|

  • मणिलाल विश्वकर्मा-

लहान : संविधान संशोधन र सीमाङ्कन नटुङ्ग्याएसम्म स्थानीय तहको निर्वाचन हुन नदिने अडानमा रहेका मधेशकेन्द्रित दलहरू स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयमा 'दल दर्ता गराउन' भने मुख्य राजनीतिक दलहरूभन्दा अगाडि देखिएका छन्। 

शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीले सप्तरीस्थित जिल्ला निर्वाचन कार्यालयमा पहिलो नम्बरमा दल दर्ता गराएको छ। सिरहामा महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले दोस्रो नम्बरमा दर्ता गराउन भ्याएको छ। 

मधेश केन्द्रित सबै दल दर्ता
नेकपा एमालेसँग राजनीतिक ‘इगो’ साँध्न मेची–महाकाली अभियान नै हुन नदिने अभियान चलाएको संयुक्त लोकतान्त्रिक मोर्चामा सम्बद्ध प्रायः सबै घटकहरूले स्थानीय तहको निर्वाचनका लागि आ–आफ्नो दल दर्ता गराएका छन्। 

उपेन्द्र यादवनेतृत्वको संघीय समाजवादी फोरम नेपाल, महन्थ ठाकुरनेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी, विजयकुमार गच्छदारनेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिल झानेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र राय यादवनेतृत्वको तराई मधेश सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम (मधेश) सहित ३० दलले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा दर्ता गराएका छन्। सांगठनिक रूपले कमजोर रहेको राजकिशोर यादवनेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) भने सप्तरीमा दर्ता भएको छैन। 

त्यस्तै, सिरहामा मधेशकेन्द्रित ३१ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सिरहाका सूचना अधिकारी उत्तम भट्टराईले बताए। भट्टराईका अनुसार कार्यालयमा दर्ता भएपनि निर्वाचन आयोगमा दल दर्ता नगरेकाले ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने बताए। सिरहामा ३१ दलले मात्र चुनावमा भाग लिन पाउने भएका छन्।       

सिरहामा बढे मतदाता
स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुनुपूर्व फागुन १६ गतेसम्म सिरहा जिल्लाभर ४९ हजार एक सय ४६ मतदाता बढेका छन्। २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा फोटोसहितको मतदाता अभिलेखमा रहेका सिरहा जिल्लाका दुई लाख ९१ हजार आठ सय २९ मतदाता बढेर तीन लाख ४० हजार नौ सय ७५ पुगेको छ। ‘यो तीन वर्षको अवधिमा केही मतदाताको बसाइँसराइ, मृत्यु, विवाह भएर अन्यत्र गएकाले केन्द्रीय आयोगबाट जिल्लाको फोटोसहितको मतदाता नामावली आउँदा केही संख्या थपघट हुन सक्छ’, सूचना अधिकारी भट्टराईले भने।  

पुरानो मतदान केन्द्र यथावत्, केही थपिने र घट्ने 
छ वटा र्विाचन क्षेत्र रहेको सिरहामा स्थानीय तहको पुनःसंरचनापछि ११ गाउँपालिका र छ नगरपालिका बनेका छन् । संविधानसभाको दोस्रो निर्वाचनमा कायम गरिएको दुई सय १६ मतदान केन्द्र संख्या कायमै राखी स्थानीय तह निर्वाचनका लागि सम्बन्धित गाउँपालिका र नगरपालिकाका राजनीतिक दलहरूको सहमतिको आधारमा केही मतदान केन्द्र खारेज गरिँदै र  केही थपिंदैछ। 

दक्षिणी सीमावर्ती इनर्वा, उत्तरी क्षेत्रको विष्णुपुरकट्टीको सर्रे अम्बास, पडरिया थारु टोल, लहान, गाढा, बथनाहा, गोलबजार र चन्द्रलालपुरसहित केही ठाउँमा मतदान केन्द्र थपघट गर्ने विषयमा सम्बन्धित नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई जिम्मेवारी दिइएको छ। 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको ‘मतदान केन्द्र सिफारिस समिति’ को चैत ३ गते भएको बैठकले जिल्लामा कायम रहेको पुरनो मतदान केन्द्र संख्या यथावत् राख्दै थपघटको विषयमा छलफल गरिएको छ भने चैत ९ गते गाउँपालिका, नगरपालिकाका कार्यकारी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरूसँग मतदान केन्द्रको विषयमा छलफल भए पनि केही मधेशकेन्द्रित दलले विरोध गरेपछि मतदान केन्द्र तोक्न नसकिएको हो। ‘चैतको दोस्रो हप्तासम्म जिल्लाका राजनीतिक दलहरूसँगको सहमतिको आधारमा मतदान केन्द्र तोकिने छ’ सूचनाअधिकारी भट्टराईले बताए।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.