|

विश्वराज पछल्डङ्ग्या-

    नेपालगन्जः पूर्वपश्चिम राजमार्ग बाँके राष्ट्रिय निकुञ्जका लागि चुनौती बनेको छ। बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत ५७ किलोमिटर पूर्वपश्चिम महेन्द्र राजमार्ग पर्दछ। राजमार्गमा चल्ने सवारीसाधनले धमाधम वन्यजन्तु किच्न थालेपछि बाँके राष्ट्रिय निकुञ्जलाई वन्यजन्तु संरक्षणमा राजमार्ग चुनौती बनेको हो।

    गत वैशाखदेखि माघ मसान्तसम्म सडक दुर्घटनामा परी ५९ वटा वन्यजन्तु मारिएका छन्। सिधा बाटो भएकोले तीव्र गतिमा सवारीसाधन सञ्चालन हुन्छन्, तीव्र गतिमा आएका यातायातका साधनले सडक वारपार गर्ने वन्यजन्तुलाई कुल्चने र ठक्कर दिएर मार्ने गरेका छन्,बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले भने।

    उनले वन्यजन्तुलाई किच्ने यातायातका साधन र सवारी चालकलाई कारबाही गर्ने कानुन भए पनि कम संख्यामा पक्राउ हुने गरेको बताए। वन्यजन्तुलाई ठक्कर दिएर भाग्ने र पहिचान गर्न नसकेका कारण कारबाहीको दायरामा ल्याउन नसकिएको उनले स्पष्ट पारे। कुन गाडीले किचेको हो भन्ने एकिन गर्न समस्या छ, किच्नासाथ भागिहाल्छन्, चिन्न नसकेपछि कारबाही गर्न सकिएको छैन,चौधरीले भने।

    वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन सवारी साधनलाई टाइम कार्ड

    यातायातका साधनले भकाभक वन्यजन्तु मार्न थालेपछि बाँके राष्ट्रिय निकुञ्जले यातायातका साधनलाई टाइम कार्डदिन थालेको छ। राजमार्गमा विस्तारै सवारीसाधन चलाउँदा यात्रुले झिँझो मान्ने भएकोले चालकले तीव्र गतिमा सवारीसाधन चलाउने गरेका छन्। राजमार्गमा राष्ट्रिय निकुञ्ज पर्ने भएकोले सडक वारपार गर्ने वन्यजन्तु किचिने गरेका छन्।

    बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुलाई सवारी साधनबाट जोगाउन ५७ किलोमिटरको दूरीमा टाइम कार्डको व्यवस्था गरेको छ। उक्त ५७ किलोमिटर दूरी पार गर्न कम्तीमा १ घण्टाको समय तोकिएको छ। छिटो जानेलाई चेतावनी दिइने कार्यसमेत निकुञ्जले गर्दै आएको छ। तैपनि वन्यजन्तु किचिन छाडेका छैनन्सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राजमार्ग वन्यजन्तु संरक्षणका लागि ठूलो चुनौती बनेर आएको छ।

    उनले वन्यजन्तु सवारीसाधनले किचेका कारण बाघको आहार कम हुने गरेको बताए।  औसतमा दुई वटा बाघको आहारा सवारीसाधनले किचेर नोक्सान गर्ने गरेको उनले औंल्याए। चौधरीका अनुसार एउटा वयस्क बाघले वर्षमा ५५ देखि ६० वटा वन्यजन्तु खाने गर्दछ।

    उनले गर्मीयाममा सवारी दुर्घटनामा परी वन्यजन्तु मर्ने गरेको जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्जमा पानीको मुहान सुकेपछि वन्यजन्तु पानीका लागि राजमार्ग पार गरेर राप्ती नदीमा आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।

    पानी खान राप्ती नदीमा आएका वन्यजन्तु राजमार्गमा सञ्चालन हुने सवारीसाधनले किचिन्छन्,उनले भने, ‘जाडो र वर्षातको भन्दा गर्मी दिनमा वन्यजन्तु राजमार्गमा किचिने गरेका छन्।

    वन्यजन्तु जोगाउन सिसी क्यामेरा जडान

    बाँके राष्ट्रिय निकुञ्जले यातायातका साधनबाट वन्यजन्तु जोगाउन पूर्वपश्चिम राजमार्गअन्तरगत प्रगतिनगरदेखि शिव खोलासम्म सिसी क्यामेरा जडान गरिरहेको छ। प्रगतिनगरमा २ वट सिसी क्यामेरा जडान भइसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले जानकारी दिए।

    उनले निकुञ्जको प्रधान कार्यालय ओभरीमा ३, खैरी खोलामा १ र शिव खोला पोष्ट नजिक एक जोडा सिसी क्यामेरा जडान गर्ने कार्य जारी रहेको बताए।

    सिसी क्यामेरा जडान भएपछि यातायातका साधनले जनावर मार्ने र किच्नेमा कमी आउने छ नै अवैध कार्य रोकिने छ, सवारी साधनबाट फोहोर फाल्ने कार्य पनि रोकिने छ,चौधरीले भने।

    पहिलो चरणमा सिसी क्यामेरा जडान कार्य सम्पन्न भएपछि दोस्रो चरणमा राजमार्गको संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गरिने उनले स्पष्ट पारे। निकुञ्ज प्रशासन र सुरक्षाकर्मीले नदेखेकै कारण वन्यजन्तु किचरे यातायातका साधन भाग्ने र उम्कने गरेको उनले बताए। 

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.