|

विराटनगरः नेपाल पत्रकार महासंघ मोरङले यसैवर्ष स्थापना गरेको देशकै पहिलो सूचनाको अधिकार षष्टिका बस्नेत स्मृति सूचनाको अधिकार पुरस्कार–२०७३ राष्ट्रिय सूचना आयोगका प्रथम प्रमुख आयुक्त विनय कसजुलाई प्रदान गर्ने निर्णय गरेको छ।

पत्रकार महासंघको जिल्ला समितिको शुक्रबार बसेको बैठकले पुरस्कार छनोट समितिले सिफारिस गरेको कसजुको नाम अनुमोदन गरेको हो। पुरस्कारको राशि ५० हजार ५१ छ।

कसजुले सूचनाको हकसम्बन्धी ऐन, कानुन निर्माण हुनुभन्दा पहिल्यै यससम्बन्धी समुदाय तहमा काम गरेका र ऐन निर्माणपछि राष्ट्रिय सूचना आयोगको प्रथम प्रमुख आयुक्तको महत्वपूर्ण जिम्मेवारीवहन गरी यसलाई संवैधानिक आयोगसमेत बनाउन भूमिका खेलेका कारण पुरस्कार सिफारिस गरिएको महासंघ मोरङले जनाएको छ।

विराटनगरका समाजसेवी केदारबहादुर बस्नेतले आफ्नी श्रीमतीको स्मृतिमा यसैवर्षदेखि पत्रकार महासंघ मोरङमार्फत प्रदान गरिने गरी उक्त पुरस्कारका लागि ७ लाख रुपैयाँको अक्षयकोष स्थापनासमेत गरेका छन्।सूचनाको अधिकारको क्षेत्रमा काम गर्ने देशका तथा विदेशका जो कोही नागरिक या संस्थालाई उक्त पुरस्कार दिन सकिने कार्यविधिमा उल्लेख छ।

पुरस्कार प्रदान गर्न यसअघि महासंघले पत्रकार महासंघ मोरङकै अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा अग्रज पत्रकार यज्ञ शर्मा र सूचना अभियन्ता निर्मल तामाङ रहने गरी तीन सदस्यीय समिति निर्माण गरेको थियो।

समितिले आएका २५ भन्दा बढी नाममध्ये कसजुलाई पुरस्कार प्रदान गर्ने सिफारिस गरेको मोरङ पत्रकार महासंघका सचिव अर्जुन आचार्यले बताए।उक्त पुरस्कार नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा आउँदो चैत १६ गते एक कार्यक्रमकाबीच प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • मोरग पत्रकार महासघ ले सारै राम्रो काम गरेको छ।आफू पनि मोरग को भएको ले खुसी लागेको छ।धन्यवाद निणाएक समिती लाई ।