|

काठमाडौं : चीन भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँग भेट गरेका छन्। आज दिउँसो २ बजे भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास आफूले राखेको बताए।

प्रधानमन्त्रीले नेपाल र चीनबीच विगत लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको बताए। उनले एक चीन नीतिप्रति सधै समर्थन गर्दै आएको र नेपाली भूमीबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्‍याए।

प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको वान बेल्ट वान रोडमा नेपालले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भुकम्पपछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे।

भेटमा प्रधानमन्त्रीले स्थानीय तहको चुनाव हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेको बताए। प्रधानमन्त्रीले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेलवे निर्माण, इनर्जी कनेक्टीभिटी, टान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोनसहितका विभिन्‍न विषयमा दुई पक्षीय सहमति जरुरी रहेको बताए।

प्रधानमन्त्रीले नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिक मार्ग अरनीको मार्ग भएर आउने तातोपानी नाका तत्काल खोल्न आग्रह गरे। पूर्व पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरु खोल्न पनि उनले आग्रह गरे। प्रधानमन्त्रीले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिवद्धता व्यक्त गरे।

भेटमा चीनका उपप्रधानमन्त्री झाङ गाओलीले कुटनैतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको बताए। उनले नेपालका प्रधानमन्त्रीको भ्रमणले सम्बन्धलाई अझै नयाँ उचाईमा पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले चीनका राष्ट्रपतिले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले अघि सार्नुभएका रेलवे, ट्रेड, कनेक्टिीभिटी, पूर्वाधार विकास लगायत सबै विषयमा चीन सकारात्मक रहेको उनले बताए। उनले प्रचण्डसँग आफ्नो  चिनजान निकै पुरानो भएको बताए। प्रचण्डलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.