|

  • मणिलाल विश्वकर्मा-

लहान : स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतलाई म्याद थप गरी अदालतबाट बाहिर निकाल्ने क्रममा नारावाजी गर्दै प्रहरीलाई ढुङ्गामुढा गरेको आरोपमा सिरहा सदरमुकामबाट एक युवक पक्राउ परेका छन्।

औरही गाउँपालिका इँटाटार घर भएका सिकेन्द्र यादवलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले जानकारी दिए। इमली चोकस्थित जिल्ला अदालतबाट राउतलाई म्याद थप गरेर लहान फर्काउने क्रममा ३५ भन्दा धेरै युवाहरुले प्रमुख जिल्ला अधिकारीको निवास अगाडिको सडकमा ‘फ्री मधेस’ को नारावाजी गर्दै प्रहरीतर्फ ढुङ्गा हानेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीको कडा सुरक्षा घेरामा राउतलाई लहानबाट बिहान साढे १० बजे नै म्याद थपका लागि जिल्ला अदालत पुर्‍याएको थियो।

राउतलाई अदालत लैजाँदा र फर्काउँदा उनका समर्थकहरुले अवरोध गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सदरमुकामको हेमनारायण चोक, जिल्ला अदालत, प्रजिअ निवास अगाडि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।  

फेरि १० दिन म्याद थप

इलाका प्रहरी कार्यालय लहानमार्फत् राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा सिरहा जिल्ला अदालतले पाँचौं पटक शुक्रबार प्रहरीलाई थप १० दिन हिरासतमा राखेर राउतको अनुसन्धान गर्न आदेश दिएको छ।

धनुषाको जनकपुरमा पक्राउ गरी सिरहा ल्याएर पहिलो पटक गत माघ २१ गते राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दामा अदालत उपस्थित गराइएका राउतलाई अनुसन्धानका लागि पहिलो पटक अदालतले १० दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो। त्यसपछि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक फागुन २२ गते २० दिनको म्याद थपेको थियो।

अनुसन्धान अन्तिम चरणमा

मुलुक विखण्डन गर्ने गरी स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा माघ २० गते पक्राउ गरी मुद्दा चलाइएका राउत विरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी उपरीक्षक कोइरालाले बताए। ‘अनुसन्धान करिब अन्तिम भएको छ, पछिल्लो पटकको म्याद पनि अन्तिम भएकाले अब मुद्दा अदालती प्रक्रियामा जान्छ’ उनले भने।  

अन्य आठ जना पनि अनुसन्धानमा

मुलुक विखण्डनको वकालत गर्दै आएका राउत विरुद्ध प्रहरीले मुद्दा चलाएपछि उनको पक्षमा प्रदर्शन गर्नेमध्ये सिरहा र लहानबाट पक्राउ गरिएका आठ जना विरुद्ध पनि राज्य विरुद्धको संगठित अपराध अन्तर्गतको मुद्दा चलाइएको छ। प्रहरीले सिरहाको मिर्चैया नगरपालिका ३ का रुपेश साह,  सिरहा नगरपालिका ७ का विपिन यादव,  राजकुमार यादव, रामशंकर यादव, सुरेशप्रसाद यादव,  रोशनकुमार यादव, सञ्जय यादव र अशोककुमार यादवलाई उक्त मुद्दा अन्तर्गत हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.