रमको अवधिभर ती संरचनालाई फिल्ड कार्यालयका रुपमा हामीले भोगचलन गर्छौं।

'भवनका लागि व्यक्तिगत जग्गा किन्ने र जग्गा सम्याउने लगायतका काममा गाविस (समुदाय) को पनि लगानी छ’ उनले भने, ‘भवन निर्माण तथा प्रयोगका बारेमा गाविससँग भएको सम्झौतामैं कार्यक्रम सकिएपछि सरकारी स्वामित्व रहने गरी हस्तान्तरण गर्ने कुरा उल्लेख छ। हामी त्यही अनुसार स्थानीय तहलाई हस्तान्तरण गर्छौं।’

एडिएच जर्मनको आर्थिक सहयोगमा केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले सिन्धुपाल्चोकका ६ गाविस थकनी, दुवाचौर, बाँसखर्क, बरुवा, लाँगर्चे र भोताङमा सबल समुदाय सुरक्षित बासस्थानः स्वनिर्माणको प्रवर्धन कार्यक्रम सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.