|

विदुर कटुवाल-

    उदयपुरः पछिल्लो समयमा उदयपुरमा घर जग्गाको कारोबार घट्दै गएको छ। पहाडी क्षेत्रबाट बसाइँ सरेर आउनेको संख्यामा घट्दै गएपछि घर जग्गा कारोबारमा कमी आएको हो।

    दुई वर्ष अघिसम्म जग्गा खरिद बिक्री गर्नेको खचाखच भीड हुने जिल्ला मालपोत कार्यालय  र इलाका मालमोत कार्यालय कटारी हिजोआज सुनसान जस्तै देखिन थालेको छ। बसाइँसराइको दरसँगै वैदेशिक  रेमिट्यान्स घटेपछि सदरमुकाम गाईघाट, कटारी र बेल्टार बजार क्षेत्रमा जग्गा कारोबार न्यून भएको घर जग्गा कारोबार व्यावसायी शिव दाहालले बताए।

    ‘विगत दुई वर्षयता क्रमशः जग्गाको कारोबार घट्दै गएको छ।’ दाहालले भने, ‘विशेष गरेर विदेशबाट आउनेले बजार क्षेत्रमा बढीमा मात्रमा घर तथा जग्गा खरिद गर्ने गर्दथे, अहिले कमी आएको छ।’

    खोटाङ, ओखलढुंगा, सोलखुम्बु र भोजपुरबाट बसाइँ सरेर आउनेले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट जग्गा खरिद गर्थे’, गाईघाटका डोरनाथ ढकालले भने, ‘तर अहिले त्यो सबै रोकिएकाले पनि घरजग्गा कारोबार घटेको हो।’ पहाडी जिल्लामा पर्ने खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर जिल्लाका दुर्गम भेगमा सडक सञ्जालले जोडिन थालेपछि उदयपुरको भित्री मधेसमा पर्ने गाईघाट, कटारी, बेल्टार आकर्षण केन्द्रबिन्दु बन्न छाडेको छ।

    दुई वर्षअघिसम्म दैनिक ३० वटासम्म गाईघाटकै घडेरी बिक्री हुने गरे पनि अहिले शून्यजस्तै बनेको छ। ‘अहिले एउटासम्म पनि बिक्री हुँदैन’ जग्गा व्यावसायी प्रकाश काफ्लेले भने, झन्डै एक वर्षयता घट्दै आएको जग्गाको कारोबार अहिले ठप्प जस्तै छ।’विदेशबाट फर्कनेहरु पनि गाँउमै सडक पुगेपछि कृषि लगायतका व्यवसायतिर उन्मुख हुन थालेपछि पनि घर जग्गाको कारोबार घटेको हो।

    जिल्लाको व्यापारिक केन्द्र परिचित कटारी, बेल्टार क्षेत्रमा समेत जग्गाको कारोबार घटेको छ। ‘मध्यपहाडी लोकमार्गले काठमाडौं, बनेपा, घुर्मी हुँदै चतरा र धरानलाई जोडने भएपछि माथिल्लो क्षेत्रबाट आउने सर्वसाधारण उतै रोकिएका छन्,’ त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले भने, ‘माथिल्लो पहाडी क्षेत्रबाट नझर्ने र मधेसबाट सर्वसाधारण नआउने भएकोले घर जग्गाको कारोबार घट्यो।’

    मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटकाअनुसार अहिले दैनिक सरदर ५ देखि ८ वटा मात्रै रजिस्टेसन हुने गरेको छ।’ जुन दुई वर्षयता दैनिक २० देखि ३० वटाको बीचमा आउने गर्दथे।

    सदरमुकाम गाईघाटमा रहेको चुरिया सप्लायर्स एन्ड ट्रेडर्समा मात्रै मासिक ३ करोडभन्दा बढी वैदेशिक रेमिटेन्स आउने गरेकोमा हिँजोआज घटेर २ करोडको हाराहारीमा झरेको सञ्चालक इन्द्र रेग्मीले बताए।

    राष्ट्रिय वाणिज्य बैंक, सिभिल बैंक, सुप्रिम डेभलप्मेन्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतका १० वटा बैंकमा आउने रेमिट्यान्स विगतको तुलनामा घटेर गएको सिभिल बैंकमा कार्यरत रस्मी भट्टराईले बताइन्।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.