|

नेपालगन्ज : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन र सिमांकन हेरफेर गरेरमात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। उनले संविधानमा विशेष क्षेत्र, संरक्षित र आरक्षण क्षेत्रको विशेष व्यवस्था भएको बताए।

‘संविधानमा भएको ब्यवस्थालाई टुंगो लगाएर मात्र निर्वाचनमा जाँदा बेस हुन्छ, नत्र पछाडी परेका समुदायमाथि अन्याय र बेइमानी हुन्छ,’ डा. भट्टराईले भने।  हिमाल, पहाड, तराई–मधेस सद्भावना यात्राको क्रममा बाँकेको कोहलपुरमा आयोजित सभालाई सम्बोधनमा उनले पैसाको खोलो बगाएर काँग्रेस, माओवादी र एमाले चुनाव जित्ने खेलमा लागेको आरोप लगाए।

उनले माओवादी केन्द्र सत्ताको आडमा थोरै सिट जितेर भएपनि निर्वाचन जितेर इज्जत जोगाउने कसरतमा लागेको आरोप लगाए।  डाक्टर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आजको आवश्यकता भएको बताए। देशमा स्थायी सरकार नभएसम्म विकासले गति लिन नसक्ने उनले बताए।

भट्टराईले काँग्रेस, एमाले र माओवादी केन्द्रलाई राष्ट्रघातीको संज्ञा दिए । राष्ट्रघात गर्नेहरु नै राष्ट्रियताको खरो कुरा गरिरहेको उनको आरोप छ। 'गुण्डा पाल्ने, गुण्डालाई निर्वाचनमा परिचालन गर्ने र ठेक्कापट्टाबाट आएको कमिसन निर्वाचनमा खर्च गर्ने काम अहिले भइरहेको छ,’ डा. भट्टराईले भने।

भट्टराईले १० वर्षमा देशलाई विकसित देशको सूचीमा सूचीकृत गर्ने आफ्नो पार्टीको सपना रहेको बताए। उनले देशलाई लोडसेडिङमुक्त बनाउने, हरेक गाउँमा पुग्ने पक्की मोटर बाटो, तराईका सबै जिल्लामा बाहै्र महिना सिँचाई सुविधाका साथै प्रत्येक गाउँपालिकामा एक सय बेडको अस्पताल र प्रत्येक घर बातानुकुलित बनाउने परिकल्पनाका साथ आफ्नो पार्टी अघि बढेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.