|

इलाम : पूर्वी पहाडी जिल्ला इलामसहित ताप्लेजुङ र पाँचथरमा क्षयरोगका बिरामीहरुको संख्या बढ्दो छ। तर तीन जिल्लामध्ये इलाममा मात्रै क्षयरोग जाँच्ने मेसिन छ। क्षयरोग जाँच्ने जिन एक्सपर्ट मेसिन नहुँदा पाँचथर र ताप्लेजुङका बिरामीहरु जाँच्नका लागी इलाम अस्पताल आउन बाध्य छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय इलामका क्षयकुष्ठ निरीक्षक विष्णु क्षेत्री भन्छन्,'जिन एक्सपर्ट मेसिन अत्यन्तै महँगो भएको कारण पुर्वी पहाडको इलाम अस्पतालमा मात्र छ। देशभरमा नै जम्मा १५\१६ वटा मात्रै भएको भन्ने जानकारीमा आएको छ।'

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङकमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र इलाममा २२ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन्। इलाममा ४ जनामा रोग दोहोरिएको पाइएको क्षेत्रीले बताए।

त्यसै गरी १३ जनामा फोक्सो बाहिर क्षयरोग देखिएको छ। गत आर्थिक वर्षमा ७९ जनामा क्षयरोग फेला परेको थियो। क्षेत्रीका अनुसार इलाममा रोग पत्ता लाग्ने दर ४५ प्रतिशत भएपनि निको हुने दर ९० प्रतिशत रहेको छ।

त्यसै गरी ७ जनामा रोग बल्झिएको छ भने २४ जनामा फोक्सो बाहिर क्षयरोग देखिएको छ। १ हजारभन्दा बढी किटाणु भएमा खकार जाँचबाट क्षयरोग पत्ता लाग्छ। १५० भन्दा कम किटाणु भएमा पनि जिन एक्सपर्ट मेसिनले देखाउने क्षेत्रीले बताए।

इलाम अस्पतालका अतिरिक्त फिक्कल, मंगलबारे, प्याङ, पशुपतीनगर, दानाबारी र इरौटार प्राथमिक स्वास्थय केन्द्रमा खकार जाँच हुने गरेको छ। बढी जनघनत्व भएका दक्षिणी गाविस दानाबारी, महमाई र चुलाचुलीमा क्षयरोगका संक्रमितहरु बढी रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

नेपालमा झन्डै ८० हजार क्षयरोगका बिरामीहरु छन्। त्यसै गरी ४० हजार वर्षेनी नयाँ रोगी थपिने गरेको छ। वार्षिक रुपमा नेपालमा ५ देखी ७ हजार मानिस क्षयरोगका कारण मर्ने गरेको राष्ट्रिय क्षयरोग निवारण संस्थाको तथ्याङक छ।  

स्वास्थ्य दिवसका अवसरमा अन्तरक्रिया

१३६ औ विश्व स्वास्थ्य दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी, कार्यालयका कर्मचारी र नेपाल क्षयरोग निवारण संस्था इलामका प्रतिनिधिसँग अन्तरक्रिया र विभिन्न विद्यालयहरुमा पम्प्लेट वितरण गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.