|

सौराहा : चितवनको सौराहाका संरक्षणकर्मीहरुले दुर्लभ वन्यजन्तुहरुको संरक्षणमा ध्यान दिन सरकारसँग माग गरेका छन्।  गैंडा लगायत वन्यजन्तुहरु स्थानान्तरणमा मात्रै सरकार र निकुञ्ज विभागको ध्यान केन्द्रित भएको आरोप उनीहरुले लगाए। उनीहरुले स्थानान्तरण गरिएका गैंडाको संरक्षण र स्थानान्तरण भएको क्षेत्रको बासस्थान व्यवस्थापनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए।

चितवन राष्ट्रिय निकुञ्जबाट आगामी चैत २१ गते शुक्लाफाँटाका लागि पाँच गैंडा स्थानान्तरण गर्ने तयारी थालिएपछि आज उनीहरुले यसप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।  संरक्षण कार्यप्रति ध्यान दिन उनीहरुले माग गरेका छन्।

संरक्षण र पर्यटन क्षेत्रमा सक्रिय रहेका चितवनको सौराहाका विभिन्न ११ वटा संघसंस्थाका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले स्थानान्तरण भन्दा संरक्षण र बासस्थान व्यबस्थापनमा जोड दिन माग गरेका छन्।

सौराहामा रहेको वन्यजन्तु संरक्षण अभियानका संयोजक जीतु तामाङले यसअघि वन्यजन्तु स्थानान्तरणका बेला गरेको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्थानियसँग समन्वय नभएकोमा आपत्ति जनाए।

उनले बर्दियामा बासस्थान प्रभावकारी नदेखिएकाले त्यहाँ स्थानान्तरण गर्न नदिने चेतावनी दिए। क्षेत्रीय होटल संघका महासचिव राममणि खनालले गैंडाहरुको संरक्षणमा सबैको ध्यान आवश्यक भएको बताउ। उनले संरक्षणमा स्थानियबासी, संघसंस्था तथा सरोकारवाला निकायको निगरानी जरुरी रहेको बताए।

संरक्षणविद् टिका गिरीले भने, ‘कुनै पनि वन्यजन्तु लान हुँदैन भन्ने होइन,लगिन्छ भने वातावरण अध्ययन हुनुपर्छ, ऊ फिट हुन्छ की हुन्न मुल्यंकन जरुरी छ।’

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण उप–समितिकी अध्यक्ष डोमा पौडेलले विदेशमा वातावरण वासस्थान तथा वंशाणुको अध्ययन गरेर मात्रै कुनै पनि वन्यजन्तु लैजाने गरेको उदाहरण रहेको बताए। उनले नेपालमा स्थानान्तरण गर्दा कुनैपनि ठाउँको अध्ययन नभएकोमा चिन्ता व्यक्त गरे। उनले लगिएका वन्यजन्तुको नियमित अनुगमनका लागि  सरकारको ध्यानाकर्षण गराए। 

नेचर गाईड एसोसिएसन चितवनका कोषाध्यक्ष विष्णु रिमालले स्थानान्तरण गरिएका वन्यजन्तुहरु सुरक्षित हुनुपर्ने बताए। छलफलमा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, क्षेत्रीय रेवानका अध्यक्ष राजन भट्ट, चरा विज्ञ बासु बिढारी, बाघ संरक्षण समितिका विनोद लोप्चन, संरक्षणकर्मी विपि चौधरी ,अशोक चौधरी, सुराजन श्रेष्ठ लगायतको सहभागिता थियो।

कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समिती, क्षेत्रीय होटल संघ चितवन, क्षेत्रीय रेवान सौराहा ,बाघमारा र चित्रसेन मध्यवर्ती वन, वर्ड एजुकेशन सोसाईटी, नेचरगाईड एसोसिएसन, एनिमल राईट्स क्वल, हरियाली समाज, बाघ संरक्षण समितीका पदाधिकारीहरुको सहभागिता थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.