|

अर्जुनकुमार आचार्य : विराटनगरः प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोगले सबै तयारी अघि बढाएको बताएका छन्।

निर्वाचन आयोगले शनिबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले मधेसवादी दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रमुखदलबीच घनिभूत छलफल भइरहेकाले मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे। उनले निर्धारित समयमा निर्वाचन सफल हुने बताउदै मधेसवादी दलहरु पनि निर्वाचनमा सहभागी भएपछि निर्वाचनमा अवरोध नहुने  बताए।

प्रमुख निर्वाचन आयुक्त यादवले दुई नम्बर प्रदेश तथा पश्चिमका केही ठाउँमा संयुक्त मधेसी मोर्चाको अवरोधका कारण काममा समस्या भएको भन्दै दलहरुबीच आवश्यक छलफल गरेर सहमति गरी निर्वाचनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिए।

सबैतिर निर्वाचन एकैदिन गराउने गरी तयारी भएको भन्दै मधेसवादी दल तयार नभए पनि निर्वाचन भने नरोकिने उनले स्पष्ट पारे। उनले निर्वाचन आयोगले अहिलेसम्म २२ जिल्लाको लागि मतपत्र छापिसकेको, घरघरमा मतदाता शिक्षाका लागि टोली परिचालनको तयारी भइरहेको पनि जानकारी दिए।

मधेसी मोर्चाले भनेजस्तो जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गर्ने दलीय सहमति भए त्यसको व्यवस्थापनका लागि पनि आयोग तयार भएको  उनले बताए। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन छुट्टाछुट्टै हुने भन्दै उनले त्यसको लागि पनि समय कम भएकोले सबैले तीव्र रुपमा तयारीमा लाग्नुपर्नेमा जोड दिए।

साथै उनले राप्रपाले हिन्दू धर्मको दुहाई दिएर भोट माग्नु संविधान र आचारसंहिताविपरीत हुने भएकाले आचारसंहिता विपरित गतिविधि गर्ने जुनसुकै दललाई पनि कारबाही गरिने बताए।

मतदाता शिक्षा कार्यक्रम सुरु

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गराउन मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन आयोगले मुलुकभर ८ वटा ठाउँमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजान क्षेत्रीयस्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरुलाई मतदान, मतदानको महत्व, मतदान प्रक्रिया, निर्वाचन प्रणाली, स्थानीय तह र आचारसंहिताबारे प्रशिक्षण दिइने निर्वाचन आयोगले जनाएको छ। शनिबारदेखि विराटनगरमा आयोजित क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पूर्वाञ्चलको मेचीका ४, कोसीका ६ र सगरमाथा अञ्चलका सप्तरी र उदयपुर गरी १२ जिल्लाका प्रशिक्षकहरु सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.