|

विराटनगर : पूर्वमा चलचित्र निर्माण होस् या म्युजिक भिडियो धेरैले सम्झन्छन् जतिन ताम्राकार। विराटनगरका जतिन पूर्वका सेलिब्रेटी नै हुन्। मकालु टेलिभिजनमा कार्यक्रम सञ्चालकको रुपमा प्रवेश गरेका ताम्राकार विराटनगरमा हुने मनोरञ्जनात्मक सार्वजनिक कार्यक्रममा जहिल्यै उद्घोषकको भूमिकामा हुन्छन्।

मोडलिङको क्षेत्रमा आउन चाहनेहरुका लागि उनी तालिम पनि दिन्छन्। ‘झण्डै १० वर्ष भयो, यस क्षेत्रमा लागेको थोरै थोरै मनोरञ्जन क्षेत्रको दुनियाँ थाहा पाउन थालेको छु,’ ताम्राकारले भने, ‘सिक्दैछु र सिक्ने क्रममा धेरै मेहनत गरेको छु।’

हालसालै जतिनको मुख्य भूमिका रहेको चलभित्र ‘यो साइनो मायाको’ देशभर प्रदर्शनमा आएको छ। देशभरीको ५० वटा हलमा रिलिज भएको यो चलचित्रको प्रतिक्रिया राम्रो आएको उनले बताए। मोफसलमा निर्माण भएको चलचित्रको कथावस्तु र प्रस्तुति सशक्त रहेको विराटनगरमा दर्शकको प्रतिक्रिया छ।

रामकुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘यो साइनो मायाको’ मा ताम्राकार, रेश्मा घिमिरे, नवनितराज प्रधान, किशोर भण्डारी, सुनिता श्रेष्ठ, राजु भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको गीतहरुमा शिव परियार,  मनिषा पोखरेल, कोशिस क्षत्री र मेलिना राईले स्वर दिएका छन्। चलचित्रको लेखन तथा निर्देशन अरुणकुमार प्रधानले गरेका हुन्।

यो साइनो मायाको कथा के छ?

गायक बनेर लोकप्रिय हुने सपना देखेका नायकले लगनशीलता र कडा मेहनतका कारण सफलता हासिल गर्छन्। गायक बन्नका लागि उनले गरेको संघर्षमा चलचित्र केन्द्रित छ। आर्थिक रुपमा विपन्न, आफ्नो भन्ने कोही नभएका उनी गायक बन्ने सपना पूरा गर्न र जीविकोपार्जनका लागि हरेक दिन रेष्टुरेन्ट र बारमा गाउँदै हिँड्छन्। उनले एक दिन चर्चित गायक बनेर प्रेमिकाको मन जित्छन्। फिल्ममा नायकको भूमिकामा जतिन ताम्राकार छन् र नायिका अर्थात उनकी प्रेमिकाको भूमिकामा रेश्मा घिमिरे छिन्।

निर्देशक प्रधानले हिजोआजका युवा पुस्ताको माया प्रेमलाई सरल ढङ्गले प्रस्तुत गरेका छन्। '१२ नेपाली एक चिहान' निर्देशन गरी चर्चा कमाएका प्रधानले कथा वस्तुलाई सरल तरिकाले पस्किदा चलचित्रको अन्त्यसम्म दर्शकको मन बाँधेर राख्न सकिने बताए।

मोफसलमा रही कलाकारिता क्षेत्रमा आफनो कर्म थलो बनाएका नयाँ अनुहारको कलाकारहरुलाई स्थान दिइएको चलचित्रमा उनीहरुको अभिनय अब्बल छ। यसै चलचित्रबाट डेब्यू गरेका अभिनेता जतिन र अभिनेत्री घिमिरेले पात्रमाथि न्याय गरेका छन्।

चलचित्रको बीचतिर नेपाली ताराको लागि लिइएको अडिसनलाई अलिक धेरै बेर देखाइँदा दर्शकलाई पटयारलाग्दो बनाउँछ। पूर्वको पर्यटकीय क्षेत्र धरान, धनकुटा, विराटनगर लगायतको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको लगानी करिब ६५ लाख रुपैयाँ खर्च भएको निर्माण युनिटले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.