|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक: जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा टिबी (क्षयरोग) रोगको बारेमा जाँच गर्ने मेसिन अहिलेसम्म पनि नभएको बताएको छ। शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलमा जिल्ला स्वास्थ्य कार्यालयले विश्व क्षयरोग दिवस मार्च २४ को अवसरमा सो रोगबारे जानकारी दिन गरिएको पत्रकार अन्तक्र्रियामा यस्तो बताएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोगसम्बन्धी फोकल पर्सन राजाराम अधिकारीले क्षयरोगबारे प्रस्ट जानकारी दिने जिनएक्स्पर्ट मेसिन नभएको कारण रोगले कस्तो खालको असर गरिरहेको छ भन्ने विस्तृत जानकारी दिन नसकेको बताए।

‘हामीकहाँ सामान्यतया खकार जाँच गरेर क्षयरोग लागेको हो वा होइन भन्ने लक्षण पत्ता लगाउने मात्रै प्रविधि छ, अधिकारीले भने, ‘विस्तृत रुपमा जानकारी दिन परीक्षण गर्ने जिनएक्स्पर्ट मेसिन छैन, ‘त्यसैले गर्दा पूर्ण रुपमा रोगबाट कति महिनासम्मको औषधी सेवन गर्नुपर्ने बिरामी छ भन्ने कुरा पत्ता लगाउन सकिरहेको छैन।’ उनले भने। त्यसको लागि काठमाडौंसम्म पुगेर परीक्षण गरेर आएपछि मात्रै थाहा हुने उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा.अर्जुनप्रसाद सापकोटाले उक्त मेसिन अत्यन्तै महँगो भएको कारण उपलब्ध नभएको बताए। ‘मेसिन अत्यन्तै महँगो हुन्छ’ सापकोटाले भने, ‘त्यस्तो मेसिन देशभरिमा नै जम्मा १५् / १६ वटा मात्रै भएको भन्ने जानकारीमा आएको छ।’

धुलिखेल सामुदायिक अस्पतालका प्रमुख डा. राजेन्द्र कोजुले पनि उक्त मेसिन अत्यन्तै महँगो भएकाले र नेपाल सरकारबाट नै व्यवस्था गर्नुपर्ने भएकोले ल्याउने प्रोसेस भइरहेको बताए। ‘हामी कहाँ क्षयरोगबारे जँचाउने एऋच् भन्ने मेसिन पनि छ तर, त्यसले भन्दा बढी राम्रो जिनएक्स्पर्ट भन्नेले गर्छ’ कोजुले भने, ‘त्यसको लागि नेपाल क्षयरोग निवारण संस्थाले गर्ने भएकाले केही महिना भित्रमा नै ल्याउने प्रक्रियामा छौं।’

अहिले जिल्लामा विभिन्न १४ वटा स्थानमा खकार परीक्षण गर्ने केन्द्र रहे पनि सबैभन्दा बढी क्षयरोगको जाँच गराउने अस्पताल धुलिखेल सामुदायिक अस्पताल मात्रै रहेको जनाएको छ। यसरी क्षयरोगको वारेमा जाँच गराए पनि उक्त अस्पतालमा समेत जाँच गर्ने मेसिन छैन।

यस्तो छ जिल्लाको अवस्था

जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोगसम्बन्धी फोकल पर्सन राजाराम अधिकारीका अनुसार कुल जनसंख्याको अनुमानित ४५ प्रतिशत व्यक्ति क्षयरोगबाट संक्रमित छन्। जसमध्ये ६० प्रतिशत युवा र वयस्क रहेको जनाएको छ।

काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष ०७२/०७३ मा क्षयरोगीको संख्या १ सय ९२ जना रहेको अनुमान गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।अनुमानित संख्यामध्ये १ सय ५८ जना संक्रमित पत्ता लागेको र तीमध्ये १८ जना अत्यन्तै सर्ने खालको रहेको फोकल पर्सन अधिकारीले बताए।

जिल्लामा हालसम्ममा २ जना बहु औषधी प्रतिरोधका बिरामीको उपचार भइरहेको उनले जानकारी दिए। ती दुई जनामध्ये १ जना खोपासी केन्द्रबाट र १ जनाको बनेपा केन्द्रबाट उपचार गराइरहेको सो अवसरमा जानकारी दिए।

स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष ०६४/०६५ को विवरणअनुसार हरेक वर्ष सो रोगको कारण ५ देखि ७ हजार जना सम्मको क्षयरोगीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ। अधिकारीका अनुसार सो रोगसम्बन्धी हरेक १० वर्षमा मात्रै तथ्यांक सार्वजनिक गर्ने भएकाले अहिलेसम्म पनि ०६४/०६५ को तथ्यांकलाई नै आधार मानी काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.