|

काठमाडौं : चैत ३ गते भारतीय सीमावर्ती शहर मोतिहारी जाने क्रममा सांसद दुलारीदेवी महतो (अघोरी) चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दियो। मोटरसाइकल चालक उनका आफन्त रवीन्द्र साहको घटनास्थलमा नै मृत्यु भयो। उनी गम्भीर घाइते भइन्। ललितपुर सानेपाको बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा बिहीबार बेलुका निधन भयो।

सांसद दुलारीको शव शुक्रबार बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म एमाले मुख्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। सांसद दुलारीलाई अन्तिम श्रद्धाञ्जली दिएपछि शव नेपाली सेनाको हेलिकोप्टरबाट गृहजिल्ला सप्तरी लगिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दुलारीको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे। वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु श्रद्धाञ्जलीका लागि धुम्बाराही पुगेका थिए।

यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि, शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादव, विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंह र सांसदहरु पनि दुलारीलाई श्रद्धाञ्जली दिन एमाले पार्टी कार्यालय पुगेका थिए। 

को थिइन् दुलारीदेवी?

२०२७ साल वैशाख ३ गते जन्मिएकी दुलारीदेवी २०५२ सालबाट नेकपा एमालेमा सक्रिय भएकी थिइन्। सर्लाही ब्रम्हपुरी-८ निवासी दुलारी देवी मधेसी दलित समुदायकी नेता थिइन्। स्थानीय भाषामा गीत संगीत मार्फत चेतना जगाउन लामो समयदेखि क्रियाशील दुलारी मधेसी अल्पसंख्यक दलित अघोरी समुदायबाट पहिलो नेता हुन्।

'दुलारी कमरेड मधेशमा पनि दलित समुदायको हुनुहुन्थ्यो। उहाँको अघोरी भन्‍ने समुदाय अत्यन्तै अल्पसंख्यक हो। यो समुदायबाट यो लेभलको नेता हुने उहाँ नै पहिलो व्यक्ति हो' एमालेको जनवर्गीय संगठन मुक्ति समाजमा महासचिव गणेश विश्वकर्माले भने, 'उहाँ मुक्ति समाजबाट एमालेको राजनीति गर्नुभएको हो। विशेषगरी आफ्नो स्थानीय भाषामार्फत जनता जगाउन उहाँको ठूलो भूमिका छ।'

दुलारी पार्टीभित्र कलाकार पनि थिइन्। आफ्नो समुदाय र मधेसमा गीत संगीत मार्फत चेतना छर्नमा पनि उनी अग्रणी थिइन्। एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको गाउँ, जिल्ला, अञ्चल कमिटि हुँदै हाल प्रदेश नम्बर २ स्तरीय कमिटिको सदस्य रहेकी दुलारी मुख्यतः सांस्कृतिक कर्मी थिइन्। २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनबाट उनी समानुपातिकतर्फ सांसद भएकी थिइन्।

मधेसमा एमालेको प्रभाव जमाउन होस् वा आफ्ना अधिकारबारे सचेत गराउन एमाले सांसद दुलारीदेवी गिरी (अघोरी) आफ्नै स्थानीय भाषामा गीत बनाएर स्थानीयलाई जानकारी दिन्थिन्। गीत, नृत्यबाट नै उनले वर्षौदेखि सर्लाहीमा एमालेको अभियानमा साथ दिएकी थिइन्। 

फागुन २३ गते सप्तरीमा एमाले सभामा झडप हुँदा एमालेले २ नम्बर प्रदेशका तीन दिनका कार्यक्रम स्थगित गरेपनि दुलारी भने आफ्नो क्षेत्रमा निरन्तर पार्टी काममा सक्रिय थिइन्। 

समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएपछि संविधान निर्माणका क्रममा दुलारीले पार्टीका दृष्टिकोण र अडानहरुलाई कार्यान्वयन गराउने सन्दर्भमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको एमालेले जनाएको छ। दिवंगत दुलारीका श्रीमान् सुखारी अघोरी, दुई छोरा र दुई छोरी छन्।

उनको निधनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'दलित समुदायमा जन्मिएर तराई/मधेसका सबै जनसमुदायमा पार्टीको निर्माण तथा विस्तारका लागि पुर्‍याएको योगदान स्मरणीय रहिरहने छ, नेपालको भौगोलिक एकता, जातीय र सामाजिक सद्भावलगायत पार्टीका विचार, दृष्टिकोण र अडानहरुलाई दृढतापूर्वक लागू गराउनमा निर्वाह गरेको भूमिकाका कारण जनताको सच्चा प्रतिनिधिका रुपमा कमरेड दुलारीदेवी स्मरण भइरहनुहुनेछ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.