|

 

वर्षौंदेखिको
एउटा 
अनुत्तरित प्रश्न बोकेर
उभिइरहेको छु 
म यो पुर्खाहरूको देशमा
कि जहाँ प्रत्येक रात 
आफ्नै सपनाहरूको मृत्युमा
डाको छाडी–छाडी रुन नसकेर
फगत बाँचिरहेको छु
एउटा खण्डहर जिन्दगी।

 

म के जन्मिएँ?
यदि पानी जन्मिएको भए
बगिरहेको हुन्थेँ होला
नदी भएर समुद्रसम्म
र भेट्थेँ होला आफन्तहरू
यदि हावा जन्मिएको भए
बहिरहेको हुन्थेँ होला 
यतै कतै मान्छेहरूको भीडमा
कि आकाश जन्मिएको भए
ताराहरू जस्ता असङ्ख्य 
तक्माहरू झुण्ड्याएर छातीभरि
टाँगिरहेको हुन्थेँ होला
आफ्नै पृथ्वीमाथि।

तर 
म एउटा गन्तव्यहीन यात्री झैँ
वर्षौंदेखि हिँडिरहेछु 
वस्, हिँडिरहेछु।

 

यात्रामा कतिकति मान्छेहरूलाई
मैले केके सोधेँ हुँला
कतिलाई सुनाएँ हुँला
थुप्रै जिन्दगीका भोगाइहरू
कैयौँ प्रश्नहरू गरेँ हुँला
कि देश र माटो के हो?

 

म आफैँले आफैँलाई पनि 
थुप्रै पटक सोधेको छु
आफ्नै घर जाने बाटोहरू
हेरेको पनि हो 
आँखाको नानीमा आकाश बनाएर
फिँजाएको पनि हो
सपनाहरू बिस्कुन जस्तै
यही धर्तीको आँगनभरि
गरेको पनि हो, थुप्रै प्रश्नहरू।

 

आज पच्चीस वर्षपछि
यो चुहिरहेको छाप्रोमुनि बसेर
सम्झिरहेको छु, मेरो बाल्यकाल
एकोहोरो निर्निमेष पढिरहेछु
मेरी बूढी आमाको चाउरिएको अनुहार।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • दाइ, हृदयस्पर्शी र धेरै नै मिठो लाग्यो हजुरको गजल ।