|

काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले २८ चैतमा आफ्नो ५१ औं साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले महासंघका आगामी चार वर्षे कार्यसमित छनोट गर्दै छ।

विधानअनुसार नै वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्‍ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितको प्यानल बनाएर महासंघमा चुनावी सरगर्मी बढेको छ। अहिले जिल्ला जिल्लामा दुई प्यानल बनाएर महासंघ टोली भोट माग्‍न हिँडेको छ। वरिष्ठ उपाध्यक्ष सहितको दुई प्यानलमा चुनावी सरगर्मी बढेको बेला वस्तुगततर्फ भने अर्कै किसिमको प्रतिस्पर्धा अघि बढेको छ। बस्तुगत उपध्यक्षसहित १५ जनाको कमिटी रहने यो क्षेत्रमा तीन पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा जस्तै नेपाल उद्योग वाणिज्य महासंघमा दुई पक्षीय प्यानल देखिने गरेको र अहिले पनि पूर्ण प्यानल दुई पक्षीय छ तर, वस्तुगतमा भने स्वतन्त्र धारमा अर्को प्यानलको घोषणा गरिएको छ।

कुन प्यानलबाट को? अनि को हो स्वतन्त्र?

उमेश श्रेष्ठ

आगामी कार्यकालको लागि नेपाल उद्योग वाणिज्य महासंघमा तीन जना आकांक्षी देखिएका छन्। जसअनुसार शेखर गोल्छा प्यानलबाट उमेश श्रेष्ठ वस्तुगत उपाध्यक्षको उम्मेदवारी घोषणा भएको छ।

श्रेष्ठको प्रस्तावक औषधी उत्पादक संघ रहने छ। श्रेष्ठ भन्छन्, 'हामीहरु (चण्डिराज ढकाल, दिनेशलाल श्रेष्ठ, भवानी राणा गायत) तीन वर्ष पहिले नै म वस्तुगत उपाध्यक्ष उठ्ने कुरा भएको हो र त्यसैअनुसार मेरो उम्मेदवारी हो।' नेपाल उद्योग वाणिज्य महासंघका उनले ९ वर्ष कार्यसमितिमा बसेर काम गरेका छन्। अहिले उनी महासंघको उद्योग समिति सभापति हुन्।

शंकरप्रसाद पाण्डे 

शकरप्रसाद पाण्डेले किशोर प्रधानको प्यानलबाट आफूलाई वस्तुगत उपाध्यक्षमा उभ्याएका छन्। १२ वर्ष नेपाल उद्योग वाणिज्य महासंघमा काम गरेका पाण्डे अहिले महासंघका बैंक वित्त र बिमा समितिका सभापति छन्। पस्मिना उद्योग संघको पूर्वअध्यक्षसमेत रहेका पाण्डेको उम्मेदवारीमा पस्मिना उद्योग संघ प्रस्तावक रहनेछ।

अनुप मल्ल

अनुप मल्ल नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धक समितिका सभापति हुन्। उनले आगामी कार्यकालको लागि वस्तुगत उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। दुई वटा प्यानलमा उनी वस्तुगत उपाध्यक्ष बन्न नसकेपछि स्वतन्‍त्र रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनी भन्छन्, 'महासंघको पुरानो परम्परा तोड्दै मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको हुँ' अन्य दुई प्यानलबाट वस्तुगत उपाध्यक्षले सदस्यहरु घोषणा नगरे तापनि उनले भने सदस्यहरु समेत घोषणा गरेका छन्। अध्यक्षसहित १५ जनाको कमिटी रहेनेमा उनले १३ जनाको कमिटी घोषणा गरेका हुन्। उनलाई कार्पेट निर्यात संघले प्रस्ताव गर्नेछ।

९९ मतदातामा १ सय ८५ को गणना

नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत तर्फबाट एक जना उपाध्यक्षसहित १५ जनाको प्रतिनिधत्व रहने गर्छ। ती १५ जनाको कार्यसमिति छनोट गर्नका लागि ९९ जनाले भोट हाल्न पाउँछन्। चुनावको मिति आउन दुई साता मात्र बाँकी रहँदा कुन मतदाता कसको पक्षमा छ भन्ने गणना सुरु भएको छ।

उम्मेदवारको दाबीअनुसार मत आउने हो भने वस्तुगततर्फ १ सय ८५ मतदाता हुनुपर्ने हुन्छ। आगामी निर्वाचनको क्रममा आफूलाई र आफ्नो टिमलाई ६६ भन्दा बढी भोट आउने दाबी उमेश लाल श्रेष्ठको छ। 'कसले कता भोट हाल्छ भन्ने ग्यारेन्टी हुँदैन सबैले दिन्छ जस्तो पनि लाग्छ तर, मैले अहिलेसम्म ८० जनासँग भोट मागेकोमा ६६ जनाभन्दा बढीले मलाई भोट कन्फर्म दिन्छन् भन्ने लाग्छ' श्रेष्ठले भने।

अरु दुई उम्मेदवारले भने समान ६०/६० भोट आउने र आफ्नो टिमले जित्ने दाबी गरेका छन्। वस्तुगत उपाध्यक्षका अर्का उम्मेदवार शंकरप्रसाद पाण्डेले आफ्नो पक्षमा ६० भोट आउने बताए। 'महासंघ सबैमा हाम्रो प्यानल आउला भन्ने अपेक्षा हो वस्तुगततर्फ भने उपाध्यक्षसहित सम्पूर्ण टिम हाम्रो प्यानलले नै जित्छ जित्नका लागि हामीलाई ६० भन्दा बढी मत आउँछ' पाण्डेले भने। त्यस्तै, स्वतन्त्र रुपमा उम्‍मेदवारी दिने घोषणा गरेका अनुप मल्ल पनि आफ्नो पक्षमा ६० भोट रहेको दाबी गर्छन्।

एउटै छ जित्‍ने आधार

तीनै जना उम्मेदवारले नै आफ्नो जित्ने आधार समान देखाएका छन्। त्यो हो उनीहरुले विगतमा गरेको काम। 'हिजोका  दिनमा मैले गरेको कामको आधारमा चुनाव जित्नेछु,मैले समग्रमा राम्रो काम गरे जस्तो लाग्छ त्यसैले पनि चुनाव जितिनेछ' थाहाखबरसँगको कुराकानीमा तीनै जना उम्मेदवारको यो साझा भनाइ  हो।

मिलाउने प्रयास

त्यसो त महासंघमा अहिले वरिष्ठ उपाध्यक्षसहितको टिम नै सर्वसहमतिबाट बनाउन पूर्वअध्यक्षहरु लागिपरेका छन्। तर,सहमतिमा टिम तयार हुने सम्भावना न्यून रहेको महासंघकै पदाधिकारीहरु बताउँन्। तर,शेखर प्यानलमा देखिएका अनुप मल्लले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेपछि अनुपलाई मिलाउनको लागि केही पूर्वअध्यक्ष र अहिलेकै पदाधिकारी पनि लागिपरेका छन्।

'अनुप आउँदा हामीले उपयुक्त स्थान दिनेछौँ र त्यो खाली पनि छ' शेखर प्यानलका उमेशलाल श्रेष्ठले भने। तर,मल्ल भने यो सम्भामवना नरहेको बताउँछन्। 'हामी अघि बढिसक्यौँ। अलि अघि प्रयास गरिएको भए हुन पनि सक्थ्यो होला तर,हामी अघि बढि सकेका छौं, त्यो सम्भावना देखिँदैन' मल्लले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.