|

‘एक... दुई... तीन... चार... पाँच... छ.... सात... आठ... नौ... दस... भए पनि नभए पनि आएँ।’

पंक्षीहरू अनुमति दिएर चिरबिराए उनीहरूकै लवजमा। कुसुमले भनिन्, ‘भयो, भयो, आऊ।’

एकआसपास रामप्यारी! (पहिल्यै देखेपछि बूढी परेवी भर्‍याङबाट तल आई, फत्र्याक-फत्र्याक, भुर्र!)

दुई आसपास खैरे! (झ्यालमा भएको भँगेरो फुत्त तल झर्‍यो, भुर्र!)

तीन आसपास ठुँडे! (सारौँ सिलिङमा पो लुकेछ, तल झर्‍यो फत्र्याक्क!)

चार आसपास बाबा! (देखिहाल्यौ नि, ढोकाको चेपबाट बाबा बाहिर आइन्, लुसुलुसु!)

पाँच आसपास छिर्के! (टेबलमुनिको परेवालाई पनि देखेँ, ऊ उफ्रियो, बुत्रुक्क!)

छ आसपास छिमली! (कुर्सीको पछाडिबाट आउँदै गरेको भँगेरालाई पनि देखेँ, बुत्रुकबुत्रुक!)

सात आसपास बुच्चे! (अर्को भँगेरो पनि पछिपछि आउँदै रहेछ, बुत्रुक्क!)

आठ आसपास पखेटे! (पखेटेको पुच्छर गमलाको पछाडि देखेँ, सर्‍याक्क!)

ढ्याप्पा!!! (वीरे घरको छानाबाट उडेर आएर मेरो टाउको बस्यो र खुसीले कराउन थाल्यो, मकुर मकुर घुर, मकुर मकुर घुर) अरू लुकेका पंक्षीहरू रमाउँदै बाहिर निस्के। खेलमा सहभागी नभएका केही पंक्षी दर्शकको भूमिकामा थिए।

‘बाबाऽऽ फेरि पनि तिमी नै डुम भयौ’, कुसुमले जिब्रो निकालेर जिस्काइन्।

‘घरको माथि, रूखतिर जान नपाई भनेको, झेल्ली भयो। ... हुँदैन, आफू हिँड्न सक्दिनँ, प्रस्ट बोल्न सक्दिनँ, मलाई नै पटक पटक डुम बनाउँछौ!’, खेलको नियम बिगारेको हुनाले मैले निहुँ खोजेँ।

‘ल, ल, म डुम!’, कुसुम अघि सरिन्। हामी सबै लुक्नतिर लाग्यौँ। म रमाउँदै भर्‍याङतिर लस्किएँ।

‘ऐया!’, लुक्न खोज्दा भर्‍याङमा बजारिएँ। लडेको थाहा पाएर सबै जोडिए। शरीरबाहिर कतै दुखेन, भित्र चस्कियो, सियो रोपेझैँ। सास रोकिएला जस्तो भयो र खुट्टा नटेकिएर शरीर भुइँमा बजारिएला जस्तो। कुसुम मेरो शरीरको टेको बनेर घिसार्दै कोठाभित्र पसिन्।

आफ्ना लामा जगल्टा, सेता दाह्रा अनि क्रुद्ध आँखाले धुपीको रूखमा लाखे मत्त हाँसिरहेको थियो। हाँसेको, रिसाएको, चिच्याएको वा उन्मुक्त भई मातेको। बिस्तारै धमिलो भई दृश्यमा प्रकाश मधुरो हुँदा आँखाको ढकनी खुला तर दृश्यविहीन बन्दै गयो। बाहिर सबैतिरका झ्यालमा साथीहरू थिए। वीरेलाई भित्रै देखेँ।

‘बाबू! उनी अचेतजस्तै छन्... दाहिने आँखाको नानी, ढुकढुकी चलेको छ, त्यति हो... तुरुन्तै आउनुस्’, मधुर दृश्य देखिरहेको थिएँ। कुसुमले मेरो प्राण थेग्न डा. रौनियारलाई फोन गरिन्। मेरो प्राण रक्षाका लागि मधुर क्रन्दन सुनिरहेको थिएँ। सुगन्धले बतायो, उनी हतारिँदै मेरो छेवैमा आइसकिन्। मेरो जमेको एक ढिक्का शरीरमा उनको प्रेमिल स्पर्श महसुस गर्न सकेको थिइनँ। उनको कोसिस मेरो मृत शरीरमा प्राण भर्ने थियो, पक्कै।

दृश्यको आकाशमा शनैः शनैः कालो रङ्गको पंक्षी उड्न थाल्यो। दुखाइले विना अक्सिजन सगरमाथा ताक्दै गयो। शरीरको देब्रे पाखोबाट क्रमशः हिउँ पग्लिसकेको कालापत्थर बन्यो।

अन्धकार!

बाहिरका सबै परेवाहरू उडेको चर्को आवाजतिर वीरे निराशाले छोपिएर हानियो। भूषण चीरनिद्रामा पुगे पनि रुने कोही थिएनन्। उनकी श्रीमती न होसमा थिइन्, न बेहोसमा।

डा. रौनियार मेसिनकै गतिमा ढोका अगाडि आइपुगेर हर्न बजाए। भित्रबाटै बन्द नीलो ढोका खोल्ने कसले? भित्रको हरियो जङ्गल मौन थियो। रङ्गीबिरङ्गी फूलहरू शान्त, पंक्षीहरू शोकमा, भित्ताहरू निःशब्द थिए। घरभित्रका वृद्धवृद्धा भावविहीन भइगए। निकैबेर ढोकामा आवाज दिइरहे। बरन्डाको कुर्सीमा वीरेले रिमोट देख्यो, नङ्ग्राले च्यापेर चुच्चोले बटम थिच्यो। रौनियार भित्र पस्दा कोही देखेनन्, कुर्सीमा सेतो रिमोटबाहेक। ढोका खुल्नुको रहस्यलाई डाक्टर भएका हुनाले डा. रौनियारले दैवी शक्तिचाहिँ मानिहालेनन्।

कुदेर भित्र पस्दा आमा टोलाइरहेकी थिइन्। वीरे खाटको एक छेउमा थियो। ‘आमा!’ रौनियारले झकझक्याएपछि उनी गहिरो सपनाबाट बिउँझिएझैँ भइन्। शरीर छामेपछि डा. रौनियारले पत्ता लगाए, हार स्वीकार्ने समय भएको रहेनछ। दुवै जना भूषणलाई जीवित तुल्याउन लागे।

‘तिरिमिरी!’, मृत्युपथ चुमेर फर्किंदा दृश्यभन्दा अघि मस्तिष्कमा पंक्षीहरूको मधुर सङ्गीत सञ्चार भयो। आँखाको पर्दा हट्दा रङ्गमञ्चको नजिकै उभिएजस्तो सेतो, सफा, मोटो अनि मुस्कुराइरहेको रौनियारको आकृति देखेँ। उनी अक्सिजन बनेर नआए प्राणपखेरु के रहन्थ्यो!

कुसुम र डा. रौनियार मेरा तन्तुहरूमा प्राण भर्ने प्रयत्नमा तल्लीन रहेछन्। निकै समयको प्रयत्नपछि मुख चलाउन खोज्दा चलेन। हिउँदको बारीझैँ सुकेका ओठ चलाउन खोज्दा निस्किएको ‘किटिक्क’ सङ्गीतले अरूलाई स्पर्श गरेन। बालुवामा भर्खरै फ्याँकिएको माछाभैँ भएको जिब्रो चलाउन बल लगाउँदा धागो छिनेकोजस्तो ‘किटिक्क’ सङ्गीत अरूले सुनेनन्।

पीडाको ध्वनि चर्को हुन्छ, तर अरूले सुन्दैनन्।

नुन-खुर्सानी मोलेझैँ भएका आँखाका दाना चलेनन्। ढुङ्गाले थिचेजस्तो हातमा टाँसिएका औँलाहरू हल्लिएनन्। कान बज्यो, नाकबाट तातो सास निस्कियो। बोल्न खोज्दा स्वर ननिस्किई मुखबाट तातो सास निस्किँदा घाँटीमा राँको बल्यो। इसारा गरेँ, ‘पानी!’

साउती मारेजस्तो निस्किएको भुत्भुताई कसैले बुझेनन्, बुझाउन सकिनँ। मात्रै आँखाका चेपबाट मन तातो बगिरह्यो, सबैले बुझ्ने आँसु भने कुसुमले पुछिरहिन्। उनको क्रन्दन सुनेर म प्रतिक्रिया दिन सक्दैनथेँ। बाहिर साथीहरूको चिरबिरमा गुन्जिएको रोदन मत्थर पार्न उठेर उनीहरूसँगै खेल सुरु गर्न सक्दैनथेँ।

मुस्कुराएँ, मुस्कान अरूका आँखासम्म पुगेन। टाउको घुमाउन खोजेँ, घुमेन। खुट्टा चलाउन खोजेँ, चलेन। आफ्नो भाव आफैँले मात्रै बुझेँ। जसलाई बुझाउनु पर्थ्यो, तिनले मेरो भाव बुझेनन्। जसलाई सुनाउनु पर्थ्यो, तिनले सुनेनन्।

पीडाको लिपि गाढा हुन्छ तर बुझाउन कठिन।

बुझाउने उपकरण कोसँग होला! आफूले अरूलाई बुझ्नु, आफ्नो कुरा अरूलाई बुझाउन नसक्नु जस्तो नालायकी अरू के? दुवै आँखाका चेपबाट बग्दै गरेको तातो कुसुमले पुछिरहिन्। पहाड चढिरहेको पीडा आँखाबाट बग्यो, बगिरह्यो, बग्नुको विकल्प खोई?

डा. रौनियार र कुसुमको अथक प्रयत्नपछि यी तन्तुहरूमा बिस्तारै प्राण भरिँदै गयो। पोलिरहेका तन्तुहरूमा ऊर्जा थपियो। डा. रौनियारले घोचेर पानी पठाएका होलान्, सुकेका तन्तुहरू बालुवामा पानी परेझैँ भए। उनले ल्याएको कफी रौनियारले पिउन सुरु गरे। चम्चा मेरो मुखमा आइपुग्दा तातो भयो। निल्ने प्रयत्नमा मैले कफीभन्दा अघि बाबाको ममता निलेँ। चाउरिएका तन्तुहरूबाट बाफिँदै निस्किएको बालसुलभ लाग्ने एक घुट्को प्रेम पनि निलेँ। निल्दा बजेको रुद्रघण्टीको सङ्गीत त सुने होलान्।

जीवन अनि जगतसँगको प्रेम टुटाउनै कठिन!

डाक्टर भेषका भगवान् रौनियार निकै समय ओखती बनेर बसे। भगवान् नभए किन सेवा गरिरहन्थे? फोन गर्नेबित्तिकै किन आउँथे? ओखतीको पोको किन ल्याउँथे? व्यायाम किन गराउँथे? सेवाको कुनै मूल्य हुँदैन।

रौनियारको प्रेमिल स्पर्शले दिउँसोतिर सहज भयो। मेरो सहजता पढेर निस्किने तयारीमा लागे। ‘बुबा, स्थिर र मौन नबस्नुस्। घिस्रिँदै भए पनि हिँड्नुस्। प्राणायामहरू दोहोर्‍याइरहनुस्। खेल खेल्नुस्। जे आउँछ, त्यही खेल्नुस्’, उनले जाँदाजाँदै भने, ‘उताका डाक्टरसँग पनि सल्लाह गरिरहेको छु, योगा, फिजियो थेरापी, भ्वाइस एक्सरसाइज उतैको डाक्टरले दिएका अभ्यास हुन्। यी अभ्यास रोक्नुभयो भने गाह्रो हुन्छ।’ बाहिर पुग्नै लागेका उनी फर्केर आए, ‘हो कि हैन भन्नुस् त? जीवन भनेकै खेल हो, जवानीमा जित्न खेलिन्छ। बुढ्यौलीमा जिउन खेलिन्छ।’ हृदयमा बगेको भेल आँखाबाट प्रेमिल भई बर्सिंदा उनी त ओझेल परिसकेछन्।

दुइटा नयाँ आसन अनि नियमित अभ्यासको बासी मेनु पस्किएर रौनियार गए। ढोकाबाहिर पुगुन्जेल नगइदिऊन् भन्ने आशयले डुबुल्किएका मेरा आँखा उनीतिरै बगिरहे। उनी जाँदा जीवित रहने आशा पनि सँगसँगै गयो।

सास फेरूँ कसरी, नफेरूँ कसरी? उठूँ कसरी, नउठूँ कसरी? चलूँ कसरी, नचलूँ कसरी? बोलूँ कसरी, नबोलूँ कसरी? खाऊँ कसरी, नखाऊँ कसरी? उकालो चढ्दै गइरहेको सासलाई फर्काऊँ कसरी? पत्थर बन्दै गइरहेको शरीरलाई चलाऊँ कसरी? भित्री बाहिरी तन्तुहरू बिस्तारै-बिस्तारै निष्काम बन्दै थिए, ती तन्तुहरूलाई खेलतिर फर्काऊँ कसरी? रमाउन खोज्यो, खुसी खोई? हिँड्न खोज्यो, पाइला खोई? बोल्न खोज्यो, आवाज खोई? खेल्न खोज्यो, आँट खोई? मेरो सहारा ह्विल चेयर नै भयो।

कुनै दिन हामीलाई यस्तो खेलमा निम्त्याइरहेको थियो! बाहिर शिव–रूखमुनि तयार रहेको टेबलमा उनले सबै रङ्ग ल्याएर राखेपछि, केही ब्रस ल्याइन् अनि ल्याइन्, एउटा ठूलो क्यानभास। आफू सेतो गाउन लगाएर त्यस्तै वस्त्र मलाई पनि लगाइदिइन्। हामी दुई सेता भयौँ, परिवेशमा हरियाली, फूलहरू फुलेका, रूखमा पालुवा पलाएका। रङसँग हरेक भाव व्यक्त गर्ने शक्ति हुन्छ। क्यानभासमा रङ दल्न सुरु गरिन्। उनी मनका रङसँग खेल्दै मलाई खेलतर्फ आकर्षित गराइरहेकी थिइन्।

ह्विल चेयरमा घिस्रिँदै-घिस्रिँदै उनी समीप पुगेँ। डा. रौनियारले ह्विल चेयर हटाउनका लागि बैसाखी ल्याइदिएका थिए। ब्रस समाएर आफ्नो मनको रङमा चोबी गालामा छुवाउँदा चाउरिएको उनको गाला अलिकति पहेँलियो, उनी रमाइन्, उनले मेरो गालामा ब्रस छुवाउँदा म पनि रमाएँ। उनको मुखाकृति हरियो, नीलो, बैजनी, गुलाबी भएर रङ्गिँदा मेरो अनुहार पनि रङ्गीन बनिसक्यो। हामी दुवै जनाको पहिरन पनि रङ्गियो। हामी चाहन्थ्यौँ– रङ्गीन चित्र हैन, हाम्रो जीवन बनोस्। हाहाहा!... रङ्गीन जीवन नचाहने को होला यो जगतमा?

चिरबिराउँदै रूखतिरका साथीहरू रङ्गीन खोज्दै थिए। रङ क्यानभासमा भन्दा बढी हामीले आफैँलाई लगायौँ। उनले मलाई, मैले उनलाई रङ लगाइदिँदा चाउरिएको आकृति बिलाएर रङ्गीन पुतलीको रूप लियो। भाले पुतली पोथी पुतली, दुलाहा–दुलही, भँगेरा–भँगेरी, परेवा–परेवी, भाले ढुकुर पोथी ढुकुर, भाले सुगा पोथी सुगा, जे भने पनि भयो, जे माने पनि भयो। हार-जीतविनाको खेलमा यो छुट थियो। हाम्रो सेतो वस्त्र रङ्गीन होली किन आउनुपर्‍यो! हामीलाई सधैँ होली, सधैँ तिहार! हामीलाई सधैँ कालो, सधैँ नर्क!

सिमलको भुवा जस्तो कपाल अनि आँखीभौँ, नर्सरीको बच्चाले जथाभावी लेखेको कापीको पाना जस्तो सेतो चाउरिएको अनुहार, हिमाल हाँसेजस्ता सेता दाँत। ठूलो ऐना हामीलाई पढिरहेको छ। नर्सरीको बच्चाले सादा पानामा बनाएको आकार नमिलेको चित्रझैँ देखियौँ हामी।

रङ्गिएपछि उनी बच्चाले बनाएको आमाको चित्र जस्तो लागिन्, अर्कै। म अर्कै देखिएँ। उनी बगैँचाका फूलपातमा नाचिरहने रङ्गीन पुतली जस्ती देखिइन्। म डोरीको सहारामा अरूले जता नचायो, त्यतै नाच्ने कठपुतली जस्तो देखिएँ। बगैँचाभरि रङ्गिएर हामीले निकैबेर बेमौसमी होली खेलिरह्यौँ। रङहरूमा हामी खुसीका किरण खोज्थ्यौँ।

खेल्दाखेल्दै थाकेपछि उनले वस्त्र फुकालेर त्यही टेबलमा राखिदिइन्। कहिलेकाहीँ नयाँ त कहिलेकाहीँ पुरानै वस्त्र लगाएर रङ्गहीन जीवनलाई रङ्गीन बनाउन हामी रङसँग खेल खेल्थ्यौँ।

खेलपछि आफ्नै पीडाले कट्कटिएको ओछ्यानमा उनी एकपट्टि थिइन्, म अर्कोपट्टि। रोए पनि हामी दुई, हाँसे पनि हामी दुई। खेले पनि हामी दुई, नखेले पनि हामी दुई। उनी छोरा बने म छोरी। उनी बाउ बने म आमा। उनी कृष्ण बने म राधा। उनी गाई बने म भैँसी। उनी बेहुला बने म बेहुली। यसैगरी धेरैजसो केटाकेटीको खेल हामी खेल्थ्यौँ। उनले थपडी बजाए म नाच्ने। मैले गीत गाए उनले डाडुको माइक बनाएर अगाडि तेर्स्याउने। कहिले उनी पुतली, कहिले म पुतली। यसैगरी खेलिरहन्थ्यौँ खेल। खेल्नु अनि सकेसम्म खेलिरहनु मेरो स्वास्थ्यका लागि डा. रौनियारले पस्किएको फाइदाजनक मेनु थियो।

अर्को खेलको किसिममा म कथा सुनाउँथेँ, उनी सुन्थिन्। अरूका हैनन्, आफ्नै कथा। नबनाइएका, नखोजिएका, नलेखिएका कथा। म कथावाचक भएर बोलिरहँदा उनी सुन्थिन्। घरका सेता शून्य भित्ताहरू पनि सुन्नेमा पर्थे, प्रतिक्रियाशून्य भए पनि यिनीहरू साक्षी थिए लामो कालखण्डको। म बोल्दा स्वरमा पीडा निस्किन्थ्यो। त्यही पीडाको स्वरले कानभित्र घोच्दा उनी सुन्थिन्। हाम्रा कुरा हाम्रा आफ्नै अनुभूतिले ज्यादा सुन्थे। श्रवणशक्ति नभएका ती निर्जीव भित्ताहरूलाई पीडा पनि रोमान्स लाग्दो हो! सोच्दा हुन्, यी अशक्त बूढाबूढीले कति रोमान्स गरेका!

उनी मेरा लागि अनि म उनका लागि। हामी दुवै थियौँ केका लागि? धुकधुकी केको मोहले चलिरहेको हो? घरको ढोका केका लागि खुल्थ्यो र बन्द हुन्थ्यो? विना इञ्जिनले कहिलेसम्म तान्ने होला ठेला जिन्दगी? यो संसारमा नहुन किन सकिँदैन? सास नफेर्न किन सकिँदैन? नछोड्न यी अवयवहरूलाई किन सकिँदैन?

रातैभरि जागा रहन्थेँ अनि खेलिरहन्थेँ प्राण बचाउन खेल। उनी जाग्राम रहेर मेरो अचेत शरीरमा प्रेमिल स्पर्श गरिरहन्थिन्। दुवै सँगै निदायौँ भने चीरनिद्रामा पुगिने भयले ढोका घचघच्याइरहन्थ्यो। लास उठाउने कोही नभएपछि घरैभरि कीरा भरिएलान्। कोही भित्र पस्न नपाएपछि कीराहरूले राज गर्लान्। त्यसै कारण उनी जागा रहँदा मलाई सुमसुम्याइरहन्थिन्। म जागा रहँदा खेल खेलिरहन्थेँ। खेल्दै खेल्दै प्राणलाई फुल्याउनु थियो, चट्टै निस्किएर नजा!

उनको चाउरिएको हत्केला मेरा लागि हनुमानले खोजेर ल्याएको सञ्जीवनी थियो। मेरो पीडाको दृश्यविहीन झोल उनी नीलकण्ठेश्वर बनी निलेर नयनको नीलदहबाट बगाउँथिन्। तर मेरो पीडा कसरी सकिने?

रुमाल धुन्थिन्, पानीले हैन, आँसुले! हरक्षण बगिरहने आँसु जमाएर डुबुल्की मार्दा पीडा मेटिने भए घरपछाडि बैँसको कुवा भर्नु हुन्थ्यो। पालैपालो नग्न भएर डुबुल्की मार्नु हुन्थ्यो। जहाँको पानी सुकेर माछा सिकार भइसकेका थिए। बैँसमा त्यही पोखरीमा पौडिन्थ्यौँ। त्यहीँ पौडिएका माछा कल्पिएर रमाउँथ्यौँ। हात कमाउँदै मेरो गाला मास्तिर पुर्‍याउँथिन्। आँसुको भेल रोक्न खोज्थिन्, रोकिँदैनथ्यो। मानौँ मेरो देब्रे आँखा अश्रुतालमा डुबेको थियो। पौडिन नआएर छट्पटिँदा आँसु छचल्किएर बाहिर निस्किएको हो। अश्रुतालमा वर्षा लाग्थ्यो, हिउँद लाग्थ्यो, कहिलेकाहीँ हिमपात पनि हुन्थ्यो।

उनको चाउरिएको शरीर मसँगै टाँसिरहन्थ्यो। उनको शरीरको तातोले मेरो शरीर नरम हुन्थ्यो। यौवनले हामीलाई चुम्बकका नटाँसिने दुई ध्रुव बनाएर पनि टाँसिन बाध्य थियौँ। उनको स्पर्शबिना मेरो शरीर निष्काम थियो। उनको चाउरिएको स्पर्शले रमाउँथेँ। बाथरुम जाँदा उनीसँगै हुन्थिन्, वस्त्र खोलिदिएर पहरेदार बन्थिन्। बाहिर निस्कन्थेँ, पछ्याइरहन्थिन्। केही न केही बोल्नलाई बाध्य पारिरहन्थिन्, बोलिरहन्थेँ।

उनका आँखा एकछिन मलाई नदेख्न सक्दैनथे। उनका कान एकछिन मलाई नसुन्न सक्दैनथे। जीवनको बाध्यता प्रेममा बदलिइसकेको थियो। उनी केही पाइला टाढा हुँदा मेरो शरीर भारी भइहाल्थ्यो।

उनी भान्सा कोठा, बाथरुम वा कतै अलमलिएका बेला काम्दै-काम्दै उभिन्थेँ। लट्ठीको सहारामा ऐना अगाडिसम्म घिस्रिँदै पुग्थेँ। हेर्थें आफ्नो रोगले गालेको विरूप शरीर। देख्थेँ कुसुमको प्रतिविम्ब! हाम्रा दुई शरीरका आत्मा एकै भएझैँ लाग्थ्यो।

मेरो स्वर मुखबाट कम, नाकबाट बढी निस्किन्थ्यो। मुखबाटै सबै स्वर निकाल्ने प्रयत्न जारी थियो। स्वरग्रन्थी, मुख, नाकका देब्रे भागभन्दा दाहिने भाग बढी सक्रिय थिए। देब्रे भागलाई पनि सक्रिय बनाउने प्रयत्न जारी थियो। प्रयत्न जारी राख्नुबाहेक जीवन केही हैन रहेछ। निस्किएको आवाज हो कि भुत्भुताइ मात्र! ठम्याउन नियमित दर्शक चाहिन्थ्यो।

भित्ता समाएर ह्विल चेयरबाट कठिनसँग उठेँ। उठ्दा केही पटक लडेको गन्ती हुँदैन। परबाट बैसाखीहरूले खिस्याइरहेका हुन् कि भनेर घिस्रिँदै तिनै छेउ पुगेँ। बिस्तारै काखीमुनिबाट टेको दिएँ। देब्रे शरीर निदाइरहेको थियो, बिउँझिन बिर्सियो। हरक्षण यसलाई बिउँझाउने प्रयत्न जारी थियो। जिउनका लागि खेल्नु नै थियो। उडेर! नाचेर! कथा भनेर! डा. रौनियारले पस्किएका योगा, प्राणायामका खेल दोहोर्‍याएर। यदि प्रयत्न रोके देब्रे शरीर प्राण गुमाएर लास बन्थ्यो। तुरुन्तै डा. रौनियारलाई प्राण फर्काउन नबोलाउनु मलामीलाई पर्खनु हो।

सधैँजसो बोल्दै बगैँचामा पुगेँ। घर अगाडिदेखि बोलिरहेको थिएँ। घर पछाडि पुग्दा उतैबाट आवाजलाई चर्को बनाउनुपर्थ्यो। तयार रूख, भित्ता, पंक्षीहरू, फूलहरू, माटो, पत्कर मेरो पीडाले कामेको आवाज ध्यानपूर्वक सुन्थे। बुझे पनि नबुझे पनि खेलमा प्रत्यक्ष वा परोक्ष साथ दिइरहन्थे। हेरेँ, झ्यालभित्र उनी थिइन्, झ्यालबाहिर पीडा मञ्चन गरिरहेको म।

(टंक चौलागाईंको उपन्यास 'टालाटुली' चैत्र १४ गते सोमबार सार्वजनिक हुँदै छ। यो उपन्यास सांग्रिला बुक्सले प्रकाशन गरेको हो।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.